वातावरण संरक्षणमा नेपाली सेनाको अभियान

निरोज कोइराला   POSTED ON : आश्विन १३, २०७८ (४:०८ PM)

वातावरण संरक्षणमा नेपाली सेनाको अभियान

भोजपुर । भोजपुरमा नेपाली सेनाले बातावरण संरक्षणका लागि बृक्षरोपण अभियान सुरु गरेको छ ।  

बातावरण संरक्षणमा योगदान गर्ने उद्धेश्यका साथ भोजपुर सदरमुकाममा रहेको नेपाली सेनाको फष्ट रैफल गणले सामुदायिक बनमा ‘गो ग्रिन’ कार्यक्रम अन्तर्गत एक जवान एक विरुवा रोपन अभियान संचालन गरेको हो । अभियानको सुरुवातसँगै गणले जिल्ला भित्र १२ हजार बिभिन्न जातका बिरुवा रोपण गरिने गणले जनाएको छ । अभियान अन्तर्गत सल्ला, धुपी, तेजपत्ता, मसला लगायतका बिरुवाहरु रोपिएको हो । 

डिभिजन बन कार्यालयको सहयोगमा बिरुवा रोपने कार्य भएको गणका गणपति बिश्वनाथ तिमिल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “ग्रो ग्रिन कार्यक्रम अभियानमा डिभिजन वन कार्यालयको सहयोगमा विरुवा उपलब्ध भएको छ, यो अभियान जिल्लाबाट सुरु गरिएको छ ।” 

भोजपुर नगरपालिका वडा नम्वर १२ टक्सारका वडा अध्यक्ष कुमार प्रसाद श्रेष्ठले भन्नुभयो, 

“नेपाली सेनाबाट सुरु अभियानले बातावरण संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ, बिरुवा हुर्कानका लागि बन समिति पनि सक्रिय हुन जरुरी छ ।” सेनाको अभियान अन्तर्गत बनमा बिभिन्न जातका बिरुवा रोपिए पछि स्थानीयहरुमा समेत उत्साह देखिएको छ । 

सेनाले भोजपुरको इनामे सामुदायिक वनमा बृक्षरोपन गरेर अभियानलाई निरन्तरता दिएको हो । इनामे सामुदायिक बनका अध्यक्ष पदमबहादुर कार्की खुशी हुदै भन्नुभयो, “सुख्खाग्रस्त क्षेत्रलाई हरियाली बनाउने उद्धेश्यले नेपाली सेनाले थालेको काम प्रशंसायोग्य छ, यो अभियानमा हामी सवैले सहयोग गर्न जरुरी छ ।” मौसम परिवर्तनले वातावरणमा पार्ने प्रभावलाई सन्तुलन कायम राख्नका लागि पनि वृक्षरोपण आवश्यक रहेको स्थानीवासीहरुको धारणा छ । 

सेनाले सुख्खाग्रस्त क्षेत्रमा विरुवा रोपेपछि स्थानीय उत्साहित छन । सो स्थान बढी सुख्खग्रस्त क्षेत्र भएकोले सिचाईमा भने समस्या हुन सक्नेमा स्थानीय चिन्तित बनेका छन ।


Top