एनआरएनए स्वास्थ्य सम्मेलनद्वारा २८ बुंँदे घोषणापत्र

हिमालय टाइम्स   POSTED ON : आश्विन ५, २०७८ (६:०७ AM)

एनआरएनए स्वास्थ्य सम्मेलनद्वारा २८ बुंँदे घोषणापत्र

काठमाडौं । महमारी युगमा सम्पूर्ण स्वास्थ्य भन्ने मूल नाराका साथ आयोजित आवासीय नेपाली संघ (एनआरएनए) को तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन विभिन्न २८ बुंँदे लन्डन घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रले कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितिमा देखाएको धैर्य र साहसका लागि सबै नेपाली स्वास्थ्यकर्मी र आमनेपाली नागरिकको सराहना गरेको छ । घोषणापत्रमा भनिएको छ, ‘हामी स्वास्थ्य प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार रहेको, जीवनको निरन्तरताका लागि अमूल्य निधि भएको र हरेक राष्ट्रको सामाजिक जीवनस्तर वृद्धिका लागि प्राथमिक तत्व भएको कुरामा विश्वस्त छौंं, नेपालीहरूलाई गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्न हामी हरेकको अद्वितीय भूमिका रहेको र यस क्षेत्रमा योगदान दिनुहुने सम्पूर्ण व्यक्ति, संस्था र साझेदारको योगदानको कदर गर्दै उहाँहरूलाई सहयोगको प्रतिबद्धता जाहेर गर्दछौं ।’

सम्मेलनले  संसारभरि रहेका नेपाली विशेषज्ञ तथा विज्ञ जनशक्तिको सीप, अनुभव एवं सम्पर्क सञ्जाल नेपालको विकास र उन्नयनमा उपयोग गर्नका लागि नीतिगत व्यवस्था गरी एक संयन्त्र स्थापना गर्न नेपाल सरकारलाई  आहृवान पनि गरेको छ । समापन कार्यक्रममा एनआरएनएका केन्द्रीय उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेमराज शर्मा, दक्षिण कोरियाका डा. देवी बस्नेतलगायतले सम्मेलन कोरोनामा जनचेतना जगाउन उपयोगी भएको बताउनुभएको थियो भने पत्रकार भगीरथ योगी तथा डा. दिनेश ज्ञवालीले घोषणापत्र पढेर सुनाउनुभएको थियो । शुक्रबारदेखि विभिन्न सत्रहरू सञ्चालित र शनिबार लन्डनस्थित नेपाली दूतावासमा औपचारिकरूपमा सुरुवात गरिएको सम्मेलनमा ३० भन्दा बढी कार्यपत्र प्रस्तुत गरिएको र ५० भन्दा बढी कार्यशाला सञ्चालन गरिएको एनआरएनएले जनाएको छ ।

एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले सम्मेलन नेपालबाहिर आयोजना गरिएको  स्वास्थ्यसम्बन्धी सबैभन्दा ठूलो फोरम भएको बताउनुभएको छ । महामारीको बेलामा नेपालीहरूको स्वास्थ्य कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा तीनदिने सम्मेलन केन्द्रित रहेको उहाँको भनाइ छ । सम्मेलनको उद्घाटन बेलायतस्थित नेपाली राजदूत लोकदर्शन रेग्मी तथा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले संयुक्तरूपमा गर्नुभएको  थियो । राज्यमन्त्री श्रेष्ठले कोरोना महामारीको सुरुदेखि नै नेपाल र नेपालीलाई सघाएको भन्दै एनआरएनए तथा विश्वभरका नेपाली चिकित्साकर्मीलाई धन्यवाद दिँदै नेपाल सरकारले जोखिममा रहेका सबै जनतालाई खोप पुर्‍याउने कामलाई सर्वोच्च प्राथमिकता दिएको जानकारी गराउनुभएको थियो ।

नेपालस्थित बेलायती राजदूत निकोल पोलिट, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान् कोइराला,  नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा. मनकुमारी राई, वायल कलेज अफ सर्जन्स एडिनबराका प्राध्यापक माइकेल ग्रिफिन, वायल कलेज अफ नर्सिङकी उपाध्यक्ष ट्रेसी बडिंग,  सेफिल्ड विश्वविद्यालयका प्राध्यापक एन्ड्रयु लि, सम्मेलनको सहआयोजक एनआरएनए एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरलगायतले सम्मेलनमा शुभकामना सन्देश दिनुभएको थियो । सम्मेलनको वैज्ञानिक समितिका अध्यक्ष प्रा. पदम सिंखडा तथा डा. बोधराज सुवेदीले सम्मेलनको कार्यक्रम पुस्तिका सार्वजनिक गर्नुभएको थियो । सम्मेलनले चौथो विश्व स्वास्थ्य सम्मेलन अस्ट्रेलियामा गर्ने निर्णयसमेत गरेको छ ।


Top