भोजपुरमा मंसिर १७ बाट मतदाता नामावली संकलन अभियान

निरोज कोइराला   POSTED ON : मंसिर १४, २०७८ (३:०५ PM)

भोजपुरमा मंसिर १७ बाट मतदाता नामावली संकलन अभियान

भोजपुर । आगामी तीन वटै तहको निर्वाचनलाई मध्यनजर गर्दे प्रदेश नम्वर १ का पहाडी जिल्ला भोजपुर सहित खोटाङ, धनकुटा, तेह्रथुम लगायतका पहाडी जिल्लाहरुमा मंसिर १७ गतेबाट मतदाता नामावली संकलन कार्य सुरु गरिने भएको छ । 

उमेर पुगेर पनि मतदाता नामावलीमा नाम समावेश गर्न छुटेकाहरुमा लागि स्थानीय तहहरुको केन्द्रमा पुगेर नाम दर्ता गरिने जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख खेमराज कोइरालाले जानकारी दिनु भयो । प्रमुख कोइरालाका अनुसार भोजपुरमा ९ वटा स्थानीय तह रहेता पनि भोजपुर नगरपालिका बाहेक अन्य स्थानीय तहका केन्द्रहरुमा नामावली संकलन कार्य सुरु गरिने छ । 

जिल्लामा पहिलो चरणमा अरुण, आमचोक, रामप्रसादराई र साल्पासिलिछो गाउँपालिकामा मंसिर १७ गतेबाट २६ गतेसम्म मतदाता नामावली संकलन हुने छ भने टेम्केमैयुङ हतुवागढी, पौवादुङमा गाउँपालिका र षडानन्द नगरपालिकामा मंसिर २८ गतेबाट पौष ८ गतेसम्म नामावली संकलन कार्य हुने छ । 

जिल्ला निर्वाचन कार्यालय मार्फत अन्य जिल्लामा घर भएर पनि कामको सिलसिलामा भोजपुरमा रहेकाहरुले पनि आफनो नाम दर्ता गराउन सक्ने कार्यालय प्रमुख कोइरालाले जानकारी दिनु भयो । मतदाता नामावली संकलनका बिषयमा जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, पत्रकार, कार्यालय प्रमुखहरु र सुरक्षा निकायसँग अन्तरिक्रया समेत गरिएकाले यो कार्यक्रम जिल्लामा प्रभावकारी हुने प्रमुख कोइरालाको भनाई रहेको छ । 


Top