इलामका मतदाताको चाहनाअनुरूप मेरो उम्मेद्वारी : डम्बर खड्का

प्रकाश नेपाल   POSTED ON : आश्विन ३, २०७८ (५:०६ AM)

इलामका मतदाताको चाहनाअनुरूप मेरो उम्मेद्वारी : डम्बर खड्का

इलाम । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदो छ ।  महाधिवेशन नजिकिँदै गर्दा जिल्लामा पनि अधिवेशनको चटारो बढ्दै छ । जिल्ला अधिवेशनका लागि नेताहरू आ-आफ्नो उम्मेद्वारी घोषणा गर्दै गाउँ दौडाहामा व्यस्त छन् । यस्तै इलाममा पनि जिल्ला सभापतिका लागि अहिले चारजनाले उम्मेद्वारी दिने बताइएको छ । जसमा युवानेता डम्बर खड्काले भने पत्रकार सम्मेलन गरी आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ भने बाँकीको उम्मेद्वारी आधिकारिकरूपमा सार्वजनिक भएको छैन । सभापतिको दौडमा वर्तमान सभापति हिमालय कर्माचार्य, इलामका बौद्धिक नेता भनेर चिनिने भेषराज आचार्य, विकासे नेता भनेर चिनिने केशव थापा र समाजसेवी तथा युवानेता भनेर चिनिने डम्बर खड्का हुनुहुन्छ । उहाँहरू आफ्नो पक्षमा माहोल सिर्जना गर्न यतिबेला लागिपर्नुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पूर्वकोषाध्यक्ष तथा नेविसंघका पूर्वकेन्द्रीय उपाध्यक्ष, नेपाली कांग्रेस खेलकुद समन्वय विभागका केन्द्रीय सदस्य डम्बर खड्का जिल्ला सभापति पदमा उम्मेद्वारी दिने बताउनुहुन्छ । इलाम नगरपालिका वडा नं. ७ इलाम बजार साबिकको वडा नं २ मा २०३१ सालमा जन्मनुभएका खड्का विद्यार्थी जीवनबाटै राजनीतिक यात्रामा लाग्नुभएको हो । यसै विषयमा इलाम संवाददाता प्रकाश नेपालले जिल्ला सभापतिका उम्मेद्वार डम्बर खड्कासँग कुराकानी गर्नुभएको छ । 

तपाईंले आसन्न पार्टीको अधिवेशनमा जिल्ला सभापति पदमा उम्मेद्वारी दिन लाग्नुभएको सुनिन्छ, वास्तविकता के हो ?

वास्तविकता सही हो, यथास्थितिमा पार्टी रहिरहे पुनः पार्टीका उम्मेद्वारलाई विजयी गराउन नसकिने अवस्था रहेको भन्दै इलामका अग्रज व्यक्तित्वहरू र तमाम युवा र पार्टीका साथीहरूले मलाई उम्मेद्वार बन्नुपर्छ भनी प्रस्ताव गरेको हुँदा सोहीअनुरूप मैले सभापति पदको उम्मेद्वारी घोषण गरेको हुँ ।

पार्टी सभापति पदमा योभन्दा अगाडि पनि प्रतिस्पर्धा गरेका र हाल वहालमा रहेका साथीहरू पनि प्रतिस्पर्धी हुनुहुन्छ । उहाँहरूसँग भिड्न तपाईंको योजना के छ ? 

योभन्दा पहिला सभापति भइसकेका हाम्रा आदरणीय अग्रजहरू हुनुहुन्छ । तर, उहाँहरूले गरेका पुराना कार्यहरूले नेपाली कांग्रेस इलाम जिल्लामा राम्रोसँगले अगाडि बढ्न नसकेको, भ्रातृ संस्थाहरू चलायमान नभएको, गुटबन्दीले चरम सीमा नाघेको, पार्टीले पटक-पटक स्थानीय र संसदीय चुनावमा हार बेहोर्नुपरेको, पार्टीको आफ्नो भवन नभएको, युवाहरूको भावना समेट्न नसकेको, शिक्षक संघजस्तो बौद्धिक संस्थालाई सम्बोधन गर्न नसकेको लगायत विभिन्न कारणले समस्या रहेको छ । साथै नेपाली कांग्रेसको आफ्नै भवन निर्माण गर्न, हरेक गाउँमा पार्टी प्रशिक्षण गराउन, पार्टीका साथीहरूको संरक्षण गर्न र आसन्न निर्वाचनमा युवाहरूका साथै साथीभाइको मनोबल उच्च राख्न र नेपाली कांग्रेसलाई पहिलेकै स्थानमा पुर्‍याउन साथै दक्ष र सक्षम कांग्रेस बनाउँदै १ नम्बर पार्टी बनाउन मेरो उम्मेद्वारी रहनेछ ।

नेपाली कांग्रेस इलामको संगठन कस्तो छ ? साथै भ्रातृ संघ-संगठनको अवस्था कस्तो पाउनुभएको छ ?

यथास्थितिमा संगठन रहेको, दशकौं वर्षसम्म नेतृत्व परिवर्तन हुन नसकेको, राम्रोलाई प्राथमिकता दिनुको साटो मेरोलाई प्राथमिकता दिइएको छ । स्थानीय निर्वाचनमा आफूखुसी र आफू निकटलाई टिकट वितरण गरेका कारण नेपाली कांग्रेस इलामको संगठन कमजोर भएको आमकार्यकर्ताको गुनासो छ । सोही कारणले होला संगठन कमजोर भएको र भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, नेपाल तरुण दललगायतका संगठनहरू चलायमान छैनन् । संगठनमा प्रशिक्षण छैन । सभापतिले कार्यवाहक दिएको वर्षौं भयो, अधिवेशन गराउन सकिरहेको छैन । त्यसलाई नेका जिल्ला कार्यसमितिले ध्यान नदिएका कारण संगठन दिनानुदिन कमजोर बन्दै छ । 

जब-जब चुनाव या अधिवेशन आउँछ अनिमात्र गाउँमा कार्यकर्ता गुहार्दै जाने नेताहरूको परम्परा देखिन्छ । तपाईं बीच-बीचमा गाउँमा पुगेको हुँदा कार्यकर्ताले कस्तो नेतृत्व छान्न चाहेको पाउनुभएको छ ?

नेपाली कांग्रेसमा अब मुखियाले बाली उठाउन सिजन–सिजनमा गए जस्तो हुन्न । नेतृत्व अब बीपी कोइरालाले भने जस्तो दुःखमा र अप्ठ्यारो परेका बेला जनताको माझमा पुगेर काम गर्ने र कार्यकर्ताको सधंै संरक्षण गर्ने, उनीहरूलाई हरेक दुःखसुखमा साथ दिने, कमसेकम कार्यकर्ता र नेताबीच चिनजान भएको सरल नेतृत्वको आश्यकता ठानेका छन् ।

अहिलेसम्म पार्टीमा कुन-कुन पदमा रहेर कस्ता-कस्ता महत्वपूर्ण काम गर्नुभयो ? जसले गर्दा तपाईं सभापतिको दावेदार हुनुहुन्छ ?

मेरो राजनीतिक सुरुवात भनेको २०४१ सालमा आदर्श माविमा नेविसंघ अध्यक्ष भएपछि सुरु भएको हो । २०५१ सालमा नेविसंघको जिल्ला सभापति भएँ । म सभापति भएको कार्यकालमा २७ वर्षसम्म लगातार हारेको इलाम क्याम्पसको स्ववियु चुनाव दुईपटकसम्म विजयी गराएँ । २०६३ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष निर्वाचित भई राष्ट्रका विद्यार्थीहरूको नेतृत्व गर्दै विभिन्न  देशमा गएर प्रशिक्षण तथा वल्र्ड युथ फेस्टीबलमा भाग लिएको थिएँ ।

द्वन्द्वकालमा शान्तिवार्ताको सहजकर्ताको भूमिका निर्वाह गरें । नेपाली कांग्रेसको १२औं महाधिवेशनबाट इलामको जिल्ला कोषाध्यक्ष भएपछि गएको निर्वाचनमा पटक-पटक कांग्रेसले उठाएका उम्मेद्वारहरूलाई आफ्नातर्फबाट विजयी गराउन भरपूर सहयोग गरें । हालसम्म पनि निरन्तर पार्टीको काम गरिरहेको हँुदा अबका दिनमा राम्रो काम गर्न र अझ बढी सहयोग पुर्‍याउन मेरो सभापति पदमा दावेदारी हो ।

तपाईं पार्टी सभापति बनेर आगामी दिनमा पार्टी र इलामेली जनताको हितमा के-कस्ता काम गर्ने उद्देश्य राख्नुभएको छ ?

इलामका अग्रज र पार्टीका आमसाथीहरूले विश्वास गरी सभापति बनाएको खण्डमा म बोलीमा भन्दा काममा विश्वास गर्दछु । मैले गरेको काम, समाजसेवा, निरन्तर पार्टी संगठन एउटा उदाहरण हो । सो भन्दा अनगिन्ती काम मैले गर्न बाँकी छ । तपाईंहरूको सल्लाहसुझाव लिएर पार्टीलाई मजबुत बनाई लोकतन्त्रको रक्षा गर्दै पार्टीलाई विजयी गराउन हरदम लाग्नेछु ।


Top