एनआरएनएको तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन

हिमालय टाइम्स   POSTED ON : आश्विन ४, २०७८ (५:५६ AM)

एनआरएनएको तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन

काठमाडौं । बेलायतस्थित नेपाली दूतावासमा  गैरआवासीय नेपाली संघ (एनआरएनए) को तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको बेलायतस्थित नेपाली राजदूत लोकदर्शन रेग्मी तथा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले संयुक्तरूपमा उद्घाटन गर्नुभएको एनआरएनएले जनाएको छ । सो अवसरमा राज्यमन्त्री श्रेष्ठले कोरोना महामारीदेखि नै नेपाल र नेपालीलाई सघाएको भन्दै एनआरएनए तथा विश्वभरका नेपाली चिकित्साकर्मीलाई धन्यवाद दिनुभयो । उहाँले नेपाल सरकारले जोखिममा रहेका सबै जनतालाई खोप पुर्‍याउने कामलाई सर्वोच्च प्राथमिकता दिएको पनि जानकारी गराउनुभयो ।

एनआरएनएका महासचिव डा. हेमराज शर्माले विदेशमा रहेका नेपालीहरूमा प्रशस्त सम्भावना रहेको भन्दै एनआरएनएको अभियानमा जोडिएर सक्रिय हुन आग्रह गर्नुभयो । एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले सम्मेलन नेपालबाहिर आयोजना  गरिएको  स्वास्थ्यसम्बन्धी सबैभन्दा ठूलो फोरम भएको बताउनुभयो । उहाँले सम्मेलनमा नेपाल र नेपालबाहिर बस्ने आमनेपालीको स्वास्थ्यबारेमा छलफल हुने जानकारी गराउनुभयो । सम्मेलनमा ३० भन्दा बढी वैज्ञानिक कार्यपत्र पेश हुने तथा ५० भन्दा बढी कार्यशाला सञ्चालन गरी समूहगत छलफल भएको बताइएको छ । नेपालका लागि ब्रिटिस राजदूत निकोल पोलिटले ब्रिटेनले नेपालको स्वास्थ्य सेवालाई बलियो बनाउन लामो समयदेखि सघाउँदै आएको उल्लेख गर्दै कोरोनाविरुद्धको सहयोगलाई जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सबै जनतालाई खोप पु¥याउन तथा कोरोनासँग जुध्न नेपाल सरकारले गरिरहेको काममा सघाउन अन्तर्राष्ट्रिय समुदाय तयार रहेको बताउनुभयो । सम्मेलनको सहआयोजक एनआरएनए एनसीसी युकेका अध्यक्ष प्रेम गाहा मगरले सम्मेलनकै क्रममा आइतबार भूतपूर्व गोर्खालगायत नेपाली समुदायको स्वास्थ्य परीक्षण तथा च्यारिटी डिनर आयोजना गरिएको जानकारी गराउनुभयो । सम्मेलनका लागि युके संयोजक डा. सुनिल साह, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान् कोइराला,  नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा. मनकुमारी राई, वायल कलेज अफ सर्जन्स एडिन बराका प्राध्यापक माइकेल ग्रीफिन, वायल कलेज अफ नर्सिङकी उपाध्यक्ष ट्रेसी बडिंग, सेफिल्ड विश्वविद्यालायका प्राध्यापक एन्ड्रयु लिलगायतले शुभकामना सन्देश दिनुभएको थियो । वैज्ञानिक समितिका अध्यक्ष प्रा. पदम सिंखडा तथा डा. बोधराज सुवेदीले सम्मेलनको कार्यक्रम पुस्तिका सार्वजनिक गर्नुभएको थियो भने डा. एलिनी सुवेदी पोखरेलले संघको स्वास्थ्य समितिले भारतमा सञ्चालन गरिएका कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । आइतबार लन्डन घोषणापत्र जारी गर्दै सम्मेलनको समापन गरिएको छ ।


Top