राजश्वमा ज्यादती भएको भन्दै भद्रपुरका व्यापारी आन्दोलित

पार्थ मण्डल   POSTED ON : आश्विन ७, २०७८ (७:५३ PM)

राजश्वमा ज्यादती भएको भन्दै भद्रपुरका व्यापारी आन्दोलित

झापा । भद्रपुरका व्यापारी तथा कारोबारी दुईदेखि शान्तिपूर्ण आन्दोलनमा उत्रिएपछि भद्रपुर भन्सार कार्यालयको कामकाज ठप्प हुनुका साथै राजश्व सङ्कलन प्रभावित बनेको छ । 

राजश्व अनुसन्धान कार्यालय इटहरीको हस्तक्षेप र ज्यादतीविरुद्ध उनीहरू आन्दोलित बनेका हुन । आन्दोलनमा उत्रिएपछि दुई दिनदेखि भन्सारको कामकाजसँगै राजश्व सङ्कलन प्रभावित बनेको भद्रपुर भन्सारका प्रमुख भन्सार अधिकृत प्रमोद पौडेलले जानकारी दिनु भयो । सामानको घोषणा गर्न कुनै पनि व्यापारी नआइदिँदा भन्सारको मासिक लक्ष्य पु¥याउन कठिनाइ हुन सक्ने उहाँको भनाई छ । यता आन्दोलित बनेका व्यापारी तथा कारोबारीले बिहीबार भन्सार कार्यालयको गेट अगाडी नाराबाजी गरेका छन् । हात प्ले कार्ड बोकेर उनीहरूले राजश्व अनुसन्धानको दादागिरी र हस्तक्षेप बन्द गर, व्यवसायीलाई काम गर्न देऊ, व्यवसायीलाई अनावश्यक दुःख नदेऊ जस्ता नाराबाजी गरेका थिए । 

भन्सारमा राजश्व तिरेको प्रज्ञापनपत्र र बिजबिजक देखाउँदा देखाउँदै राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले मङ्गलवार दिउँसो ४ बजे दुई पोका कपडा नियन्त्रणमा लिएको थियो । राजश्वका अनुसन्धान अधिकृत रमेश ओझाको नेतृत्वमा खटिएको टोलीले भन्सारदेखि ५० मिटर दुरीभित्रै ठेला भेनासहित सो कपडा नियन्त्रणमा लिएपछि व्यापारी तथा कारोबारीले प्रतिकार समेत गरेका थिए ।  

अंशु इन्टरप्राइजेजका प्रोप्राइटर अंशु मित्तलको नाममा बिलविजक, भन्सार प्रज्ञापनपत्र र भिसिटिएस समेत जारी गरी व्यापारी रञ्जित रायाले दुई पोका कपडा लैजाँदै गर्दा राजश्वको टोलीले नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय भद्रपुरमा राखेर गएकोले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनीहरूको भनाई छ । 

भन्सार तिरेको सामानको राजश्व अनुसन्धान अधिकृत ओझाकै अगाडी गणना गर्दा कुनै अनियमितता भएको र सो सामान राजश्वले छाडन नमानेको पीडित व्यवसायी रायाले गुनासो पोख्नुभयो । ‘सामानमा कुनै गल्ती भए म आफै इटहरी जान तयार थिएँ,’ उहाँले भन्नुभयो, ‘सामान गन्दा भन्सार तिरेको भन्दा पनि परिणाम कम भेटियो, मेरो र भन्सारको कुनै गल्ती ठहरिएन ।’ राजश्वले खातापाता लिएर आउनुपर्छ, अनि कानुनी प्रक्रिया अघि बढाएर सामान छाड्छु भन्दै आएको उहाँको भनाई छ । यता आन्दोलित बनेका व्यापारी तथा कारोबारीले बुधवार झापा उद्योग वाणिज्य सङ्घ र भद्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयलाई ज्ञापन पत्र बुझाएका थिए । 

राजश्व अनुसन्धान कार्यालयले यहाँका व्यापारीहरूलाई पटक–पटक अनावश्यक दुःख दिइरहेकोले सहजीकरण गरिदिन भन्दै उनीहरूले सो ज्ञापन पत्र बुझाएका हुन् । पीडित व्यापारीले लिखित रूपमै ज्ञापनपत्र बुझाएपछि बिहीबार सोही विषयमा झापा उद्योग वाणिज्य सङ्घमा पदाधिकारीहरूको बैठक बसेको थियो । बैठकले माथिल्लो निकायलाई तत्काल ध्यानाकर्षण गराउने र राजश्व अनुसन्धान कर्मचारीको ज्यादती र हस्तक्षेपविरुद्ध आवाज उठाउने लगायतको विषयमा छलफल भएको सङ्घका अध्यक्ष नवराज पनेरुले बताउनु भयो । राजश्व कार्यालयले पटक पटक पूर्वाग्रह रुपमा भद्रपुर भन्सारलाई केन्द्रित बनाएर यहाँका व्यापारी दुःख दिने काम गरिरहेको उहाँले बताउनु भयो । यस भन्दा अघि पनि राजश्वले सामान लोड भएका कालो प्लेट भएका गाडीलाई लगेर थन्काइदिने, व्यवसायीलाई अनावश्यक दुःख दिने क्रियाकलाप व्यवसायीको हितमा नभएको भन्दै उहँँले भन्नुभयो, ‘दुई पोका कपडाको परिणाम ठिक हुँदाहुँदै पनि राजश्वले खातापाता मगाउने काम गरेको घटना अत्यन्त निन्दनीय छ, यस्ता कार्य अविलम्ब राजश्व अनुसन्धान कार्यालयले रोक्नुपर्छ ।’ नत्र यहाँका व्यवसायीले भन्सारबाट हुने सबै कामको जिम्मा राजश्व अनुसन्धानलाई जिम्मा लगाउन बाध्य हुन्छ । ‘यस बारेमा तत्काल प्रधानमन्त्री र अर्थमन्त्री कार्यालयको ध्यान जानुपर्छ,’ उहाँले भन्नुभयो । भद्रपुर भन्सारमा काम गर्ने अधिकांश व्यापारी निम्न वर्गका छन् । उनीहरूसँग आफ्नो सवारीसाधन छैन । राजश्वले सामानसहित कालो प्लेट भएको सवारीसाधन नियन्त्रण लिएर राखिदिने डर कारण थप समस्या उत्पन्न भएको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य उमेश डालमियाले बताउनु भयो ।

 ‘राजश्वका कर्मचारीले नियन्त्रणमा लिएका सामान ठिक छ वा छैन घटनास्थलमै भन्सार वा आन्तरिक राजश्व कार्यालयसँग सहजीकरण गरिदिएको भए यस्तो विवाद उत्पन्न हुँदैन थियो,’ उहाँले भन्नुभयो । 

राजश्व अनुसन्धान कार्यालयका कर्मचारीले भद्रपुर भन्सार कार्यालयका कर्मचारीको काम कारबाहीमाथि विश्वास नगर्दा त्यसको असर यहाँका व्यापारी र कारोबारीले भोग्दै आइरहेको छ । राजश्वले पटक पटक पूर्वाग्रह ढङ्गले भन्सार तिरेको सामानमाथि हस्तक्षेप गर्दै आइरहेको यहाँका व्यापारीको भनाई छ । सानो समस्या ठुलो बनाइदिने राजश्व अनुसन्धानको कामप्रति यहाँका व्यापारी त्रसित छन् । त्यसैले यस्ता समस्याबाट छुटकारा पाउन हामीहरू चाडपर्वको बेला पनि आन्दोलित बन्नु परेको स्थानीय व्यापारी भीमासिंह राजपूतले बताउनु भयो । 


Top