15th August | 2020 | Saturday | 8:23:03 AM

सौन्दर्य क्षेत्रमा दुर्गाको कौशल

गीता अधिकारी   POSTED ON : श्रावण १७, २०७७ (६:४० AM)

सौन्दर्य क्षेत्रमा दुर्गाको कौशल

चिटिक्क र सुन्दर देखिने हरकोहीको चाहना र इच्छा हुन्छ । फेरि चाहना र इच्छालेमात्र सुन्दर हुन सकिँदैन । पछिल्लो समय सुन्दरताप्रति आकर्षणको सचेतता बढेको पाइन्छ । सौन्दर्य स्वयंहितका लागि त हुँदै हुन्छ अरूका लागि पनि लाभदायक हुन्छ । सुन्दर व्यक्तित्वले धेरैलाई प्रभाव पार्छ । आफूसँग सौन्दर्यसम्बन्धी सामान भएरमात्र हुँदैन, त्यसको सही प्रयोग त्यतिकै जरुरी हुन्छ । अनादिकालदेखि आजका दिनसम्म सौन्दर्यका विषयमा मानिसहरूको लगाव हुँदैआएको छ । भएको सुन्दरतामा अझ निखार ल्याउने काम सौन्दर्यविद्हरूले गर्ने गर्छन् । कला क्षेत्रमा होस् या अन्य क्षेत्रमा सौन्दर्यविद्को पछिल्लो समय राम्रै माग हुनेगर्छ । 

नेपालमा पछिल्लो समय सौन्दर्यसम्बन्धी पढेर बुझेर धेरै जनिशक्ति होमिएको छ । यस्तैमा लामो समयदेखि यो क्षेत्रमा लागि परिरहनुभएको नाम हो दुर्गा विष्ट । उहाँको नाम यो क्षेत्रमा अग्र पंक्तिमा आउने गर्छ । आजको दिनसम्म पुग्न उहाँले यस क्षेत्रमा धेरै पसिना बगाउनुभएको छ र त उहाँ आफ्नो प्रगतिको चमत्कार देखाइरहनु भएको छ । दुर्गाले दर्जनांै वृत्तचित्र, म्युजिक भिडियो, टेलिचलचित्र तथा ठूलो पर्दाका चलचित्रमा आफ्नो कला देखाउनु भएको छ । 

मोरङ जिल्लाको तत्कालीन बयरबन गाउँ विकास समिति वडा नं. ३ मा खम्बसिंह विष्ट र नरमायाका ६ छोरी तथा १ छोरामध्ये पाँचौं सन्तानको रूपमा दुर्गाको जन्म विक्रम सम्वत् २०४८ कात्तिक २० गते भएको हो । सानैबाट दुर्गाको सोच पृथक थियो । बाल्यकालबाटै सेवाभावले ओतप्रोत, कर्तव्यप्रति जागरुक दुर्र्गा सानो उमेरदेखि सौन्दर्यमा विशेष ध्यान दिने गर्नुहुन्थ्यो । उहाँले त्यतिबेलै आफ्नो भविष्यको गन्तव्य पहिल्याउन थाल्नुभएको थियो– जतिबेला उहाँ भर्खरै ६÷७ वर्षकी हुनुहुन्थ्यो । 

‘म सानैदेखि साथीहरूको तुलनामा थप आकर्षक बन्थेँ । घर बस्दा होस् या स्कुल जाँदा वा बाहिरफेर कतै निस्कँदा नै किन नहोस्– आफूलाई फरक देखाउन चाहन्थेँ । त्यसैले शरीरसुहाउँदो कपडा लगाउनेमात्रै होइन– त्यहीअनुसार मिल्दो शृंगार गर्दथेँ’ दुर्गा आफ्नो बाल्यकाल स्मरण गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘यस अर्थमा साथीभाइ, छरछिमेक, विद्यालय सबैतिर मेरो पहिरन अनि सौन्दर्यको चर्चा र प्रशंसा हुन्थ्यो ।’ हुन पनि त्यतिबेलादेखि अहिलेसम्म उहाँको त्यो विशेषतामा क्रमभंग भएको छैन, बरू थप परिमार्जित भएको छ । 

एसएलसी पास भएसँगै दुर्गा सौन्दर्यकलाको क्षेत्रमा जोडिनुभयो– मेकअप आर्टसम्बन्धी तालिममार्फत । उहाँको एकातिर उच्च शिक्षा अध्ययनका लागि ललितपुरको बालकुमारीमा अवस्थित माइलस्टोन कलेजमा भर्ना हुनुभयो भने अर्कातिर थापाथलीमा मेकअप आर्टको प्रशिक्षण लिन थाल्नुभयो । सानैदेखिको सपना साकार हुने र लक्ष्यमा पनि पुग्ने मार्ग पहिल्याएँ भन्ने महसुस हुन थाल्यो । त्यहाँ दुर्गाले बेसिक, डिप्लोमा (एडभान्स) र स्पेशल गरी एकवर्षे प्रशिक्षण लिनुभयो । यससँगै उहाँले थापाथलीमै कस्मेटिक पसल सञ्चालन गर्नुभयो ।

काठमाडौंमा सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरेपछि दुर्गा पोखरा जानुभयो । त्यहाँ उहाँले थप ६ महिना मेकअपसम्बन्धी प्रशिक्षण लिनुभयो । यससँगै सभागृह चोकमा मेकअप स्टुडियो सञ्चालन गर्नुभयो । यो क्रम ४ वर्षजति चल्यो । त्यसपछि दुर्गा पुनः काठमाडौं फर्किनुभयो । त्यसपछि दुर्गाले काठमाडौंको मैतिदेवीमा मेकअप स्टुडियो, पर्फेक्ट मिडिया एकेडेमी खोल्नुभयो । यसैगरी क्रमशः उहाँले डिवाइटी टिभी र कान्तिपुर मोडल एजेन्सी पनि सञ्चालनमा ल्याउनुभयो, जुन हाल चर्चित छन् । यसबाट राम्रै आम्दानी हुने दुर्गाको दाबी छ । सौन्दर्य क्षेत्रमा लागेको यो १२÷१३ वर्षको अवधिमा उहाँका प्रशिक्षार्थीसमेत ५ सयभन्दा बढी भइसकेका छन् ।

सौन्दर्य कलाप्रति निरन्तर चनाखो उहाँ विभिन्न सामाजिक राष्ट्रिय÷अन्तर्राष्ट्रिय संस्थामा आबद्ध हुनुहुन्छ । यस्तैै सक्रियताले गर्दा दर्जनांै उपाधिसहित विभिन्न अवार्ड तथा पुरस्कारबाट सम्मानित हुनुभएकी दुर्गा सौन्दर्य प्रतियोगितामा निर्णयकको भूमिका निर्वाह गर्दै आउनुभएको छ । यस क्षेत्रमा रहेर धेरैलाई सिँगार्नु भएकी दुर्गा आफ्ना विभिन्न कम्पनीबाट प्राप्त मुनाफाको केही प्रतिशत रकम समाजसेवामा खर्चिने गर्नुहुन्छ । ‘जिन्दगीमा मैले धेरै संघर्ष गरेँ । 

अनाथालयका वृद्धवृद्धा, बालबालिका, गरिब, जेहेन्दारलाई केही गरौं भन्ने भावना जाग्छ’ दुर्गा भन्नुहुन्छ ‘हाम्रो सानो सहयोगले कसैको भविष्य बन्छ भने किन नगर्ने ? सबैले यसैगरी अलिअलि सहयोग गरे त धेरै भइहाल्छ नि । अनि सहयोग गर्न पाउँदा मन आनन्दित हुन्छ ।’ उहाँले सामाजिक सेवामार्फत धरैलाई राहत पु¥याउनु भएको छ । 

नेपाली कला क्षेत्रमा मेकअप आर्टिष्टमा पछिल्लो समयमा महिलाहरूको माग रहेको बताउने दुर्गा आर्टिष्टलाई महिला भयो भने सजिलो हुँदो रहेछ भन्नुहुन्छ । ‘धेरै कुरा आफूमा भर पर्छ, महिला भएकै कारण विभिन्न अप्ठ्यारो आउनु र पुरुष भएका कारण सजिलो हुन्छ भन्ने होइन, त्यो कुरा आफू कस्तो छु भन्ने कुरामा निर्भर गर्छ’, उहाँको बुझाइ छ । ‘यो क्षेत्रमा पारिश्रमिक राम्रै छ । यो क्षेत्रमा लागेर राम्रै गरेकी छु मैले’ उहाँ भन्नुहुन्छ । 

यो क्षेत्रमा आउन चाहनेहरूका लागि आफूले मिहिनेत गर्नसक्छु भनेर सिकेर आउनुहोस् भन्नुहुन्छ दुर्गा । ‘राम्रो दिन सक्नुपर्छ, राम्रो छ भन्न चाहन्छु नयाँ आउनेहरूलाई’, उहाँ सल्लाह दिनुहुन्छ । 

आफैंमा पनि चिटिक्क देखिने हँसिली, रसिली र अत्यन्तै फरासिली दुर्गा आफ्नो लक्ष्य प्राप्तिको निम्ति आफैंभित्रको आत्मिक आवाजलाई सुन्न सक्नुपर्छ भन्नुहुन्छ । मन र दिमाग दुवैको तालमेल मिलाई सोचेर निष्कर्ष निकाल्दै स्वयं आफैंदेखि अभिप्रेरित र निर्देशित हुँदै जाने क्रमले आज आफू यो स्थान चुम्न सफल भएको बताउँनुहुन्छ । सौन्दर्यसम्बन्धी नै अध्ययनशील र नयाँनयाँ काम गर्न रुचाउने दुर्गा यही क्षेत्रमा अझ अग्रगामी सोचका साथ अघि बढ्ने सोच रहेको बताउनुहुन्छ । 

जुन काम जस्तोसुकै साह्रो गाह्रो किन नहोस् हामीले प्रयास जारी राख्नुपर्छ । विस्तारै त्यही अप्ठ्यारो काम सजिलो बन्दै जान्छ । दुर्गाबाट हामीले यही प्रेरणा लिन सक्छौं । आआफ्नो रुचि र उद्देश्य फरक–फरक हुनसक्छ तर सफलतालाई प्राप्त गर्ने सूत्र एकै हो भनी बुझ्न जरुरी छ । 


Views: 76