स्मार्ट सिटीको अवधारणा र बहस

  POSTED ON : मंसिर ५, २०७४ (७:२१ AM)

स्मार्ट सिटीको अवधारणा र बहस

रूपनारायण खतिवडा

पछिल्ला वर्षमा ‘स्मार्ट सिटी’ शब्दको प्रयोग बढ्दो क्रममा रहेको छ । राजनीतिक नेतृत्वदेखि सर्वसाधारणसम्मले यो शब्दको प्रयोग गर्ने गरेका छन् । सुन्दा र प्रयोग गर्दा आनन्द लाग्ने शब्द भए पनि एकातिर स्मार्ट सिटीको अर्थ, अवधारणा र उपादेयताका बारेमा आम मानिसको बुझाइको स्तर न्यून रहेको छ भने अर्कोतिर, यस विषयमा सर्वस्वीकार्य रूपमा ठोस जानकारी प्रवाह भएको पनि पाइँदैन । तथापि, स्मार्ट सिटीको सन्दर्भले सरकारको वार्षिक बजेटदेखि निर्वाचनमा होमिएका राजनीतिक दलका घोषणापत्रहरूसम्ममा स्थान पाएको र बहस एवं चर्चाको विषय बन्ने गरेको छ । 

अस्तव्यस्त शहरहरूलाई स्मार्ट बनाउने विषय आम नागरिकहरूको चाहनाको विषय पनि हो । तर, यसलाई चुनावी प्रचारप्रसार र सस्तो लोकप्रियताको विषय बनाएर मात्रै स्मार्ट युगमा प्रवेश गर्न सकिन्न । यद्यपि, राजनीतिक नेतृत्वले स्मार्ट सिटी निर्माण गर्ने भिजन अघि सार्नु देशवासीहरूका लागि खुसीको विषय नै हो ।


आसन्न संघ र प्रदेशसभाको निर्वाचनका लागि अघि सारिएका प्रमुख दलका घोषणापत्रहरूमा पनि स्मार्ट सिटी विकास गर्ने विषय प्राथमिकताका साथ समेटिएको छ । बाम गठबन्धनको घोषणापत्रमा प्रदेशका केन्द्र घोषित भएपछि सम्बन्धित प्रदेश सदरमुकामहरूमा स्मार्ट सिटीको अवधारणाअनुरूप अत्याधुनिक शहर विकास गरिने उल्लेख छ । यसका साथै स्थानीय तहका सभाहरूले तोकेका स्थानमा स्मार्ट सिटी विकास गर्ने, मस्र्याङ्दी उपत्यका, अरुण उपत्यका, ईलाम, दामन, वालिंग, लुम्बिनी, जुम्ला, डडेल्धुरालगायतका स्थानमा आधुनिक नयाँ शहर र शहरका केन्द्रमा स्मार्ट सिटी विकास गरिने पनि बाम गठबन्धनले घोषणा गरेको छ । नेपाली कांग्रेसको घोषणापत्रमा पनि विशेष पहिचानसहितका स्मार्ट शहरहरू विकसित गरिने उल्लेख छ । यसै मेसोमा यो लेखमा स्मार्ट सिटीको अवधारणा र सूचकहरूका बारेमा चर्चा गर्ने जमर्को गरिएको छ ।

सामान्य अर्थमा हेर्दा स्मार्ट सिटीको अवधारणा सूचना प्रविधिको तीब्रतर विकाससँगै जोडिएको अवधारणा हो । शहरी क्षेत्रको विकासका लाभहरू र सार्वजनिक सेवा सुविधालाई सूचना प्रविधिसँग संयोजन गरी उपलब्ध गराइने तथा यसबाट नागरिकहरूको गुणात्मक जीवनयापन सहज हुने अवस्थाको परिकल्पनालाई स्मार्ट सिटीको अवधारणाका रूपमा लिन सकिन्छ । अत्याधुनिक प्रविधिको उपयोगमार्फत सरकार र नागरिकको सम्बन्धमा सुमधुरता, सहभागिता एवं कुशलता अभिवृद्धि गर्दै शासकीय लाभ एवं सेवा सुविधालाई सहज, सुलभ र किफायतीरूपमा नागरिकसम्म पु¥याउने अभिष्ट स्मार्ट सिटीको अवधारणाले राखेको पाइन्छ । अभ्यास र प्रयोगका हिसाबले स्मार्ट सिटीको मापदण्ड र स्तर मुलुक विशेषमा पृथक रहेको पाइन्छ । युरोपियन देशमा अपनाइएको स्तर र छिमेकी मुलुक भारतले अपनाएको स्मार्ट सिटीको स्तरमा व्यापक फरक रहेको पाइन्छ । यसरी हेर्दा, स्मार्ट सिटी के हो भन्ने विषयमा सर्वसम्मत परिभाषा र सर्वस्वीकार्य मापदण्ड रहेको छैन । यहीकारण, संयुक्त राष्ट्रसंघअन्तर्गतको आर्थिक सामाजिक परिषदले समेत यस विषयमा सर्वस्वीकार्य परिभाषा नरहेको उल्लेख गरेको छ । यद्यपि, विकासको स्तर र सामाजिक आर्थिक अवस्थाका आधारमा मुलुक विशेषले स्मार्ट शहरको परिकल्पना, कार्यान्वयन र अभ्यास गर्दै आएको पाइन्छ ।

पछिल्ला वर्षहरूमा छिमेकी मुलुक भारतमा स्मार्ट सिटी विकास गर्ने लहरले व्यापकता पाएको छ । भारतको व्यावहारिक प्रयोगलाई हेर्दा यस्ता सिटीमा निश्चित मापदण्डहरूको अवलम्बन गरिएको छ । हाल विकास गरिएका स्मार्ट सिटीमा चौबीसै घण्टा विद्युत र खानेपानीको उपलब्धता, नवीकरणीय ऊर्जाको प्रयोग, फोहोर पानीलाई सफा गरी पुनः प्रयोग गर्ने व्यवस्था, आकाशे पानीको उपयोग गर्ने व्यवस्था, आधुनिक ढलहरू, पैदलयात्रुहरूका लागि सडकपेटीको व्यवस्था, वातावरणमैत्री सवारीसाधनलाई प्रोत्साहन, शहरभित्र हरियाली र खुल्ला ठाउँको व्यवस्था, आधुनिक प्रविधिमा आधारित सडक बत्तीहरूजस्ता पूर्वाधारहरू रहनुपर्ने मापदण्ड रहेको छ । यसखालका प्रावधान लागू गर्दा आधुनिक सूचना प्रविधि र सफ्टवेयरहरू प्रयोग गरी कम खर्चमा गुणस्तरीय सेवाको प्रयास भारत सरकारले गरिरहेको पाइन्छ ।

नेपालको सन्दर्भमा सरकारी तवरबाट राष्ट्रिय योजना आयोगले २०७३ सालमै स्मार्ट सिटीसम्बन्धी अवधारणापत्र तर्जुमा गरी सार्वजनिक गरेको पाइन्छ । उक्त अवधारणापत्रमा सूचना प्रविधिको कुशल प्रयोगमार्फत सार्वजनिक सेवाप्रवाहमा जनताको पहुँचयुक्त सहभागिता र दिगो वातावरणीय अवस्थाको सुनिश्चिततासहित शहरवासीहरूको गुणात्मक जीवन कायम भएको अनुकरणीय शहरलाई स्मार्ट सिटीको रूपमा चिनाइएको छ । अंग्रेजी शब्द स्मार्टमा प्रयोग भएका अक्षरहरूको अर्थमार्फत यसलाई थप चिनाउन खोजिएको छ । जसमा, ‘एस’ को अर्थ सस्टेनेबल अर्थात सेवासुविधा र वातावरणीय अवस्थाको दिगोपन, ‘एम’ को अर्थ मिजरेबल अर्थात्, मापन गर्न सकिने उपलब्ध सेवासुविधा, ‘ए’ को अर्थ एक्सिसेबल अर्थात, सेवासुविधामा आम नागरिकको समावेशी र समन्यायिक पहुँच, ‘आर’ को अर्थ रिप्लिकेबल अर्थात् अनुसरण गर्न लायक विशेषतायुक्त शहर तथा ‘टी’ को अर्थ प्रविधि या प्राविधिक विकासको उच्चतम प्रयोग भएको शहरका रूपमा स्मार्ट सिटीलाई लिन सकिने उल्लेख छ ।

स्मार्ट सिटीसम्बन्धी अवधारणापत्रमा यस्तो सिटीका आधारभूत विशेषताहरूको समेत चर्चा गरिएको छ । मूलभूतरूपमा स्मार्ट जनता, स्मार्ट शासन, स्मार्ट पूर्वाधार र स्मार्ट अर्थव्यवस्थालाई स्मार्ट सिटीका अवयवको रूपमा चित्रण गरिएको छ । स्मार्ट जनताअन्तर्गत शहरी विकासका उपलब्धिहरूको प्रयोग गर्दै समावेशी समाजको सिद्धान्तलाई उपयोग गर्ने शिक्षित, स्वस्थ, सिर्जनशील र सुरक्षित नागरिक, इन्टरनेटलगायत आधुनिक सूचना प्रविधिको सदुपयोग गर्दै सार्वजनिक सेवाको उपयोग गर्न सक्षम जनता, उच्च साक्षरता दर, स्वास्थ्य बीमाको सुविधा, सचेत र सिर्जनशील नागरिकहरूको बाहुल्यता, आपराधिक क्रियाकलापको न्यूनताजस्ता सूचकहरू रहेका छन् । नागरिकहरूको मागसापेक्ष सुमधुर संवादका साथ डिजिटल प्रविधिको प्रयोग भएको ई–शासनमार्फत प्रशासनिक अभ्यास गर्नुलाई स्मार्ट शासनका रूपमा अथ्र्याइएको छ । 

स्मार्ट शासनअन्तर्गत सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको उपयोग भई ई–गर्भनेन्सको अभ्यास भएको, सूचना प्रविधिका लागि पर्याप्त पूर्वाधारको व्यवस्था भएको, अनलाइन सेवाहरूको सहज उपलब्धता र पहुँच भएको, सामाजिक, आर्थिक विकासका सन्दर्भमा मौलिक पहिचान भएको र पारदर्शी एवं खुला शहर भएकोजस्ता सूचकहरू रहेका छन् । यसैगरी, नवीन सोच, कार्य कुशलता र उपलब्ध प्रविधिको संयोजनबाट रोजगारीको सिर्जनासहित उत्पादकत्व वृद्धि गर्दै दिगो विकासमा ऊर्जा दिनसक्ने अर्थव्यवस्थालाई स्मार्ट शहरको स्मार्ट अर्थव्यवस्थाका रूपमा चिनाइएको छ । यसअन्तर्गत उद्योग व्यवसाय सञ्चालन र नियमनसम्बन्धी सेवामा सूचना प्रविधिको संयोजनसहितको उद्यमशीलता, रोजगारीको पर्याप्त अवसर, हरित व्यवसाय लगायतका सूचकहरू रहेका छन् । 

यसैगरी, शहरी क्षेत्रमा विद्यमान प्राकृतिक वातावरण र यसको दिगोपनालाई ध्यानमा राखेर शहरवासी नागरिकहरूलाई सेवासुविधा पु¥याउन भौतिक, सामाजिक, हरित र सुरक्षा व्यवस्थापन सम्बद्ध पूर्वाधारहरूको विकास गर्नुलाई स्मार्ट पूर्वाधारअन्तर्गत समेटिएको छ । भरपर्दो, किफायती र सुरक्षित तवरबाट आवतजावत गर्न सकिने किसिमको सडक, सवारीसाधन र यातायात प्रणालीयुक्त यातायात पूर्वाधार, नवीकरणीय ऊर्जाको प्रचुर प्रयोगसहित ऊर्जाको सहज उपलब्धता, योजनाबद्ध रूपमा निर्माण गरिएका आवास र भवन जस्ता सूचकहरू यसअन्र्तगत रहेका छन् । 

यसैगरी, खानेपानी, टेलिफोन, ढलनिकासलगायत शहरी सेवासुविधा सम्बद्ध सुदृढ पूर्वाधार, अस्पताल, टेलिमेडिसिन सेवा, विद्यालय र विश्वविद्यालय, सार्वजनिक शौचालय, दिशामुक्त क्षेत्र, सार्वजनिक पुस्तकालयलगायतका सामाजिक पूर्वाधार, खुला क्षेत्र, हरियाली क्षेत्र, वन क्षेत्र, पार्क, पोखरीलगायतका हरित पूर्वाधार, सुरक्षासम्बन्धी एप्स, पर्याप्त सुरक्षाकर्मी, विपद पूर्वतयारीको सुदृढ योजनालगायतका सुरक्षा पूर्वाधारजस्ता पूर्वाधारहरू पनि स्मार्ट पूर्वाधारका सूचकका रूपमा रहेका छन् ।

यसरी हेर्दा, स्मार्ट सिटी हुनका लागि शहरी पूर्वाधार र शहरी सेवासुविधाको पर्याप्त उपलब्धता एवं आम शहरवासीहरूमा त्यसको सहज पहुँचका लागि सूचना प्रविधिको पनि उत्तिकै विकास भएको शहर बन्नुपर्ने हुन्छ । सेवा सुविधाको उपभोग गर्ने आम नागरिकदेखि त्यसको बन्दोबस्त गर्ने शासन प्रणालीसम्म स्मार्ट रहनुपर्ने हुन्छ । व्यवस्थित, पूर्वाधारयुक्त, योजनाबद्ध, वातावरणमैत्री र प्रविधियुक्त शहर स्मार्ट सिटीको आधारभूत अवयवभित्रै पर्ने देखिन्छ । यी सबै सूचक र अवधारणाको हिसाबले हाम्रा शहरहरूको वर्तमान अवस्थालाई विश्लेषण गर्ने हो भने स्मार्ट सिटीको विकास राजनीतिक वृत्तले घोषणा गरेजस्तो सहजरूपमा गर्नसकिने देखिँंदैन । हिलो, धुलो र मानिसको ज्यानै जानेसम्मका खाल्डाखुल्डी भएका सडक, बाहिर फोहोर निस्किएर दुर्गन्धित हुने अव्यवस्थित ढल, शहरभरि यत्रतत्र झुण्डिएका अस्तव्यस्त तारहरू, पानी नआउने धारा र लोडसेडिङयुक्त दैनिकी वर्तमान शहरी जीवनका पर्याय बनिरहेका छन् । 

सूचना प्रविधिको क्षेत्रमा केही मात्रामा विकास, विस्तार भइरहे तापनि सार्वजनिक सेवाप्रवाहका सन्दर्भमा प्रविधिको उपयोग न्यून रहेको र दिगोपन कायम गर्न नसकिएको अवस्था छ । उच्च प्रदूषित वातावरण, दिनरात लाइन बसेर कष्टसाथ उपभोग गर्नुपर्ने सार्वजनिक सेवाप्रवाहको स्तर, अव्यवस्थित शहरीकरण, खुला ठाउँ, पार्क र खेलमैदानको अभाव, जनसंख्याको बढ्दो चाप र उच्च जनघनत्वजस्ता यथार्थहरूले पनि स्मार्ट सिटीको अवधारणालाई गिज्याइरहेका छन् ।

कार्यरूपमा उतार्न सक्ने हो भने स्मार्ट सिटीको विकास देश र शहरहरूको वर्तमान आवश्यकता हो । अस्तव्यस्त शहरहरूलाई स्मार्ट बनाउने विषय आम नागरिकहरूको चाहनाको विषय पनि हो । तर, यसलाई चुनावी प्रचारप्रसार र सस्तो लोकप्रियताको विषय बनाएर मात्रै स्मार्ट युगमा प्रवेश गर्न सकिन्न । यद्यपि, राजनीतिक नेतृत्वले स्मार्ट सिटी निर्माण गर्ने भिजन अघिसार्नु देशवासीहरूका लागि खुसीको विषय नै हो । घोषणापत्र र सरकारी दस्तावेजहरूमा उल्लेख भएको स्मार्ट सिटीको मान्यतालाई साकार बनाउन सक्नुमै यो खुशीले सार्थकता पाउनसक्ने अवस्था रहन्छ । ठूलो आकारको संगठित प्रयास, ठूलो आयतनको लगानी र केही समयको निरन्तरतासहित राज्यशक्ति अग्रसर हुने तथा सरोकारवालाहरूको सहभागिता जुटाउन सक्ने हो भने स्मार्ट सिटीको सपनालाई यथार्थमा बदल्न सक्ने सम्भावना भने देखिन्छ ।


Top