उर्जामन्त्री सहितको टोलीले गर्यो संखुवासभाका निर्माणाधिन जलविद्युत आयोजनाको अनुगमन

निरोज कोइराला   POSTED ON : आश्विन ६, २०७८ (७:२६ PM)

 उर्जामन्त्री सहितको टोलीले गर्यो संखुवासभाका निर्माणाधिन जलविद्युत आयोजनाको अनुगमन

भोजपुर  । प्रदेश नम्वर १ को पहाडी जिल्ला संखुवासभामा निर्माणाधीन जलबिद्युत आयोजनाको उर्जामन्त्री पम्फा भुसाल सहितको टोलीले बुधवार स्थलगत अनुगमन गर्नु भएको छ । 

हेलिकप्टरबाट संखुवासभा पुग्नु भएकी उर्जामन्त्री भुसालले नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको माथिल्लो अरुण जलविद्युत आयोजना, निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजना र २ सय २० केभी प्रसारण लाइनको कोशी करिडोरको अनुगमन गर्नु भएको हो । उर्जामन्त्री भुसाल सहितको टोली माथिल्लो अरुणको ड्यामसाइडका साथै पावर हाउस स्थल पुगेर फर्किएको थियो ।

अरुण तेस्रो आयोजनाको ड्याम साइड स्थलमा सुरुङ निर्माणस्थलको स्थलगत अनुगमन गर्नु भएकी उर्जामन्त्री भुसालले अरुण तेस्रो आयोजनाको काम तीव्र गतिमा चलिरहेको प्रतिक्रिया दिनु भयो । एसजेभीएनका सीईओ अरुण धिमानले मन्त्री भुसाललाई हालसम्म ड्याम साइड र पावरहाउसमा भई रहेको कामका बारेमा जानकारी गराउनु भएको थियो । 

बिभिन्न कठिनाईका बिचमा पनि विकट क्षेत्र, सडकको असुविधा भएपनि निर्माणको कार्य अघि बढेको धिमानले मन्त्री भुसाललाई जानकारी गराउनु भएको थियो । अहिलेसम्म चुनौतीका बिचमा पनि ४० प्रतिशत भन्दा बढी काम सम्पन्न भएको धिमानले बताउनु भयो।  

संखुपासभा कै तुम्लिङटारमा निर्माणाधीन २ सय २० केभीको कोशी कोरिडोरको पनि उर्जामन्त्री भुसालले निरीक्षण गनर्स भएको छ । ऊर्जामन्त्रीसँगै ऊर्जा सचिव देवेन्द्र कार्की र अर्थ सचिव मधु मरासिनी, नेपाल विद्युत प्राधिकरणका सीईओ कुलमान घिसिङ लगायतका सरकारी अधिकारी पनि सामेल हुनुहुन्थ्यो ।


Top