भोजपुरको आठ पालिकाको अधिवेशन सकियो, एक नगरपालिकाको स्थगित

निरोज कोइराला   POSTED ON : आश्विन १०, २०७८ (२:४२ PM)

 भोजपुरको आठ पालिकाको अधिवेशन सकियो, एक नगरपालिकाको स्थगित

भोजपुर । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत जिल्लामा हुने पालिका अधिवेशन अन्तर्गत भोजपुरका ८ पालिकाको अधिवेशन सकिएको छ भने जिल्लाको उत्तर षडानन्द नगरपालिकाको स्थागित भएको छ । 

षडानन्द नगरपालिकाको नगर अधिवेशनमा सभापति पदमा सर्वसम्मत नभएपछि अधिवेशन स्थगित भएको हो । सो नगरपालिकाको नगर सभापतिमा तीन जनाको दाबी रहेको छ । आकांक्षीहरुमा राजु वस्नेत, किशोर राई र भिम तामाङ रहनु भएको छ । आकंक्षीहरुमा सहमतिको प्रयास गरिएको भए पनि सर्वसम्वत हुन नसकेपछि अधिवेशन स्थगित भएको हो । 

जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाको अधिवेशनबाट सभापतिमा मनोज कार्की चयन हुनु भएको छ । यस्तै अरुण गाउँपालिकामा श्रीकुमार राई सर्वसम्वतरुपमा सभापतिमा चयन हुनु भएको छ । अरुण गाउँपालिकामा राईको सभापतित्वमा ५२ सदस्यीय गाउँ समिति बनेको छ । 

जिल्लाको उत्तर साल्पासिलिछो गाउँपालिकामा सुरज राई सभापतिमा चयन हुनु भएको छ । केन्द्रिय सदस्य बाबुराम बस्नेतको प्रमुख अतिथ्यमा भएको अधिवेशले राईको नेतृत्वमा ३७ सदस्यीय समिति निर्माण गरेको हो । यसैगरी रामप्रसाद राई गाउँपालिकामा वीरेन्द्र राई सभापतिमा सर्वसम्वत हुनु भएको छ । अन्य पदाधिकारी पनि सर्वसम्वत नै चुनिएका हुन । 

भोजपुर नगरपालिकामा सभापतिका लागि निर्वाचन नै गरिएको छ । निर्वाचनबाट अशोक राई १ सय २ मत ल्याउँदै सभापतिमा बिजयी बन्नु भएको छ भने अर्का प्रत्यासी प्रेम भण्डारीलाई ९१ मत प्राप्त गर्नु भयो । समितिको उपसभापतिमा सुनील राई, हरी केशी, सचिवमा सञ्जय श्रेष्ठ, प्रसाद तामाङ, सहसचिवमा सरस्वती श्रेष्ठ, अन्जु पाण्डे सर्वसम्मतरुपमा चयन हुनु भएको छ । नगरपालिकामा ६७ सदस्यीय नगरकार्य समिति बनेको छ । 

जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिकाको सभापतिमा भने बिनोद राई चयन हुनु भएको छ । जिल्लाको दक्षिण आमचोक गाउँपालिकामा रविन राई र हतुवागढी गाउँपालिकामा बालकुमार राई सभापति हुनु भएको नेपाली कांग्रेस भोजपुरले जनाएको छ । भोजपुरमा २ नगरपालिका र ७ वटा गाउँपालिका छन । 


Top