21st June | 2021 | Monday | 11:53:56 AM

हरि काफ्लेको टिमले सार्वजनिक ग-यो चुनावी प्रतिबद्धता

  POSTED ON : बैशाख २२, २०७८ (१०:१५ AM)

बोस्टन । गैरआवासीय नेपाली संघ समन्वय परिषद् अमेरिका (एनआरएनए) म्यासाचुसेट च्याप्टरका अध्यक्षका प्रत्याशी हरि काफ्लेको टिमले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । साहित्यकारसमेत रहनुभएका काफ्लेको टिमले नेपाली भाषा संस्कृतिलाई प्राथमिकतामा राखी नेपाली भाषीको हकहितको लागि पहरेदारको भूमिका खेल्ने प्रतिबद्धता आफ्ना मतदातामाझ व्यक्त गर्नुभएको छ ।
नेपालीभाषीको हकहितको लागि यहाँ रहेका समाजिक संघसंस्थासँग समन्वय गर्दै अगाडि बढ्ने अध्यक्षका उम्मेदवार काफ्लेले हिमालय टाइम्ससँग बताउनुभयो ।
बोष्टनमा नेपालीभाषीको संख्या उल्लेख्य रूपमा वृद्धि हुँदै गएकाले यहाँको सरकारी कार्यालयमा नेपालीलाई समावेश गर्नको लागि काम गर्ने उपाध्यक्षकी उम्मेदवार हजुरी सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चालक अनुमति पत्रको परीक्षा नेपाली भाषामा दिने व्यवस्था मिलाउनको लागि काम गर्नेछु ।’


एकपटकको नेपाली सधैंको नेपाली भन्ने एनआरएनको मूलमन्त्रलाई आत्मसाथ गर्दै आफ्नो टिमले काम गर्ने सचिव पदकी उम्मेदवार सानुमाया अधिकारीले बताउनुभयो ।
ट्याक्स, घरजग्गा तथा करियरलगायतका विषयमा कार्यशाला सञ्चालन गर्ने, भाषा संस्कृति धर्मको संरक्षण तथा सम्बर्धनका लागि यहाँको पशुपतिनाथ बौद्ध फाउण्डेशनलगायतका संघसंस्थासँग समन्वय गरी अगाडि बढ्ने, मृत्यु संस्कारको सम्बन्धमा यहाँको संस्थाहरूसँग समन्वय गरी काम गर्ने, नेपालीभाषी बौद्धिक व्यक्तिहरू नेपाली संघसंस्थाबाट टाढा रहेकाले त्यस्ता व्यक्तिलाई एनआरएनएमार्फत नेपाली समुदायमा जोड्ने, राहदानी, वारेसनामा, नागरिकता, यात्रा अनुमति पत्रलगायतका विषयमा सहजताका लागि नेपाली दूतावासको घुम्ती शिविर सञ्चालनका लागि काम गर्ने, अध्यागमनलगायतका विषयमा कानुनी सल्लाहका लागि वकिलसँग छलफल कार्यक्रम सञ्चालन गर्ने, नेपालीभाषी समुदायको बाहुल्य रहेको स्थानीय शहरहरूमा नेपाली भाषालाई प्रयोगमा ल्याउन पहल गर्नेलगायतका विषय प्रतिबद्धता पत्रमा समावेश गरिएको छ ।


Views: 320