केपिलासगढी गाउँपालिकाको आफ्नै भवन निर्माण

चिसाङ शेर्पा   POSTED ON : मंसिर १४, २०७८ (५:४३ PM)

केपिलासगढी गाउँपालिकाको आफ्नै भवन निर्माण

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले प्रशासनिक पक्की भवन निर्माण गरेको छ । संघीय संरचना लागू भएपछि तत्कालिन गाविस र विद्यालयको भवनबाट सेवा प्रवाह गरिरहेको गाउँपालिकाले सुविधा सम्पन्न आफ्नै प्रशासनिक भवन निर्माण गरेको हो ।

गाउँपालिकाको आफ्नै प्राविधिक प्रयास र श्रोतवाट आर्थिक वर्ष २०७५/०७६ देखि बहुवर्षीय रुपमा सञ्चालन गरी गाउँपालिकाको १ करोड ७६ लाख ५४ हजार ९२० रुपैयाँ लागतमा निर्माण सम्पन्न भवनमा सभाहलसहित १३ वटा प्रशासनिक कोठाहरुको रहेको गाउँपालिकाले जनाएको छ । बाक्सिला बजारदेखि केही माथि रहेको नयाँ भवन गाउँपालिका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष हिराकुमारी वन गिरीले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गुर्नभएको थियो ।

सबै शाखा, उपशाखाहरु नयाँ भवनमा समेटिएपछि नागरिकलाई सेवा प्रवाह गर्नमा सहजता भएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । नागरिकले इच्छाईएको सेवालाई नयाँ भवनबाट अझ प्रभावकारी ढंगले प्रवाह गरिनेछ । अध्यक्ष राईले भन्नुभयो, ‘सुविधा सम्पन्न प्रशासनिक भवनबाट सेवा प्रवाह गर्न पाउँदा कर्मचारीमा पनि उत्प्रेरणा बढेको छ ।’

यसअघि तत्कालिन बाक्सिला गाबिसको भवन र पृथ्वी माध्यमिक विद्यालयको जिर्ण भवनलाई मर्मत गरी सेवा दिंदै आएको थियो । यस गाउँपालिकामा ७ वडा रहेको छ ।

तस्वीरमा – भवन उद्घाटन गर्नुहुदै गाउँपालिका अध्यक्ष कृष्णकुमार राई उपाध्यक्ष हिराकुमारी वन गिरी ।


Top