ग्लोबल एनआरएन सिंगिङ आइडलका उत्कृष्ट २५ सार्वजनिक

हिमालय टाइम्स   POSTED ON : श्रावण २५, २०७८ (७:२४ AM)

ग्लोबल एनआरएन सिंगिङ आइडलका उत्कृष्ट २५ सार्वजनिक

काठमाडौं । ग्लोबल एनआरएन सिंगिङ आइडल-२०२१ का उत्कृष्ट २५ सार्वजनिक गरिएको छ । पहिलोे संस्करणको यो प्रतियोगितामा विश्वका विभिन्न देशबाट भाग लिएकामध्येबाट उत्कृष्ट २५ सार्वजनिक गरिएको हो । भर्चुअलमार्फत् भएको ‘गाला राउन्ड’ बाट २५ जना प्रतिस्पर्धी छनोट भएको आयोजकले जनाएको छ । 

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा समितिले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा डिजिटल अडिसन ओपनिङ राउन्डको अन्तरा, सारेगम र पियानो राउन्ड पार गर्दै छनोट भएका ३० जनामध्येबाट ‘गाला राउन्ड’ मा २५ जना पुगेका थिए ।

उत्कृष्ट २५ प्रतिस्पर्धीहरूमा युवराज गुरुङ (क्यानडा), बीबी मल्ल ठकुरी (कुबेत), नरेन्द्र मल्ल (कतार), सन्देश गुरुङ (अमेरिका), गोविन्द गुरुङ (कतार), आकाश न्यौपाने (जापान), देवकी न्यौपाने खत्री (युएई), कविता आरबिएम (युएई), वामदेव भाट (बहराइन), सुरेन घताङ ‘शिव’ (कोरिया), अभिषेक भण्डारी (अष्ट्रेलिया), किशोर लम्साल (कतार), रञ्जीता गोदार (अष्ट्रेलिया) रहनुभएको छ । 

त्यसैगरी, कपिल पाइजा पुन मगर (आयरल्याण्ड), सागर विश्व सेञ्चुरी (कुबेत), दीपेश सिग्देल (नर्वे), राधिकाकुमारी गोले (कोरिया), रामचन्द्र राई (कतार), अमित विष्ट (युएई), कृष्ण खवास (युएई), प्रतीक सिडब्ल्यूए परियार (बहराइन), सतिश थापा (कतार), रेशु स्याङ्दान (बहराइन), निशान्तकुमार विश्वकर्मा (कतार) र अभिषेक लकान्द्री (अमेरिका) रहनुभएको छ ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले सात लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ राखिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने पाँचजना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने आयोजकले जनाएको छ । 

आइडलका निर्णायकहरू गायक उदय सोताङ र विजय लामा तथा गायिका प्राश्ना शाक्य र सुनिता दुलाल रहनुभएको छ  । 

गैरआवासीय नेपाली संघ एनआरएनए आइसिसीका पूर्वअध्यक्ष भवन भट्टले ‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने नारा सार्थक बनाउन पनि यस किसिमका कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायक उदय सोताङले विदेशमा संघर्ष गर्दै सांगीतिक जीवन अघि बढाउनु आफैंमा चुनौतीपूर्ण रहेको बताउनुभयो । 

उत्कृष्ट २५ को छनोटपछि गायक सोताङले ग्लोबल एनआरएन सिंगिङ आइडलले विश्वभरिका नेपाली युवाहरूमा उत्साह थपेको बताउनुभयो । ‘हामी चारजना निर्णायकबीच निकै लामो छलफलपछि उत्कृष्ट २५ जना छनोट गरिएको हो, धेरै प्रतिभाशाली युवा गायक–गायिका नेपाल बाहिर हुनुहुन्छ भन्ने पुष्टि यो कार्यक्रमबाट भएको छ,’ सोताङले भन्नुभयो ।


Top