13th August | 2020 | Thursday | 2:26:06 AM

स्मृतिबिम्बमा मोहन कोइराला

डा. नारायण चालिसे   POSTED ON : श्रावण १७, २०७७ (६:५० AM)

स्मृतिबिम्बमा मोहन कोइराला

यो, त्यो मौसम हो कि होइन त्यति थाहा छैन तर मलाई किन हो किन नेपाली साहित्य जगत्का एकजना विशिष्ट स्रष्टालाई सम्झिन मन लागेको छ । अर्थात् मोहन कोइरालालाई आजको विषय बनाइरहँदा केही विशेष घटनाहरू मेरो मस्तिष्कमा आएका छन् । साहित्यको पाठक, बाल र वयस्क हुँदै यो प्रौढ समयसम्म आइपुग्दा मनमा गढेर रहेका र केही बिझाएर बसेका त्यस्ता केही विशिष्ट घटनाहरूले बेलाबखत छोइरहन्छन् । मोहन कोइराला पनि त्यस्तै बिम्ब हुन् जो बालवयदेखि नै मनमा बसिरहेका थिए र छन् तर समयले सबैलाई बिर्संदो रहेछ ढिलोचाँडो । मैले पनि पहिलाजस्तो सम्झेको छैन । निश्चय पनि सबै मानिसलाई सबैले सधैँ सम्झिरहन सकिँदैन । तर, सर्वथा बिर्सनु भनेको पनि उनीहरूप्रतिको अन्याय हो भन्ने लाग्छ । 

समकालीन नेपाली कविताको प्रयोगवादी धाराका प्रवर्तक, सशक्त कवि कोइराला असाधारण ज्ञान र कवित्व क्षमता भएका कवि हुन् । उनका कविता मैले कहिल्यै राम्ररी बुझ्न सकिन तापनि कहिल्यै उनलाई पछ्याउन छोडिन । सायद मैलेजस्तै कोइरालाका कविता नबुझ्नेको संख्या धेरै नै होला । तर, आश्चर्य त्यतिविघ्न जटिल कविता लेखेर पनि एउटा युगलाई नै नेतृत्व गर्ने वा प्रयोगवादजस्तो सशक्त कविताधारालाई नेपाली साहित्यमा स्थापित गर्ने श्रेय मोहन कोइरालालाई प्राप्त भएको छ । 

साहित्य भनेको परम्परागत सरल लेखनभन्दा पृथक्, केही जटिल हुनुपर्छ भन्ने मान्यतालाई कोइरालाका कविता काव्यले समर्थन गर्छन् । उनी जति जटिल कविता लेख्थे र त्यत्तिकै सरल पनि थिए भन्ने कुरा हिजो मोहन कोइरालालाई नजिकबाट चिन्ने पुरानो पुस्ताबाहेक अबको पछिल्लो पुस्तालाई थाहा नहुन सक्छ । त्यसो त कुनै दिन मोहन कोइराला वा अन्य कुनै स्थापित साहित्यस्रष्टा पनि अपरिचित हुनु नौलो कुरा होइन तापनि एउटा युगलाई नै सजिलै बिर्सँदै जाने परम्परा स्थापित हुने हो भने हामीले हाम्रो गौरवमय इतिहासमाथि नै अन्याय गरेको हुनसक्छ ।

हामीले जटिल बिम्बात्मक कविता लेख्ने कवि पनि उत्तिकै जटिल थिए होलान् भन्ने ठान्यौं भने त्यो बुझाइ गलत हुनेछ । हो, उनीसँग एकछिन बसेपछि लाग्थ्यो ती जटिल कविता के यिनै सजिला कविले नै लेखेका हुन् त ? कहीँ कतैबाट पनि उनी जटिल लाग्दैलाग्दैनथे । मोहन कोइराला भनेको सरल कवि अनि जटिल कविता हो भनेर बुझियो भने फरक पर्दैन ।

कुरा केही वर्ष पुरानो हो तर पुरानो भइकन प्रिय लागेकैले अहिलेसम्म सम्झनामा छ । हामी लोकतान्त्रिक स्रष्टाहरूको साझा प्रयासमा दाङमा लेखक संघ दाङ नामको साहित्यिक संस्था गठन गरेर आफ्ना साहित्यक गतिविधिहरू सञ्चालन गर्न खोजिरहेका थियौँ । सोही अभियानअनुरूप २०५२ साल फगुन ७ गतेका दिन हामीले हाम्रो संस्थाको विधिवत् समुद्घाटन ग¥यौं सम्मानित स्रष्टा कवि मोहन कोइरालाको हातबाट । हाम्रो निमन्त्रणामा प्रजातान्त्रिक स्रष्टा कोइराला र युवा जुझारु कवि विनय रावल हाम्रा साहित्यिक पाहुना बनेर दाङ जानुभयो । नेपाली साहित्यको प्रयोगवादी कित्ताका विशिष्ट स्रष्टालाई आफ्ना सामु पाएर हामी खुशी थियौं । 

केन्द्र वा राजधानीलाई सधैं सम्मान गर्ने र आफूलाई तिनका सामु होचै छौं कि भनेर ठान्ने मोफसलको त्यो समयमा सुप्रसिद्ध कवि मोहन कोइरालालाई दाङमा पाउनु हाम्रो निम्ति त्यति साधारण कुरा थिएन । फर्सीको जरा, नीलो मह, सारंगी बोकेको समुद्र, हिमचुली रक्तिम छ, नदी किनाराका माझी, एउटा पपलरको पात, सिमसारका राजदूतजस्ता जटिल कविता एवं काव्यकृतिका स्रष्टा त्यति नै जटिल फोर्न नसकिने ओखरजस्ता होलान् । तिनीसँग कसरी संयोजन गर्न सकिएला भनेर भारी बनेको मन उनीसँग आधाघण्टा बसेपछि केही फेरिएर आयो । उनी त कविताजस्ता जटिल कहाँ हुन् र उनी त कविताको भाव जस्ता भनौं नौनीजस्तै कोमल र सरल पो रहेछन् । 

अनि अर्को अविश्वास खडा भयो ? यिनै हुन् त ती जटिल कविता लेख्ने कवि ? के कवि र कविताका बीचमा यति गहिरो दूरी हुन्छ त ? मानिसले कसरी लेख्छ होला आफ्नो स्वभावभन्दा भिन्न कविता ? लाग्थ्यो जीवनको सरलतालाई विचारमा उभ्याउँदा त्यो रूप जटिल बन्दो हो कि ? वा जीवनका दुःख, अभाव वा अपूर्णताहरू सबैलाई भावले गाँठो पार्दा यस्ता विचार बिम्बहरू निर्माण हुँदा रहेछन् क्यारे ? अनि लाग्यो त्यसैले त साहित्यको पनि यति महत्व भएको होला ? हुन त कवि र कविताको अनुहार, स्वभाव, बानी बेहोरा मिल्नु भनेको के हो ? 

त्यो पनि खुट्याउन मिल्ने कुरा हो कि होइन थाहा छैन । तर, सामान्यतया कविता पढेर कविको जुन बिम्ब पाठकका मनमा उब्जिन्छ त्यो कविको कवितासँग मिल्दो अनुहार हो कि जस्तो लाग्छ मलाई । आफ्नो चरित्रको छाया नपरेको, साहित्य नै सम्भवतः मौलिक साहित्य हो कि जस्तो लाग्छ मलाई । जीवनको रुवावासीलाई लुकाएर साहित्यमा यतिविधि निखरा उभिन सक्नुको सामथ्र्यले नै मोहन कोइराला बन्न सम्भव हुन्छ होला भन्नेजस्तो पनि लाग्यो । साहित्यको परम्परागत परिभाषालाई नै परिवर्तन गर्न बाध्य पारिएको उनको कविता लेखनको अभूतपूर्व सामथ्र्यलाई आफ्नो अगाडि पाउँदाको गौरव अनि ती जटिल लाग्ने कविको परिचय गराउनुपर्ने जिम्मेवारीमा थिएँ म । 

बिए र एमएमा उनलाई पढ्दा जति गाह्रो गरी पढेको थिएँ र त्यति नै गह्रौं मन लिएर उनी बसेको होटलमा गएँ, छोटो संवादको निम्ति । केही पारिवारिक कुरा सोध्नु थियो अनि केही साहित्यिक । मैले पहिला अप्ठ्यारो मानेर उनको पारिवारिक पृष्ठभूमि, औपचारिक योग्यता, पेशा र सेवासम्बन्धी जिज्ञासा राखेँ त्यसपछि साहित्यका कुरा हुने भए ।

सबैको जीवनका केही न केही आफ्ना भन्ने, सुन्ने र सुनाउने पनि हुन्छन् नै । त्यस्तै कोइरालाका पनि रहेछन् भन्ने संकेत त्यहाँ मैले पाएको थिएँ । हुन त मदन पुरस्कार र साझा पुरस्कारजस्ता प्रमुख पुरस्कार पाइसकेका उहाँ नेपाल एकेडेमीजस्तो मुलुकको विशिष्ट संस्थाको सदस्य र केही वर्षपछि उपकुलपति पनि हुनुभयो तैपनि औपचारिक अध्ययन धेरै गर्न नपाउनु, आर्थिक रूपले त्यति सम्पन्न हुन नसक्नु उहाँलाई जीवनमा बिझाइरहने कुरा थिए कि झैँ मलाई लागेको थियो । 

‘तपाइँहरूले ठान्नुभएको होला यो मोहन कोइराला भन्ने कविले त धेरै पढेको होला, ठूलो ठाउँमा काम गर्छ होला अनि धेरै धनी पनि होला तर मैले धेरै पढेको छैन, म धेरै धनी छैन । मैले म्याट्रिकसम्म मात्र पढ्न सकेँ । घरको आर्थिक अवस्था त्यति मजबुत थिएन । हाम्रो पुख्र्यौली थलो सिन्धुली दुम्जा हो । काठमाडौं आएर पनि जीउ पाल्नको निम्ति निकै संघर्ष गर्नुप¥यो । लामो समय मैले यातायात कार्यालयमा सानो तहको जागिर खाएँ । पुख्र्यौली सम्पत्ति बेचेर अनेक गरेर काठमाडौंमा घर बनाउन थालेको कति वर्ष भयो अझै पूरा गर्न सकेको छैन । म मुटुको बिरामी छु । नियमित आम्दानीको बलियो स्रोत छैन ।’ इत्यादि थिए पारिवारिक प्रश्नका उत्तरहरूका सार ।

यस विषयमा कवि कोइरालासँग नजिक रहेर लामो समय बिताएका स्रष्टाहरूलाई अझबढी जानकारी होला । नेपाली साहित्यका धेरै विशिष्ट स्रष्टाहरूसँग संगत गर्ने सौभाग्य पाएका वरिष्ठ कवि विष्णुविभू घिमिरेसँग कवि कोइरालासँगको संगतका बारेमा जिज्ञासा राख्दा उहाँले भन्नुभयो ‘उहाँ ज्यादै गहिरो ज्ञान भएका, सरल स्वभावका अनि विचित्रका मानिस हुनुहुन्थ्यो । जति संगत ग¥यो त्यति नयाँ नयाँ कुराको ज्ञान लिन सकिने अथाह ज्ञान क्षमता भएका कवि हुनुन्थ्यो उहाँ ।’ उहाँका विषयमा कवि श्रवण मुकारुङले केही समय पहिले लेख्नुभएको स्मृतिलेखले यस्तै केही पक्षमा संकेत गरेको थियो र जुन लेख निकै प्रभावकारी थियो ।

अनि सुरु भयो साहित्यिक जिज्ञासा र तिनका उत्तरहरूको क्रम । यति धेरै जटिल कविता लेख्नुको कारण ? कविता लेखनको पृष्ठभूमि, कविता लेखन समयका केही स्मृतिहरू, फर्सीको जरा कवितामा भन्न खोज्नुभएको कुरा ? आदि प्रश्नको सार थियो । अनि उहाँले मुसुक्क हाँस्दै आफ्ना कुरा भन्न थाल्नुभयो, ‘हामी जतिबेला कविता लेख्दैथियौं त्यो बेला नेपाली साहित्यका महान् हस्ती लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण समजस्ता कविहरू हाम्रो सामु अग्लो पहाडजस्तो उभिनुभएको थियो । त्यो बाटो हिँडेर हामी कहिले माथि पुग्ने । 

हामीले उहाँहरूलाई उछिनेर माथि जानसक्ने अवस्था थिएन । हामीले त्यो कल्पना गर्न सक्दैनथ्यौं । उहाँहरूका सामु त हामी भुसुनाजस्तो । कसैले नपत्याउने । त्यो बेला उही प्रकृतिका हाम्रा कविता कसले पढ्ने ? फेरि त्यो पञ्चायतको बिगबिगीको समय पनि थियो । सिधा र सरल भाषामा केही लेख्नै नपाइने । हामी युवाहरूमा प्रजातन्त्रको हुटहुटी चढेको थियो केही नभनी बस्नै नसक्ने । अनि हामीले सोच्यौं हामीहरू दोहोरो मारमा छौं । 

यसरी पनि त कविता गर्न सकिन्छ भनेर हामीले केही भिन्न शैलीमा कविता गर्न थाल्यौं । पाठकले रुचाए । एक प्रकारको हलचल ल्याइदियो तेल्ले । यसरी हाम्रा कविता केही बौद्धिक बनेका हुन् । तर जटिल बनेका होइनन् । मोहन कोइरालाका कविता पढ्छु भनेर पढ्नुभयो भने मेरा कविता बुझिन्छन् जटिल छैनन् । फेरि कविता यसरी मञ्चमा उभिएर सुनाउने कुरा हुँदैहोइन । बसेर गहिरो गरी पढ्ने कुरा हो कविता । 

त्यसैले मैले मञ्चमा कविता पढ्न रुचाउन्न । अर्को कुरा भर्खरै नेपालमा अंग्रेजी भाषा र साहित्यको लहर चलेको थियो । पढेलेखेका हौं भन्नेहरूले र लेखकहरूले फलानो अंग्रेजी कविको फलानो कविता पढेको छस् भनेर चुनौती नै गर्थे । त्यसो हुनाले अंग्रेजीप्रति पनि केही रुचि बढाइयो । हामीलाई पनि त्यो भाषा, शैली र विचारले प्रभाव पारेको समय थियो । त्यसले गर्दा मेरा कवितामा अलिअलि त्यसको प्रभाव परेको छ ।’

उहाँले अत्यन्त सुमधुर, सरल अनि आत्मीय शैलीमा यति कुरा भन्नुभयो । त्यति अग्ला कविको सामु बसेको असजिलो सबै उहाँका मधुर वाणीले मेटाइदिए । मन हलुको पारेर बाहिर आएँ । एउटा ठूलो युद्ध यति सजिलै जितेर फर्किएको उत्साह मनमा थियो । उहाँबाट बिदा भएर बाहिर आएँ तर उहाँले आफ्ना कविता जटिल छैनन् मन लगाएर पढ्नुहोस् बुझिन्छन् भन्नुभए पनि अहिलेसम्म पनि उहाँका कविता राम्ररी बुझ्न सकेको त छैन तापनि उहाँकै मार्ग पछ्याएजस्तो शैलीमा धेरथोर जटिलताको गुण आजसम्म लत बनेर बसेको छ ।

यति भनिरहँदा हिजैदेखि मनमा गढेको कुरा के हो भने त्यति अग्ला मोहन कोइराला पनि सामान्य मानिसजस्तै मानिस थिए । सर्वसाधारण मानिस हुनु र असल मानिस हुनु त उस्तै कुरा पो रहेछ । त्यसैले ठूलो मानिसको बिम्बमा सबैलाई हे¥यौं भने अवश्य हामीलाई मानिसका प्रकारहरूले घोच्नेछन् तर असल मानिस एउटै हुन्छ र त्यो हामीजस्तै मानिस हुन्छ भन्ने कुरा एकपटक फेरि सम्झिन मन लाग्यो । 

असल मानिसले मानिसलाई आफ्नो ठान्न, सुखदुःखका कुरा गर्न, मनका घाउ बिसाउन पनि किञ्चित मान्दैन । कवि कोइरालाले मजस्तो सामान्य युवकलाई पनि झट्ट विश्वास गरेर मलाई आफ्नै सन्तानजस्तो वा परिवारको व्यक्तिजस्तो मानेको कुरा सधैं सम्झनामा आइरहन्छ । केवल एउटा नाता लोकतान्त्रिक हुनुको नाता, प्रजातन्त्रप्रतिको आस्थालाई यति ठूलो भरोसा गरेर उहाँले देखाउनुभएको स्नेह उहाँको लोकतन्त्रप्रतिको निष्ठा र प्रेम हो भन्ने मलाई लागेको छ ।

पछि यहाँ डिल्लीबजार घट्टेकुलो मार्गको घरमा भेटन जाँदा उहाँले दाङमा भन्नुभएको घर पूरा गर्न सकेको छैन भनेको कुरालाई सम्झेर दोहो¥याउनुभयो । ‘हेर्नुहोस् यी अझै घर सम्पन्न गर्न सकेको छैन ।’ नभन्दै सायद तीनतला जतिको फिनिसिङ नभएको घरमा उहाँले हामीलाई लैजानुभयो । उहाँले ज्यादै आदरभावमा हामीलाई स्वागत गर्नुभयो । त्यति अग्लो कविको सरल एवं नम्र व्यवहारले हामी केही खुम्चियौं । 

अझ उहाँले थप्नुभयो ‘मजस्तो सामान्य व्यक्तिलाई महत्व दिएर हजुरहरू उति टाढा दाङदेखि आउनुभयो धेरै खुशी लाग्यो ।’ वास्तवमा उहाँ होइन, उहाँजस्तो विशिष्ट तर सरल कविलाई भेटन पाएर हामी खुसी र गौरवान्वित भएका थियौँ । उहाँको विनम्रताले अग्लिएको हाम्रो उचो शिरको बयान गरिसाध्य छैन । अनि सहित्यकार बीपी कोरालाको विचार उद्धरण गर्न मन लाग्यो ‘ठूला मानिस धेरैथरिका हुन्छन्, असल मानिस एकैथरि मात्र हुन्छन् । ठूलो हुनपट्टि नलाग्नू, असल हुनपट्टि लाग्नू !!!’

Views: 302