आगलागीमा परी घाइते भएका खनाल दम्पतीको उपचारको क्रममा मृत्यु

  POSTED ON : आश्विन ५, २०७८ (९:४० AM)

आगलागीमा परी घाइते भएका खनाल दम्पतीको उपचारको क्रममा मृत्यु

झापा । आगलागीमा परी घाइते भएका एक दम्पतीको उपचारको क्रममा मृत्यु भएको छ । झापा अर्जुनधारा नगरपालिका– ७ स्थित पुष्पलाल मार्ग निवासी ४२ वर्षीय रोमनाथ खनाल र उनकी श्रीमती ३८ वर्षीया दुर्गा खनालको काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सामाजिक अभियन्ता कमल पोख्रेलले जानकारी दिए । उनका अनुसार उपचारकै क्रममा सोमबार राति पौने ८ बजे रोम खनालको मृत्यु भएको थियो भने राति ११ः१५ बजे दुर्गा खनालको निधन भएको हो । छोरा पङ्कजको अवस्था भने सामान्य रहेको जनाइएको छ । छोरा पङ्कजलाई अस्पतालले भोलि डिस्चार्ज दिने उनले जानकारी दिए ।  मृतक खनाल दम्पतीको काठमाडौँमै अन्त्येष्टि गरिने पारिवारिक सहमति भएको उनको भनाई छ । 

गत भदौ २६ गते शनिवार साँझ ग्यास सिलिन्डर लिक हुँदा खनालको घरमा आगजनी भएको थियो । आगलागीमा परी खनाल परिवारका चार जना घाइते भएका थिए । आगलागीमा परी रोमसहित, उनका श्रीमती दुर्गा, छोरा पङ्कज  र आमा मङ्गलादेवी खनाल घाइते भएका थिए । मङ्गलादेवी सामान्य घाइते भएकी थिइन् भने अन्य तीन जना गम्भीर घाइते भएका थिए । 

आगलागीमा परी रोमको शरीरको ५० प्रतिशत, दुर्गाको ३० प्रतिशत र पङ्कजको १५ प्रतिशत भाग जलेको थियो । उनीहरूको झापामा उपचार सम्भव नभएपछि विराटनगर पठाइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौँ लगिएको थियो । खनालको परिवारमा मृतक रोमका आमा, एक छोरा र एक छोरी छन् । आमा र छोरी अहिले छिमेकीको घरमा बसिरहेका छन् ।  


Top