6th December | 2020 | Sunday | 6:08:25 AM

मलेसियामा नेपाली युवालाई मृत्युदण्डको फैसला

  POSTED ON : भदौ २२, २०७७ (११:५० PM)

मलेसियामा नेपाली युवालाई मृत्युदण्डको फैसला

काठमाडौं । मलेसियामा एक नेपाली युवालाई मृत्युदण्डको फैसला सुनाइएको छ । चार वर्षअघि एक लरी चालक नेपाली नागरिककै हत्या गरेको अभियोगमा ३६ वर्षीय नेपाली युवा सुरजदेव साह तेलीलाई त्यहाँको उच्च अदालतले दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको हो । क्वालालम्पुरस्थित नेपाली दूतावासका जेल अधिकृत द्वितीय सचिव प्रतीक कार्कीका अनुसार तेलीलाई मलेसियन पिनल कोडको दफा ३०२ अन्तर्गत मृत्युदण्डको फैसला सुनाइएको थियो । उच्च अदालतका न्यायाधीश दातुक मोहम्मद रज्जी हारुनले घटनामा दोषी ठह¥याउँदै मृत्युदण्डको सजाय सुनाउनुभएको थियो ।

तेलीलाई सन् २०१६, डिसेम्बर २ तारिखका दिन ३४ वर्षीय हरिथास नाम गरेका नेपाली युवाको हत्या गरेको अभियोग लगाइएको थियो । नेपाली राजदूतावासका तर्फबाट भारतीय मुलकी अधिवक्ता करनजित कौरले तेलीका तर्फबाट मुद्दा लड्नुभएको थियो । 

नेपाली दूतावासले भने तेलीको जीवनरक्षाका लागि पुत्राजयस्थित अदालतमा पुनरावेदन गरिसकेको जनाएको छ । सन् २००६ मा मलेसिया पुग्नुभएका तेली ओयल पाम फ्याक्ट्रीमा सामान्य श्रमिकको रूपमा काम गर्नुहुन्थ्यो । 

मलेसियामा यसअघि पनि विभिन्न मितिमा ६ जना नेपालीलाई मृत्युदण्डको फैसला सुनाइएको थियो । जसमा दोलखाका कुमार तामाङ, सुरजकुमार सुनार, उदयपुरका कमल तामाङ, पंकज लिम्बू, सप्तरीका राजकुमार शाह र सुनसरीका सुजन दाहाल रहनुभएको छ । उहाँहरूको पनि जीवन प्रतिरक्षाको लागि नेपाली दूतावासले अदालतमा पुनरावेदन गरेको छ । 


Views: 129