भोजपुरको ऐतिहासिक च्याङग्रे पोखरीको पुननिर्माण सुरु

निरोज कोइराला   POSTED ON : आश्विन ८, २०७८ (४:०९ PM)

भोजपुरको ऐतिहासिक च्याङग्रे पोखरीको पुननिर्माण सुरु

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङग्रे बजारमा रहेको ऐतिहासिक पोखरीको पुन निर्माण सुरु गरिएको छ । 

पोखरी र सोही स्थानमा रहेको पञ्चकान्या मन्दिरको पुनः निर्माण कार्य सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागतमा पोखरी र मन्दिरको पुनः निर्माण तथा ब्यवस्थापन कार्य सुरु गरिएको गाउँपालिका अध्यक्ष किरण राईले 

बताउनु भयो । अध्यक्ष राईले भन्नुभयो, “भोजपुरको पौवादुङमा गाउँपालिकाले पालिकालाई पर्यटक प्रवर्धन गर्ने केन्द्रकारुपमा बिकास गर्न बिभिन्न संरचनाहरुको डिपिआर गरेर कार्य अगाडी बढाएको छ, सोही अनुसार पोखरी र मन्दिरको पनि पुनः निर्माण कार्य थालिएको हो ।” 

गाउँपालिकाले पहिचानकोरुपमा रहेको च्याङ्ग्रे पोखरीको बृहत्तर विकास गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यको साथ डिपीआर तयार गरेको थियो । सोही अनुसार अहिले करिव ३ करोडको लागतमा पुन.निर्माण कार्य थालिएको गाउँपालिकाले जनाएको छ । 

पोखरीको क्षेत्रफलको विस्तार गर्दै पोखरी परिसरमा पञ्चकन्या मन्दिरको निर्माण गर्ने, ढलको व्यवस्था गर्ने, वगैंचा निर्माण गर्ने, पानीको उचित व्यवस्थापन तथा सरसफाईसंगै घेराबारा लगाउने लगायतका काम गरिने गाउँपालिकाले जनाएको छ ।

“हामीले निर्माण गर्ने योजनामा राखेका पर्यटकिय, धार्मिक, ऐतिहासिक क्षेत्रको विकासका लागि योजनावद्धरुपमा काम अगाडी बढाएको छौ, हाम्रो योजनामा रहेका सबै क्षेत्रको विकासमा गाउँपालिकामा आएको बजेटले नपुग्ने भएकोले प्रदेश सरकार तथा केन्द्र सरकारसंग विस्तृत परियोजना प्रतिवेदन देखाएर रकमको माग गरिरहेका छौ ।” गाउँपालिका अध्यक्ष राईले भन्नुभयो ।  


Top