वैदेशिक रोजगारीमा रहेका नेपालीबारे श्वेतपत्र

हिमालय टाइम्स   POSTED ON : श्रावण ३२, २०७८ (६:३३ AM)

वैदेशिक रोजगारीमा रहेका नेपालीबारे श्वेतपत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको अवस्थाबारेको श्वेतपत्र जारी गरेको छ । वैदेशिक रोजगारीले ल्याएको सामाजिक परिवर्तनसहित कयौं अवसर र चुनौती समेटेर श्वेतपत्र जारी गरेको हो । श्वेतपत्रमा विशेषतः नेपालको वर्तमान आप्रवासन स्थिति, गन्तव्य देशमा नेपालीको अवस्था र उनीहरूले भोग्नुपरेको समस्या, नेपालमा फर्किएका नेपालीको पुर्नएकीकरणको सम्भावित उपाय, सरकारबाट अपेक्षा र एनआरएनएको भूमिकालगायतका बारेमा वास्तविकरूपमा चित्रण गर्ने प्रयास गरिएको एनआरएनएले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

कोरोनापछि नेपालमा वैदेशिक रोजगारीको अवस्था र नेपाली आप्रवासी कामदारले सामना गर्नुपर्ने समस्या र चुनौती पहिचान गरेर त्यसको समाधानका लागि नेपाल सरकार र सरोकारवालालाई सचेत गराउने, नेपाली आप्रवासी कामदारलाई सहयोग प्रदान गर्न सक्ने क्षेत्र पहिचान गर्ने उद्देश्यका साथ श्वेतपत्र जारी गरिएको एनआरएनएले जनाएको छ । 

नेपालको वैदेशिक रोजगारीको इतिहास निकै पुरानो छ । भारत, बेलायत, सिंगापुरलगायत मुलुकमा सेना र प्रहरी वा अन्य श्रमका लागि नेपाली युवाहरू रोजगारीका लागि जाने  प्रचलन पुरानै हो । त्यसो त उतिबेला नेपालमा वैदेशिक रोजगारीभन्दा पनि लाहुर जाने वा मुग्लान जाने नाममा  युवाहरू विदेश जाने गरेका थिए । तर,  वैदेशिक रोजगारीका लागि नै भनेर युवाहरू विदेशी श्रम बजारमा जान थालेको भने करिब साढे चार दशक जतिमात्र भएको छ । सन् १९९० पछि नेपालको राजनीतिक परिवर्तनसँगै नेपालीहरूका लागि सहजरूपमा वैदेशिक रोजगारीको अवसर खुलेको हो । हाल वैदेशिक रोजगारी राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनेको छ । नेपालको वैदेशिक रोजगारीको पछिल्लो यात्राले छोटो समयमा धेरै सम्भावनाका साथै जोखिम पनि बोकिरहेको बताइएको छ ।

एनआरएनएका अनुसार नेपाली युवाका लागि वैदेशिक रोजगारी पहिलो र अन्तिम बाध्यकारी विकल्प बनेको छ । दैनिक एक हजारदेखि १५ सय युवा रोजगारीका लागि बाहिरिने गरेका छन् । नेपालबाट विशेषगरी खाडी मुलुक र मलेसियालगायतका देशमा वैदेशिक रोजगारीमा जानेमध्ये करिब ९५ प्रतिशत श्रम रोजगारीमा नै गएका हुन्छन् । युरोप, क्यानडा, अमेरिकालगायत विकसित देशमा पनि जाने गरेका छन् तर तुलनात्मकरूपमा त्यो संख्या न्यून रहेको छ ।

वार्षिक करिब चार लाख व्यक्तिहरू श्रम बजारमा प्रवेश गरिरहेका सन्दर्भमा विविध कारण स्वदेशमा रोजगारीको पर्याप्त अवसर तथा छनोट नभएकाले अल्पकालीन रणनीतिका रूपमा आगामी केही दशकसम्म नेपालमा वैदेशिक रोजगारीको विकल्प नरहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो, प्रतिफलयुक्त बनाउने र प्राप्त रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नु नै समयको माग र देशको आवश्यकता भएको बताइएको छ । 

सरकारको पछिल्लो तथ्यांकअनुसार  वैदेशिक रोजगारीका लागि सरकारले खुला गरेका एक सय १० देशका लागि सन् २०१९ /२०२० मा मात्रै झण्डै चार लाख नेपालीले श्रम स्वीकृति लिएका छन् ।  कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा वैदेशिक रोजगारीमा रहेका नेपालीले रेमिट्यान्समार्फत् २४ प्रतिशतको योगदान गरेका छन् । विश्वव्यापी कोरोना महामारीमा वैदेशिक रोजगारीसमेत पूर्णरूपमा प्रभावित हुँदा मध्यपूर्वका साउदी अरब, यूएई, कुवेत, ओमन र बहराइन  तथा मलेसियालगायतमा जाने नेपालीहरू समस्यामा परेको एनआरएनएले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको अभिभावकत्वको जिम्मेवारी नेपाल सरकारको भएकाले विदेशमा अलपत्र परेका नेपालीको उद्धार र सहयोगमा सरकारको महत्वपूर्ण भूमिका हुने बताइएको छ । कोरोना महामारीपछि एनआरएनए, विदेशस्थित नेपाली सरकारी निकायबीचको सहकार्यमा करिब दुई लाख नेपालीको उद्धार गरिएको जानकारी गराउँदै एनआरएनएले आगामी दिनमा पनि सहकार्यलाई अझ सशक्त बनाएर एक संयुक्त स्थायी संरचनामार्फत् वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहयोगको बाटो खोल्न श्वेतपत्रले आधार तयार पारेको एनआरएनएले जनाएको छ । 

कोरोनाका कारण विभिन्न गन्तव्य देशस्थित अस्पतालमा उपचार गरिरहेका नेपालीका लागि आवश्यक सहयोग पुर्‍याउन, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आवश्यक तालिम, कानुनी परामर्श, अलपत्र परेकाको घर फिर्ती र कोरोना प्रभावका कारण वैदेशिक रोजगारीमा अलपत्र परेर स्वदेश फर्किएकाको उचित व्यवस्थापन र विदेशस्थित नेपाली सरकारी नियोगमा पर्याप्त साधन र स्रोतको समेत व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको एनआरएनए प्रवक्ता डीबी क्षेत्रीले बताउनुभएको छ ।


Top