इलाम जिल्ला सभापतिमा डम्बरबहादुर खड्का विजयी

प्रकाश नेपाल   POSTED ON : मंसिर ११, २०७८ (६:०० PM)

इलाम जिल्ला सभापतिमा डम्बरबहादुर खड्का विजयी

इलाम   । नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट इलाम जिल्ला सभापतिमा डम्बरबहादुर खड्का विजयी हुनु भएको छ । आफ्ना प्रतिष्पर्धी भेषराज आचार्यलाई १ सय ६० को मतान्तरले पराजित गर्दै खड्का विजयी हुनु भएको हो । शनिबार साँझ निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार खड्काले ९ सय ३५ मत प्राप्त गर्नुभयो  । उहाँका प्रतिष्पर्धी आचार्यले ७ सय ७५ मत प्राप्त गर्नुभयो । एक हजार ७ सय ९५ मतदातामध्ये शनिबार भएको निर्वाचनमा एक हजार ७ सय ३२ मत खसेको थियो ।

खड्का पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुनु हो । आचार्य वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका उम्मेदवार बन्नुभएको थियो । अन्य पदाधिकारी र कार्यसमिति सदस्यमा भने मिश्रित परिणाम आएको छ । उपसभापति पदमा खगेन्द्र देवान ८ सय ७४ मत र विष्णुकुमारी लिम्बू दहालले ७ सय ७८ मतका साथ विजयी बन्नुभयो । केदार थापाले ७ सय ४७ मत र होमप्रसाद दुलालले ६ सय ९९ मत पाएर पराजित हुनु भयो । दुई सचिव पदमा पूर्णप्रसाद गौतम ८ सय १९ मत र निरोज खड्की ७ सय ९३ मतका साथ विजयी बन्नुभयो । त्यस्तै दुई सहसचिव पदमा डालाकुमारी कार्की ८ सय ६५ मत र आचार्य समूहका देवेन्द्रकुमार सुवेदी ७ सय ८१ मतका साथ विजयी हुनु भयो ।

पत्रकार चम्लागाईं महाधिवेशन प्रतिनिधिमा विजयी

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शुक्रबार इलाममा भएको जिल्ला अधिवेशनबाट पत्रकार माधव चम्लागाईं महाधिवेशन प्रतिनिधिमा फराकिलो मतका साथ विजयी हुनु भयो । शनिबार भएको मत गणनाको परिणाम अनुसार अनलाइन संचारमाध्यम हाम्राकुरा डटकमका संस्थापक समेत रहनु भएको चम्लागाईं भारी मतका साथ विजयी हुनु भएको हो । अपाङ्गता भएका व्यक्तिहरु मध्येबाट निर्वाचित हुने एक जना महाधिवेशन प्रतिनिधिका लागि चम्लागाईंसहित किशोरकुमार कार्की र रविचन्द्र अधिकारी चुनावी प्रतिस्पर्धामा हुनु हुन्थ्यो । प्राप्त परिणाम अनुसार चम्लागाईंले ८५१ मत ल्याएर विजयी हुनु भयो । त्यस्तै अर्का प्रतिस्पर्धी कार्कीले ३५९ मत र अधिकारीले २४२ मत प्राप्त गर्नुभयो ।

 इलाममा १७९५ मत मध्ये १७३२ मत खसेको थियो । अपाङ्गता भएका व्यक्तिले पनि सगरमाथा आरोहण गर्न पाउने अधिकारलाई विश्वमा स्थापित गर्न सफल भएका पत्रकार चम्लागाईं विगत दुई दशकदेखि पार्टीको क्रियाशील सदस्य हुनु हुन्थ्यो । साथै दुई दशकदेखि पत्रकारितामा क्रियाशील हुनु् हुन्छ ।

अपाङ्गता भएका व्यक्तिले पनि सगरमाथालगायतका ६५ सय भन्दा माथिका हिमाल आरोहण गर्न पाउने अधिकार दिलाएर पृथक परिचय बनाएका चम्लागाईंले लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार स्थापनाका लागि राष्ट्रियस्तरमा खेलेको भूमिका र कांग्रेसका विभिन्न इकाइहरुमा बसेर काम गरेको अनुभवलाई अब सक्रिय कांग्रेसको राजनीतिमार्फत सदुपयोग गर्ने प्रतिक्रिया दिनु भएको छ । इलामेली विद्यार्थी मन्चको अध्यक्ष समेत भएर काम गरिसक्नु भएको उहाँ आमसंचार तथा पत्रकारिता विषयका स्नाकोत्तर पनि हुनु हो । उहाँ जिल्ला तथा केन्द्रीय स्तरमा रहेर अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि निरन्तर क्रियाशील हुनु हुन्छ ।


Top