भोजपुरवासीको प्रतिक्रिया – दल र नेताका कारण संविधानको ओजन घट्दै गयो

निरोज कोइराला   POSTED ON : आश्विन ३, २०७८ (३:२४ PM)

 भोजपुरवासीको प्रतिक्रिया – दल र नेताका कारण संविधानको ओजन घट्दै गयो

भोजपुर । मुलुकले प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ असोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले “नेपालको संविधान २०७२” लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा पुरा भएको थियो । सोही दिनको सम्झनामा हरेक बर्षको असोज ३ गते नेपालमा पनि संबिधान दिवस मनाउनेक्रम सुरु भएको छ ।  

नेपालमा गणतान्त्रिक संविधान जारी भएको आइतबार छ वर्ष पूरा भएर सातौँ वर्ष लाग्दै छ । करिब सात दशक लामो सङ्घर्षपछि जनताद्वारा जनता कै लागि लेखिएको संविधान जारी भएको दिनको सम्मानमा शुभकामना र दिवस मनाई रहदाँ प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरवासीले भने राजनीतिक दल र नेताका कारण संविधानको ओजन घट्दै गएको प्रतिक्रिया दिएका छन् । 

“आवश्यक ऐन, कानूनको अभावका वाजुद संघीयता कार्यान्वयनका लागि तीनै तहमा जनप्रतिनिधि प्राप्त गर्नु सकारात्मक छ भने संविधानमा अधिकार सूचीबद्ध गरि बाँडफाँड गरिएता पनि कार्यान्वयन हुन नसक्नु दुःखद छ ।” शिक्षक तीर्थ कुमार राईले भन्नुभयो । 

संविधानमा समेटिएका अधिकार तथा बुदाँहरु राम्रा छन, शिक्षक डिल्ली कोइरालाले भन्नुभयो, “नेता र दलको व्यवहारले संविधानको ओज घट्दै खोक्रो बन्दै गएको देखिन्छ ।” संविधानका बिषयमा अझै पनि गाउँघरका जनतालाई पूर्णरुपमा थाहा हुन नसकेको स्थानीय कृष्णराज साम्पाङले बताउनु भयो । उहाँले भन्नुभयो, “पद र कुर्चीमा हुनेको लागि संविधान सही छ, जनतालाई खासै थाहा नै छैन । गाउँमा गोरु जोत्ने बालाई के थाहा संविधानमा के–के कुरा उल्लेख गरिएको छ, स्वतन्त्रताको हक, समानताको हक, धर्म निरपेक्षता, वाक स्वतन्त्रता माथि अझै घेराबन्दी कायम नै छ, देशले तानाशाही प्रवृतिवाट छुट्कारा पाउन अझै बाँकी छ ।”

संविधान आएको दिन ऐतिहासिक भएको बताउँदै स्थानीय अशोक खतिवडाले भन्नुभयो, “नेपाली जनताको रगत पसिना र शहादतले लामो संघर्ष पछि संबिधान आएको छ, यो पनि एउटा उपलब्धि हो ।” यसको कार्यान्वयमा सवै पक्ष पुर्णरुपमा लाग्नु पर्छ । 

संविधान निर्माणमा संलग्न राजनीतिक दलहरू नै संविधान कार्यान्वयनका लागि प्रतिबद्ध नबनेको आरोप समेत भोजपुरवासीको रहेको छ । “देशका प्रमुख राजनीतिक दलहरु जसले आफैँ संलग्न भएर नयाँ संविधान बनाएका छन, उनीहरूले हिफाजतका साथ लोकतन्त्रको मर्म अनुसार, संसदीय प्रणालीको मर्म अनुसार यसलाई अगाडी बढाउँदै लानु पनेमा सो अनुसार हुन सकि रहेको छैन ।” स्थानीय शंकर आचार्यले भन्नुभयो ।

“लामो संघर्ष र मेहनतबाट संबिधान आएको छ, यसले सवैको अधिकार सुनिश्चितताका लागि पनि भूमिका निर्वाह गरेको छ, यसको पूर्ण कार्यान्वयका लागि संबिधान निर्माणमा संलग्न सवै पक्ष दृढताका साथ लाग्नु पर्छ ।” नेपाली कांग्रेस भोजपुरका सचिव चक्र कार्कीले भन्नुभयो ।

अनेक असमान्य स्थितीका बिचमा पनि विश्व इतिहासमैं एउटा दूर्लभ रेकर्ड बनाउँदै कूल ९० प्रतिशत सभासदको बहुमतले घोषणा गरिएको यो संविधानको रक्षा र पूर्ण पालनमा सरोकारवालाले ध्यान दिन पनि जरुरी देखिन्छ । 


Top