15th August | 2020 | Saturday | 8:29:27 AM

इनफ इज् इनफ, अति गर्नु अतिसार नगर्नु !

बद्रीप्रसाद दाहाल   POSTED ON : श्रावण १७, २०७७ (६:४५ AM)

इनफ इज् इनफ, अति गर्नु अतिसार नगर्नु !

कोभिड १९ को महाव्याधिको आँधीरूपी कालले नेपाललाई पनि तर्साउन थालिरहेको छ । पाँच दर्जनभन्दा बढी यही व्याधिका कारण कालग्रासमा पुगे भने छ हजारभन्दा बढी संक्रमित अवस्थामै उपचाररत छन् । तर, सरकार सञ्चालक दल भने पार्टी र सरकारी पदीय पगरी गुथ्ने आन्तरिक कलहमा सलह भएर उडिरहेको छ । कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैँ छ । 

स्वास्थ्य सामग्री खरिदमा भएको अस्वाभाविक खर्च, महँगो मूल्य र विवादास्पद भाउ, उपचार क्रममा भएका हेलचेक्र्याइँ, दश अर्बको खर्चको पारदर्शिता, आरडिटीभन्दा पिसीआर परीक्षण गर्नुपर्ने माग राखेर सामाजिक सञ्जालका माध्यमबाट संगठित युवाहरू दुई महिनाअघिदेखि अभियानमा सरिक छन् । यिनै माग सरकारको जाँचको संकुचितताविरुद्ध असी लाख युवाको प्रतिनिधित्व गर्दै देशव्यापी रूपमा स्वतन्त्र युवा समुदाय ‘इनफ इज् इनफ’ अर्थात् अति गर्नु अतिसार नगर्नु आसयको आन्दोलनले ताते । 

हाम्रो नीतिशास्त्रले पनि शासकहरू अक्षम, अपारदर्शी, कुशासक र राम्रो म भन्ने घमण्डका जुरे बन्न हुँदैन भनेको छ । जनपोषणभन्दा जनशोषण राज्य तहबाट हुनु आत्मघाती खेल हो । जनहित गर्न नसक्नु भनेको अराजकतालाई निम्त्याउनु र सरकारको आयुमा विरोधको वायु भिœयाउनु हो । राज्यको संप्रभुताको लगाम समातेर घुस कमिसनको मसानखडा गर्ने लोभी लक्ष्य पिसापकै न्यानु समान हुन्छ । दर्पको सर्प भएर घमण्डलाई श्रीखण्ड सम्झिएर गलत अभिमानलाई स्वाभिमान ठम्याउँदा कैयौं लोकप्रिय शासक इति भएको दृष्टान्त छ । 

कुनै पनि कुराको अतिले समय क्रममा क्षतिलाई निम्ता गर्छ ‘अतिरूपेण वै सीता, अति दर्पेण रावणः । अति दानात् वलिर्बध्यो, अति सर्वत्र वर्जयेत् ।’ अर्थात्् सीता अति रूपवती हुँदा रावणबाट अपहरण हुनु, रावण अति अभिमानले प्रतिभाशाली भए पनि समाप्त हुनु, अति दानीपनले महाबली वलि राजा पाताल धसिनु घोर अतिकै बोर लाग्दो खति हो । अनि नेपालीमा उखान पनि छ । जहाँ अति त्यहाँ खति, अति नभई खति हुँदैन, अतिचार गरेपछि मान्छेले सहन सक्दैन । जो गर्छ अति हुन सक्दैन त्यो पति, अहमत्याइँ लागेपछि आँखा देख्दैन, यस्ता खाले ध्रुव कथन त्यसै सूक्ति र उखान बनेका हुन् र ? यतिखेर बोली र अनुहार हेर्दा शरिफ, बानी बेहोरा भने हरिप जस्तो छ गाँठे यो लवस्तरो दुई तिहाइको ढुलमुले सरकारको ! 

इनफ इज इनफका अभियन्ताहरूले वित्तमन्त्री र सचिव शिशिर ढुंनाविरुद्ध अदुनिआमा उजुरी पनि दिए, सरकारले बाह्र बुँदे सम्झौताको ड्रामा पनि मञ्चन ग¥यो । लेखा समितिले दश अर्बको खर्चविवरण माग गर्दा सम्बन्धित लालेहरू आलेटाले गरिरहेका छन् । ओम्नी समूहले गरेको लुटलाई छुट दिएर तत्काल सेनालाई सुम्पदा पनि उपकरण र ओखतिहरू बजार भाउभन्दा माथि नै देखिन पुग्यो ।

सरकारको हाल विज्ञको सुझावविपरीत लकडाउनको आउलो पूरै खोलिदिनु, पूर्वतयारी शून्य हुनु, गफले मात्र अंकपछि शून्य थप्नु, स्वास्थ्यकर्मीलाई चाहिने पीपीई, एम् ९५ को मुखौटो, मुहार आवरण, नेत्र कवच, आदि दिन विलम्ब गर्नु र उपचारमा खट भन्नुजस्ता कुराहरूले इनफ इज इनफ अभियान शान्तिपूर्ण सडक प्रदर्शनमा लाग्न बाध्य बनेको देखिन्छ । 

कोरोनाजस्तो विश्वभर व्यापक भएको कालको सहोदर भाइलाई हाईहाई गरेर फिष्टो बराबर सम्झने नेपालको अहिलेसम्मको शक्तिशाली भनिएको दुई तिहाइ मत भएको सरकार जनस्वास्थ्यसित दरकारहीन भएकैले आलोचनाले कुरूप भएको छ । प्रमलगायत मन्त्रीहरू सबै विशेषज्ञ डाक्टरलाई उछिनी महाविज्ञ पल्टिएर ठाँटको भाषणमा ढाँट कुरा बर्बराएको निरीह दृश्यले कसको मन रुँदैन र ? त्यसै भएर त सचेत युवा जमातले मानुभक्त नबन्ने भानुभक्तप्रवृत्ति सरकार चालक ब्युँझाउँन ‘इनफ इज् इनफ’ भन्ने सत्याग्रही अभियान आत्मसात गर्नु परेको हो । 

पछिल्लो दशकमा बर्डफ्लु, स्वाइनफ्लु, सार्स इबोला भाइरस, जिका, मर्स, स्क्रप टाइफस, डेंगो र अहिले चीनबाट कोरोना भाइरस विश्वव्यापी रूपमा संक्रमित भइरहेको खतरनाक अवस्थामा पनि जनस्वास्थ्यप्रति असंवेदित बनेर कमिसन र भागबन्डाकै लागि कलह प्रतियोगिता मञ्चन गर्ने घिनलाग्ला राहु, केतु र शनिलाई ‘इनफ इज इनफ’ नभने के भन्ने त ? 

यसका अभियन्ताहरू नेपालका ठूला शहरमा काठमाडौं, विराटनगर, जनकपुर, नेपालगञ्जलगायतका ठाउँमा प्लेकार्ड, ब्यानरसहित मौन रूपमा बालुवाटारदेखि धनगढीसम्मका सडकमा हार लागेर विरोध जनाइरहेका छन् । यतिखेर उनीहरू वसन्तपुरमा बाह्रौं दिनको अनशन पार गरेर आफ्ना बाह्र बुँदे माग पूरा गर्न स्टप आरडिटी, जाँच गर शतप्रतिशत पिसिआर, सुरक्षित क्वारेन्टाइन लागू गर, दश अर्बको हिसाब तुरुन्त देऊ सरकार ! पानीका फोहरा, सुरक्षाकर्मीका प्रताडना सहेर भ्रष्ट सरकारलाई स्पष्ट भनिरहेका छन् इनफ इज इनफ, कति सिम्बोलिक बनेको छ यो मूर्त बिम्ब ? 

असार १५ गतेपछि दिनको दस हजारजनाको पिसिआर गर्ने डंका पिटेको सरकार सत्ताधारी दलभित्रको भागबण्डावादको गोलचक्करमा फस्दै फस्दै फुटको कहालीलाग्दो भीरको डिलमा ताकाताक र हानाहान मञ्चनमा अभ्यस्त भएर प्रण नै बिर्सन पुगेको छ फुस्केको आफ्नो धोती सिहार्दै । धन्य इनफ इज इनफका अभियन्ताहरूको मिहिनेत ! निर्वस्त्र बनेको सत्ताधारी दलको चरित्र र अकर्मण्य कार्यकारीको अतिवादी पराकाष्ठामा पुगेको गलत हर्कतविरुद्ध आबाज बुलन्द होस् इनफ इज इनफ ! जो जो अति गर्छ त्यस्ता पति ढल्छन्, गल्छन् अनि समयक्रमले सकिन्छन् । इति ।


Views: 286