एनआरएनए अध्यक्षमा रविनाको उम्मेद्वारी

हिमालय टाइम्स   POSTED ON : आश्विन ८, २०७८ (५:५६ AM)

एनआरएनए अध्यक्षमा रविनाको उम्मेद्वारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अध्यक्षमा रविना थापाले उम्मेद्वारी घोषणा गर्नुभएको छ । नागरिकता, श्रमिक अधिकार र मताधिकारको अधिकार मुख्य एजेन्डासहित उहाँले बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गरी उम्मेद्वारी घोषणा गर्नुभएको हो । हाल एनआरएनएको उपाध्यक्ष रहनुभएकी थापासँगै उपाध्यक्षमा बेलायतका जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले समेत उम्मेद्वारी घोषणा गर्नुभएको छ । 

थापा एनआरएनएमा अध्यक्षमा उम्मेद्वारी दिने दोस्रो महिला हुनुहुन्छ । उहाँले गैरआवासीय नागरिकता, श्रमिक अधिकार, लगानी र युवा तथा महिलाको सशक्तीकरणमा आफ्नो मुख्य एजेन्डा रहेको बताउनुभयो । थापाले वर्तमान कार्यसमितिमा एनआरएनएका सबै सदस्यले नेतृत्व चुन्न पाउनुपर्ने माग गरे पनि अल्पमतमा पारिएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘एनआरएनएमा हाल  एक लाख पाँच हजार सदस्य छन्, उनीहरू सबैले नेतृत्व चयनमा मतदान गर्न पाउनुपर्छ, अब निर्वाचित हुने मेरो नेतृत्वले सबैलाई मतदानको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ थापाले पहिलोपटक एनआरएनएको अध्यक्ष महिलालाई निर्वाचित गराउन अपिलसमेत गर्नुभएको छ ।  

उहाँसहित उहाँको समूहमा रहेका अधिकारी र गुरुङले वैदेशिक रोजगारीमा जानेका लागि उनीहरूको हित र भूतपूर्व गोर्खा सैनिकको अधिकारमा काम गर्ने बताउनुभयो । उम्मेद्वारी घोषणा गर्ने थापा र गुरुङले विदेशमा रहेका दोस्रो पुस्तालाई नेपालको कला संस्कृति, धर्म, आर्थिक क्रियाकलाप, प्रविधि, लगानी, ज्ञानलाई नेपालसँग निरन्तर जोडिरहन नागरिकताको विषयमा सबै गैरआवासीय नेपालीले आवाज उठाउनुपर्ने बताउनुभयो । 


Top