खोटाङ कांग्रेसमा पौडेल पक्ष हावी

चिसाङ शेर्पा   POSTED ON : मंसिर १२, २०७८ (११:३३ AM)

खोटाङ कांग्रेसमा पौडेल पक्ष हावी

खोटाङ । नेपाली कांग्रेस खोटाङमा पौडेल पक्षको हावी देखिएको छ । सातौं जिल्ला अधिवेशनको जिल्ला कार्य समिति, खुल्ला÷समावेशी महाधिवेशन प्रतिनिधिको शनिबार अन्तिम नतिजा सार्वजनिक भएसँगै जिल्लाको राजनीतिमा पौडेल पक्षको हावी देखिएको हो ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका पूर्व पार्टी सभापति तथा महासमिति सदस्य विष्णुकुमार राईको प्यानल नै जिल्ला कार्य समिति सभापतिमा निर्वाचित भएपछि यहाँको राजनीतिमा पौडेल पक्षको हाबि देखिएको श्रोत बताउँछ । श्रोतका अनुसार पौडेल निकटका १८, पार्टी सभापति शेरबहादुर देउवा निकटका ५ तथा कृष्ण सिटौला र शेखर कोईराला निकटका १÷१ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पौडेल निकटबाट इच्छुराम राना, जितेन्द्र सिं ठकुरी, नरेशकुमार श्रेष्ठ, विश्वनाथ निरौला, सुमनबाबु आचार्य,रुद्र गिरी, खुल्ला महिलामा डिल्लीकुमारी आचार्य, शान्तिदेबी राई, खस आर्यमा ईन्द्रप्रसाद घिमिरे, धर्मराज पोखरेल, खस आर्य महिलामा सरिता खड्का, आदिवासी जनजातीमा भिषण राई, लोकेन्द्र राजभण्डारी, शहरमान राई, आदिवासी जनजाती महिलामा हिरा गुरुङ, देबी राई, दलितमा राकेश परियार र अल्पसंख्यक दिवराज राई प्रतिनिधिमा निर्वाचित हुनु भएको छ । 

देउवा निकटबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा रविप्रकाश राई, विरकाजी राई, खुल्ला महिलामा सरस्वती वजिमय, बिमला राई तथा आदिवासी जनजाती महिलामा कमला राई हुनु हुन्छ । कृष्ण सिटौला निकटका भुपेन्द्र राई र शेखर कोईराला निकटका सुवासकुमार पोखरेल महाधिवेशन प्रतिनिधि बन्नुभएको छ । 

सम्पूर्ण निर्वाचितहरुलाई शनिबार वीपी स्मृती भवन दिक्तेलमा प्रमाण पत्र वितरण गरिएको नेपाली कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिनुभयो ।

सभापतिभन्दा बढी मत उपसभापतिलाई 

सातौं जिल्ला अधिवेशनमा निर्वाचित सभापति विष्णुकुमार राईको उपसभापतिले सर्वाधिक मत ल्याउनु भयो । निर्वाचित उपसभापति इवन राईले सभापति विष्णुले भन्दा ८४ मत बढी ल्याउनु भयो ।

सभापति विष्णुले ६६९ मत ल्याउदा उपसभापति इवनले ७५३ मत ल्याउनु भएको थियो । प्रदेश क्षेत्र ‘क’ का पूर्व सभापति तथा हालको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख समेत रहेका इवनले क्रस मत धेरै पाएको अनुमान गरिएको छ । 

विष्णुको प्यानलनै जिल्ला कार्य समितिमा निर्वाचित हुनु भएको हो । उपसभापतिमा राई, तीर्थराज भट्टराई, सचिवमा समिर राई, ज्ञानेन्द्र जोशी, सह–सचिवमा शालिकराम बन्जारा र सार्जन राई निर्वाचित हुनु भयो ।

२१ वर्षीय परियार महाधिवेशन प्रतिनिधि

सबैभन्दा कान्छो २१ वर्षीय राकेश परियार केन्द्रीय महाधिवेशन प्रतिनिधि दलिततर्फ निर्वाचित हुनु भयो । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार सातौ जिल्ला अधिवेशनमा परियारले प्रतिद्धन्दी सन्त बहादुर विकलाई २३५ मतले पछि पार्दै निर्वाचित हुनु भएको हो ।

परियारले ५९६ मत ल्याउँदा विकले ३६१ मत ल्याउनु भयो । खुल्ला तथा समावेशी महाधिवेशन प्रतिनिधि २५ जना मध्येमा परियार सवैभन्दा कान्छो महाधिवेशन प्रतिनिधि हुनु भयो ।

यस्तै, २१ वर्षीया अनुस्का बस्नेत जिल्ला कार्य समिति सदस्य खस आर्य महिलातर्फ भारी मतले विजयी हुनु भयो । दुई जना प्रतिद्धन्द्धीलाई पछि पार्दै सदस्यमा निर्वाचित भएका बस्नेतले ६०१ मत ल्याउँदा उनका प्रतिद्धन्द्धीदय उर्मिला पोखरेल आचार्यले ५८६ र बबिता खड्काले ४७३ मत ल्याउनु भयो । निर्वाचित जिल्ला कार्य समिति सदस्य मध्येमा बस्नेत सबैभन्दा कान्छी हुनु हो ।

यसैगरी, २४ वर्षीया गोमा राई पनि जिल्ला कार्य समिति सदस्यमा निर्वाचित हुनु भयो । उहाँ केपिलासगढी गाउँपालिकाको महिलातर्फवाट सदस्यमा निर्वाचित हुनु भएको हो । गोमाले ५२९ मत ल्याउँदा उहाँको प्रतिद्धन्द्धी सरिता राईले ४९७ मत ल्याउनु भयो ।


Top