भोजपुरका सात स्थानीय तहमा सकियो माओवादी केन्द्रको अधिवेशन

हिमालय टाइम्स   POSTED ON : मंसिर १५, २०७८ (५:२६ PM)

 भोजपुरका सात स्थानीय तहमा सकियो माओवादी केन्द्रको अधिवेशन

भोजपुर । नेकपा (माओवादी केन्द्र) भोजपुरले जिल्लाका सात वटा स्थानीय तहको अधिवेशन सकेको छ भने दुई वटा स्थानीय तहको भने बाँकी राखेको छ । 

स्थानीय तहको अधिवेशन अन्तर्गत माओवादी केन्द्रले जिल्लाको दक्षिणमा रहेको हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिका बाहेक अन्य २ नगरपालिका र ५ वटा गाउँपालिकाको अधिवेशन सकेको हो । भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, अरुण गाउँपालिका, पौवादुङमा गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका र रामप्रसादराई गाउँपालिकाको अधिवेशन सम्पन्न भएको भोजपुर नगर कमिटिका सचिव राजन राईले जानकारी दिनु भयो ।

अधिवेशन अन्तर्गत २ गाउँपालिकामा भने महिला अध्यक्ष बनाईएको छ । पूर्वी पौवादुङमा गाउँपालिकामा सम्झना राईको अध्यक्षतामा खडगराज तामाङ, राम दर्लामी मगर, अनिता राई उपाध्यक्ष, मुक्मिन राई सचिव, हर्क राई सहसचिव र रामु राई कोषाध्यक्ष सहित ५५ सदस्यीय गाउँ कमिटि बनेको हो । अध्यक्ष राई गाउँपालिका उपाध्यक्ष समेत हुनुहुन्छ । 

यता जिल्लाको रामप्रसाद राई गाउँपालिकामा पनि सम्झना राईको अध्यक्षतामा नयाँ गाउँ कमिटि बनेको 

छ । अध्यक्ष बनेकी राई रामप्रसादराई गाउँपालिकाकी उपाध्यक्ष हुनुहुन्छ । अधिवेशनबाट उपाध्यक्षमा बाबुराम बन्जरा, चन्द्र मगर, सुष्मा राई चुनिनु भएको छ भने सचिवमा सुरेश राई र सहसचिवमा सोमकुमार राई रहनु भएको छ । 

यता जिल्लाको उत्तर नेकपा माओवादी केन्द्र षडानन्द नगर कमिटीको प्रथम अधिवेशनबाट यङ्गराज राईको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन भएको छ । कमिटीको उपाध्यक्षमा बुद्ध सिं तामाङ, गिता राई र योगराज न्यौपाने, सचिबमा राज बिकास राई, सह–सचिबमा बद्रि कार्की र कोषाध्यक्षमा बिष्णु हिङमाङ् निर्वाचित हुनु भएको छ । 

त्यस्तै जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिका कमिटी अध्यक्षमा संगम राई र साल्पासिलिछो गाउँपालिका अध्यक्षमा दल बहादुर गिरी निर्वाचित हुनु भएको छ । अधिवेशन हुन बाँकी गाउँपालिका मध्ये आमचोक गाउँपालिकाको मंसिर १७ र हतुवागढी गाउँपालिकाको पनि मंसिर १८ गते पालिका अधिवेशन गरिने नेकपा (माओवादी केन्द्र) भोजपुरका नगर सचिव राईले बताउनुभयो । 



Top