6th December | 2020 | Sunday | 4:05:54 AM

कोरोनाका कारण भारतमा थप आठ नेपालीको निधन

  POSTED ON : कार्तिक ३०, २०७७ (१:०४ PM)

कोरोनाका कारण भारतमा थप आठ नेपालीको निधन

काठमाडौं । कोरोना भाइरसको कारणले विदेशमा थप आठजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण आठजना नेपाली ज्यान गएको हो ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म कोरोनाका कारण निधन हुने नेपाली सङ्ख्या २९३ जना पुगेको छ । सङ्घका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४३९ जना  नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये अनुमानित ४१ हजार ४३९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । विदेशमा कोरोनामुक्त हुने नेपालीको सङ्ख्या ९१ प्रतिशत रहेको छ ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, युके, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, युएई, कतार र साउदी अरबमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ ।

यो साता नेपालमा मात्र दुई लाख ६  हजार ३५३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने तीमध्ये एक लाख ६८ हजार १२९ जना  कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुनेहरुको सङ्ख्या ८१ दशमलव पाँच प्रतिशत रहेको छ । शनिबार साँझसम्म  नेपालमा एक हजार २०२ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को स्वास्थ्य समिति ले चाडपर्वका बेला हुने ससाना भेटघाटहरु कम गर्न  आग्रह गरेको छ । समितिका संयोजक डा सापकोटाले सोसियल डिस्ट्यान्स कायम राख्दै चाडपर्व मनाउन सबैलाई आग्रह गर्नुभएको छ ।


Views: 66