15th June | 2021 | Tuesday | 8:24:16 AM

कतारमा श्रमिकको सुरक्षाबारे दूतावासद्वारा छलफल

अनिल पराजुली   POSTED ON : माघ ४, २०७७ (८:३० AM)

कतारमा श्रमिकको सुरक्षाबारे दूतावासद्वारा छलफल

कतार । रोजगारीका लागि कतार आएका नेपाली श्रमिकहरूसँग नेपाली दूतावासले छलफल गरेको छ । कतारको दोहास्थित नेपाली राजदूतावासमा श्रमिकहरूसँग उनीहरूको हकहित र सुरक्षाका विषयमा अन्तरक्रिया गरिएको हो । 

अन्तरक्रियामा कतारको दोहास्थित ‘अल डल्ला कन्ट्रयाक्टिङ कम्पनी’मा कार्यरत ३० नेपाली महिला श्रमिकको सहभागिता थियो । वैदेशिक रोजगारीका लागि कतार आउनुअघि र आएपश्चात् यहाँको कानुनअनुसार गर्न हुने तथा नहुने कामहरूको बारेमा दूतावासले उनीहरूलाई सो अवसरमा जानकारी गराएको थियो । 

कार्यक्रममा कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले विभिन्न पेसा र व्यवसायमा आबद्ध भएका सम्पूर्ण नेपालीले स्थानीय संस्कृति, धर्म र प्रचलित कानुनअन्तर्गत रहेर काम गर्न आग्रह गर्नुभयो । उहाँले कतारमा रहेका नेपालीलाई कतार सकारले कोभिड–१९ को संक्रमण रोक्न अवलम्बन गरेको सुरक्षा र सतर्कताको नियमको पालना गर्नसमेत आग्रह गर्नुभयो ।  

राजदूतावासले जारी गर्ने राहदानी र ट्राभल डकुमेण्टलगायत कन्सुलर सेवाका बारेमा समेत सो अवसरमा श्रमिकहरूलाई जानकारी दिइएको थियो । दूतावासका पदाधिकारीहरूले सहभागीहरूले उठाएका विभिन्न प्रश्नहरूको जवाफ दिनुभएको थियो । कार्यक्रममा राजदूतावासका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । हाल कतारमा करिब तीन लाख ५१ हजार नेपाली कामदार कार्यरत रहेको बताइएको छ ।


Views: 260