एनआरएनएको निर्वाचन अनलाइनमार्फत्

हिमालय टाइम्स   POSTED ON : आश्विन २, २०७८ (६:२० AM)

एनआरएनएको निर्वाचन अनलाइनमार्फत्

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०२१ अक्टोबरमा हुने १०औं अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने निर्वाचन सम्पन्न गर्न अधिवक्ता लिलामणि पौडेलको संयोजकत्वमा गठित सातसदस्यीय निर्वाचन समिति निर्वाचनको आन्तरिक तयारीमा जुलाइदेखि नै जुटिरहेको छ । समितिले आगामी २० अक्टोबरमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन निर्वाचन गर्ने प्रस्ताव गरी तयारी भइरहेको जनाएको छ । एनआरएनएको इतिहासमै पहिलोपटक निर्वाचन अनलाइन प्रणालीमार्फत् गर्न लागिएकाले स्वतन्त्रता र निष्पक्षताको प्रत्याभूत हुने गरी नेपालीहरूको संलग्नता नरहेको विदेशी निर्वाचन भेन्डरको छनोट भइसकेको पनि एनआरएनए निर्वाचन समितिले जनाएको छ ।

प्राविधिकलगायत अन्य विविध पूर्वतयारी भइसकेको बताइएको छ । अनलाइन मतदानका लागि संस्थाका महाधिवेशन प्रतिनिधिले मतदानका समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नुपर्ने भएकाले नै अनुहार प्रष्ट देखिने फोटो (सेल्फी) अनिवार्य पठाउनुपर्ने बताइएको छ । सबै मतदातालाई एनआरएनएको एमआईएस सिस्टममा लगइन गरेर सेल्फी फोटो अपलोड गर्न पनि समितिले भनेको छ । अहिले सोहीअनुसार फोटो संकलनको काम जारी छ । निर्वाचनका बेला मतदाताले आफ्नो डिभाइसमा सेल्फी फोटो प्रमाणीकरण गरेपछि मात्रै भोट हाल्न पाइने प्रावधान भएकाले समयमै सेल्फी फोटो अपलोड नगर्दा मतदानबाट वञ्चित हुने अवस्था आउन सक्ने समितिको भनाइ छ  ।

अधिवक्ता लीलामणि पौडेलको संयोजकत्वमा गठित समितिमा सदस्य-सचिव भूषण घिमिरे (जापान) रहनुभएको छ । सदस्यमा रामप्रताप थापा (जर्मनी), चिरञ्जीवि ढकाल (यूके), डा. विष्णुमाया परियार (अमेरिका), डा. देवकाजी डंगोल (कतार), डा. गणेश गुरुङ (नेपाल) रहनुभएको पनि समितिद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

 निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न समितिले आईटी विज्ञसहितको उपसमिति बनाएर आवश्यक सरसल्लाह लिँदै आफ्नो तयारी र काम अगाडि बढाएको जनाएको छ । निर्वाचन कार्यतालिका प्रकाशनको अन्तिम चरणमा रहेका समयमा संघको प्रत्यक्ष सरोकार रहेको परराष्ट्र मन्त्रालयबाट अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई महाधिवेशन र निर्वाचनका विषयमा चासो राख्दै पत्र आएकाले संघको नेतृत्वले त्यस विषयलाई सम्बोधन गर्नासाथ समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरी तोकिएकै समयमा निर्वाचन गर्ने गरी कार्यतालिका प्रकाशन गर्ने जनाएको छ । निर्वाचनका बाँकी आवश्यक प्रक्रियाका लागि समयको अभाव नभएकाले समितिले तोकिएको समयमा निर्वाचन गराउन प्रतिबद्ध रहेको विश्वास दिलाएको छ । 


Top