संखुवासभा अस्पतालमा अक्सिजन प्लान्ट जडान

  POSTED ON : आश्विन १५, २०७८ (४:२७ PM)

संखुवासभा अस्पतालमा अक्सिजन प्लान्ट जडान

भोजपुर । संखुवासभामा रहेको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट संचालन गरिएको छ । 

प्रदेश नम्वर १ सामाजिक बिकास मन्त्रालयको सहयोगमा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट संचालन भएको हो । जिल्लामा नै अक्सिजन प्लान्ट नहुदाँ अक्सिजनका लागि जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता समेत हटेको जिल्ला अस्पताल संखुवासभा प्रशासन शाखा प्रमुख दीपेश श्रेष्ठले बताउनु भयो । प्रदेश नम्वर १ सामाजिक बिकास मन्त्रालयले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट संचालनका लागि ६८ लाख ५० हजार सहयोग गरेको थियो । 

अक्सिजन प्लान्टको परीक्षण समेत सफल भई सकेकाले अव नियमित उत्पादन सुरु हुने प्रशासन शाखा प्रमुख श्रेष्ठको भनाई रहेको छ । अस्पतालका अनुसार जडान गरिएको अक्सिजन प्लान्टबाट दैनिक ५० लिटरका २५ सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने छ । जिल्ला अस्पताल संखुवासभा प्रशासन शाखा प्रमुख श्रेष्ठका अनुसार दैनिक उत्पादनले जिल्लाका १० वटै स्थानीय तहलाई पु¥याएर छिमेकी जिल्ला भोजपुर, धनकुटा र तेह्रथुमलाई समेत दिन सकिने छ । 

अक्सिजन प्लान्ट जडान भएपछि अस्पतालमा चाँडै आइसियू सेवा समेत सञ्चालन गर्ने जिल्ला अस्पतालले जनाएको छ । बिगतमा अस्पतालका लागि अक्सिजनको अभाव देखिएको भए पनि अव भने सो समस्या समाधान भएकाले अस्पतालमा २४ सै घण्टा पाइपबाट अक्सिजन उपलब्ध गराउन सकिने छ । 

दुर्गम पहाडी जिल्लामा रहेको अस्पतालमा सेवा बिस्तार भएसँगै भोजपुरको उत्तरी षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकले समेत छिमेकी जिल्ला अस्पतालबाट नै सेवा पाउने भएका छन । जिल्लाको उत्तरी क्षेत्रका नागरिकलाई जिल्ला अस्पताल भोजपुर साथै बाहिरी जिल्ला जानु भन्दा संखुवासभा नजिक पर्ने गरेको छ । 


Top