कांग्रेस जिल्ला अधिवेशन : संखुवासभामा मतगणना जारी, सभापतिमा दुई जनाको भिडन्त

निरोज कोइराला   POSTED ON : आश्विन १७, २०७८ (६:२० PM)

 कांग्रेस जिल्ला अधिवेशन : संखुवासभामा मतगणना जारी, सभापतिमा दुई जनाको भिडन्त

भोजपुर । नेपाली काँग्रेसको १४ औं जिल्ला अधिबेसन अन्तर्गत संखुवासभामा मतगणना कार्य जारी रहेको छ । जिल्ला अधिवेशन अन्तर्गत भएको मतदान प्रक्रियामा सभापतिका लागि पूर्वराज्यमन्त्री दिपक खडका र राइबहादुर राई बीच प्रतिस्पर्धा भएको छ । 

शनिबार बेलुका करिब पाँच बजेबाट शुरु भएको मतदान प्रक्रिया आइतबार बिहान करिब ४ बजेतिर मात्रै सम्पन्न भएको थियो । राती पानी परेकाले मतदान प्रक्रिया केही प्रभावित भएको र एउटा बुथ पार्टी कार्यालय सारेर मतदान प्रक्रिया सम्पन्न गरिएको निर्वाचन समितिले जनाएको छ । 

मतदान सकिएसँगै आइतबार बिहानै देखि मतगणना गर्ने कार्य शुरु भएको छ । काँग्रेसको पोखरीबजारको चाँदनी चौक स्थित पार्टी कार्यालयको सभाहलमा मतगणना शुरु भएको हो । प्रदेश (क) र 

(ख)को छुट्टा—छुट्टै मतगणना शुरुवात गरिएको निर्वाचन अधिकृत भरतराज उपाध्यायले जानकारी दिनु भयो । निर्वाचन अधिकृत उपाध्यायका अनुसार, प्रदेश (क)मा ६ सय ३८ मत र प्रदेश (ख) मा ७ सय १४ मत गरि कुल १ हजार तीन सय ५२ मत खसेको छ । संखुवासभामा एक हजार तीन सय ८९ प्रतिनिधीहरुले मतदान गर्न पाउने छन् । जसमा ३७ जना मात्र अनुपस्थित देखिएका छन । 

अधिवेशनमा उपसभापतिमा शेरबहादुर बन, अन्नत गौली र रामकुमार जिमी बीच प्रतिस्पर्धा भएको छ । त्यस्तै सचिवमा छत्रमणी काफ्ले, कुमारबाबू अधिकारी र टकमान घल,े सहसचिवमा किशोरकुमार गुरूङ, पासाङ भोटे, विमन पराजुली, सुवास कालाखेती, सूर्य ओझा प्रतिस्पर्धामा देखिनु भएको छ । 

काँग्रेसको जिल्ला कार्यसमितिमा ४२ पद र केन्द्रिय महाधिबेसन प्रतिनिधीका लागि २६ पदका लागि मतदान भएको हो । मतगणना कार्य जारी रहेकाले कुन कुन नेताले बाजी मार्ने हुन भन्ने चर्चाको बिषय बनेको छ । 


Top