15th August | 2020 | Saturday | 7:30:35 AM

बालकथा : वनभोजमा किशोर

तिलकप्रसाद लुइँटेल   POSTED ON : श्रावण १७, २०७७ (६:४३ AM)

बालकथा : वनभोजमा किशोर

किशोर त्यो बेलामा पाँच कक्षामा पढ्थे । उनका कक्षामा स्वास्थ्य पढाउने गुरुले शरीर सफा राख्न नुहाउनुपर्छ भनेर सिकाउनुभएको थियो । उनी सधैं नुहाउने गर्थे । आमाले सफा लुगा दिनुहुन्थ्यो र उनी लगाउँथे । कक्षाको पढाइमा जे पाठ सिकायो, उनी त्यस्तै गर्दै जान्थे । शिक्षालाई व्यवहारमा उतार्ने उनको स्वभाव थियो । उनको स्वभाव प्रशंसनीय हो । आफूले पढ्ने र सुत्ने कोठा आफैंले सफा गर्नुपर्छ भनेर उनलाई थाहा थियो ।

किशोरले चाउचाउ बिस्कुट जस्ता बजारको तयारी खाजा खान छोडे । त्यस्ता खाने कुराले स्वास्थ्यमा नराम्रो असर गर्छ भन्ने कुरा उनलाई गुरुहरूले बताउनु भएको थियो । खाजा खाँदा खसेका जुठा कुराहरू सबै टिपेर फोहोर फाल्ने गर्दथे । आफूले कक्षा कोठामा खसाएका कागजका टुक्राटुक्री आफैं टिपेर फोहोर फाल्ने डब्बामा हालिदिन्थे । मैले कसैलाई दुःख दिनु हुँदैन भन्ने उनलाई लागेको थियो ।

स्कुल जाँदाआउँदा बाटामा चकलेट खाँदैनथे । कसैले दिएर खाइहाले भने त्यसको खोल आफ्नै झोलामा राख्थे र घरमा ल्याएर फोहोर फाल्ने भाँडामा हाल्थे । चकलेटको खोल झोलामा हालेको देख्ता उनका साथीहरू अचम्म मान्दथे । कोही कोही ‘घरमा गएपछि यो खोल पनि खान्छांै कि ?’ भनेर जिक्याउँथे । उनी कसैसँग धेरै कुरा गर्दैनथे । मुसुक्क मुस्काउँथे मात्रै । उनी अरूका कुराहरू ध्यान दिएर सुन्दथे तर अर्काले नसोधीकन केही भन्दैनथे । 

सबैसँग मिलेर बस्ने हुँदा किशोरलाई साथीहरू सबैले मन पराउँथे । उनले चाहिँदो कुरामात्रै भन्ने हुनाले उनका कुरा सबैले मान्दथे । विद्यालयले विद्यार्थीलाई वनभोज लैजाने तयारी गरेको थियो । किशोर पनि वनभोज जाने नै भए । बिहानै घरबाट निस्किए । धेरैजना साथीहरू सँगै थिए । कोही आफूभन्दा ठूलो कक्षामा पढ्ने दाइदिदीहरू, कोही आफ्नो कक्षाका साथीहरू र कोही आफूभन्दा सानो कक्षाका भाइबहिनीहरू मिलेर गए । गाडीमा कोही गीत गाउने, कोही बाजा बजाउने, कोही थपडी बजाउने र कोही नाच्ने गर्दै थिए । विद्यालयका शिक्षक शिक्षिका विद्यार्थीलाई साथ दिँदै गए । 

वनभोज खाने ठाउँलाई अंगे्रेजीमा पिकनिक स्पोर्ट भन्दछन् । सबैजना पिककिन स्पोर्टमा पुगे । सबै रमाएका थियो । सबैलाई खुसी लागेको थियो । गाडीबाट सामान तल झारे । आआफूले सक्ने काममा सबैले हातअघि सारे । अब वनभोज पकाएर खाने ठाउँको खोजी गर्नमा सबैजना वरपर हेर्न थाले । जता हेरे पनि पहिले वनभोज खाएर गएका मानिसहरूले पारेको फोहोर अलपत्र भएका ठाउँहरू मात्रै भेटिए । धेरै ठाउँ चहारेपछि बल्ल एउटा अलिक अथवा सफा ठाउँ फेला प¥यो । सबैजना लागिमेली गरेर त्यहीँ आफ्ना सामान राखियो । कोही खाने कुरा पकाउन बनाउन लागे । कोही खेल्न थाले, कोही नाचगान गर्न लागे । यसरी नै दिनभरिको समय बित्यो ।

रमाइलोसँग वनभोजको खानपिन गर्ने कम सकियो । पकाएका खाएका भाँडाकुँडा सबैले मिलेर सफा गरे । अब घरतिर फिर्ता आउने बेला भयो । सबैले बिहानको जसरी नै आआफूले सकेको सामान लगेर गाडीमा राख्न सघाए । सबैजना घरआउने तयारीमा लागेका थिए । किशोर गाडीमा चढ्न हतार गर्दै आएनन् । उनी वनभोज खाएकै ठाउँमा के के काम गरिरहेका थिए । वनभोज खाएको ठाउँभन्दा गाडी भएको ठाउँ अलिक परै थियो । प्रष्टै देखिने भए पनि निकै चिच्याएर बोलाउँदामात्रै सुनिन्थ्यो । 

किशोरले वनभोज खाएको ठाउँमा सफा गर्न लागेको सबैले देखे । उनका साथीहरूले उनलाई बोलाए तर उनी आएनन् । सफाइको काममा लागिरहेका थिए । किशोरलाई बोलाएर लैजान भनी उनका साथीहरू फर्केर आए । साथीहरूसँग उनले केही कुरा गरे । त्यसपछि त ती साथीहरू पनि किशोरसँगै वनभोज खाएको ठाउँ सफा गर्न लागे । धेरैजना केटाकेटी अल्मलिएको देखेपछि हेडसर नै उनीहरूलाई बोलाउन आउनुभयो । ‘ए केटाकेटी हो, हिँड अब जानुपर्छ’ सरले भन्नुभयो । ‘यति सफा गरेर जाऊँ भनेको सर, नभए किशोर एक्लै हुन्छ सफा गर्नमा’ सौरभले भन्यो । 

‘किशोर पनि त सँगै जाने हो नि । उसलाई जाऊँ भनेको मैले । उसलाई कसले यहाँ एक्लै छोडेर जान्छ र ? कि यतै बस्छौ त किशोर’ हेडसरले ठट्टा गर्दै भन्नुभयो । ‘म पनि सँगै जाने सर’ किशोरले भने । ‘अनि किन ढिलो गरेका त ? आऊ न, अब जाने’ सरले भन्नुभयो । किशोरले विस्तारै भने—‘बिहान हामीलाई सफा ठाउँ खोज्न कति गाह्रो भएको थियो । बल्लबल्ल यो अलिक सफा ठाउँ भेटियो । हामीले यो फोहोर नै छोड्यौं भने भोलिपर्सि अरू मान्छे आउँदा उनीहरूले सफा ठाउँ पाउँदैनन् ।’

हेडसरले गाडीमा पुगिसकेका सबै मानिसलाई फेरि फिर्ता बोलाउनुभयो र आफैंसमेत लागेर त्यो ठाउँ सफा गर्न लाग्नुभयो । सबैले सफा गर्दा पहिलेभन्दा धेरै सफा भयो । सफाइ गर्दा गर्दै किशोरका सद्गुणको चर्चा भयो । ‘आफूबाट अरू कसैलाई असुविधा हुने काम गर्नु हुँदैन’ भन्ने कुराको निष्कर्ष निस्कियो । 


Views: 67