25th September | 2020 | Friday | 11:11:17 PM

किन बढ्दैछन् अपराधका घटना ?

हिमालय टाइम्स   POSTED ON : श्रावण २९, २०७७ (१२:२६ AM)

किन बढ्दैछन् अपराधका घटना ?

केही समय यता नेपालमा अनेक जघन्य अपराधको श्रृंखला बढिरहेको छ । मानिसको क्रूर मनोविज्ञान नै हो अपराध कर्मको । अपराध जुनसुकैरुपमा भएपनि त्यो जघन्य हुन्छ । मानिस किन अपराधवृत्तिमा प्रवृत्त हुन्छ ? मनोवैज्ञानिकहरुले अनेक कारणहरु देलान् । तर ती कारणहरु मात्रै पर्याप्त हुँदैनन् । यसैहप्ता मात्र राजधानीको मुटुमै भन्दा हुन्छ एकजना महिलाले आफ्नी सानी छोरी समेतलाई उ्रपयोग गरी गरेको एक पुरुषको हत्याको समाचार जति सामान्य लाग्छ त्यति नै हत्यापछि शवसंग गरिएको क्रूर व्यवहार असामान्य देखिन्छ । केही वर्ष पहिले आफ्नी पत्नीको हत्यामा दोषी ठहरिएका एक प्रहरी अधिकारीकै शैलीमा ती महिलाले पनि मानिसको शवलाई टुक्रा पारेर विभत्स प्रकारले फालेको घटनाले सबैको आङ सिरिंग पार्दछ । यद्यपि ती महिलाले कुन कारणले यस्तो अपराध गरेकी हुन्, अनुसन्धानकै क्रम रहेको हुनाले भन्न सकिदैन । भोलिका दिनमा उनी दोषी प्रमाणित हुन्छिन् कि हुदिनन् त्यो फरक कुरा हो । तर अहिलेको तात्कालीन अवस्थालाई हेर्दा मानिस भित्र लुकेको पाशविकतालाई त्यस घटनाले थप पुष्टि गर्दछ ।

    भनिन्छ महिला भित्र कोमल र मायालु भाव हुन्छ । तर समयान्तरमा यो भनाइ परम्पराको एक आख्यान मात्र हुँदैछ । क्रुरता कुनै जाति विशेष, वर्ग विशेष, क्षेत्र विशेष, लिंग विशेष हुँदैन । यस्तो क्रूरता सामाजिक मनोवृत्ति, आर्थिक आकांक्षा, शक्तिको सपना, विपन्नता, सम्पन्नता, निराशा, अतिआसा, हीनताबोध, निजी शत्रुता, भय, अपराध वा कुनै असामाजिक घटनालाई छोप्नै पर्ने बाध्यता जस्ता कारणहरुले हुने गर्दछ । मनोरोग पनि अपराधवृत्तिको महत्वपूर्ण कारण हुनसक्छ । यतिखेर आम मानिसहरु अन्तर्राष्ट्रिय पीडा कोरोनासंग भयभीत छन् । नेपालको सन्दर्भ भन्ने हो भने बाढी, पहिरो, डुवान जस्ता प्राकृतिक विपदा र प्रकोप विस्तार भइरहेको छ । यस्तो अवस्थामा समेत अनेक हत्या, बलात्कार, ठगी, चोरी, तस्करी जस्ता अपराधहरुको सूचि वृद्धि हुँदै गइरहेको देखिन्छ । रोजगारीका लागि विदेश गएका पति वा पत्नीहरुसंग लामो समयसंम भेट नहुने परिस्थिति समेत अहिलेको आपराधिक मनोवृत्तिको अहं कारण भएको छ भने आर्थिक लेनदेनमा हुने वेइमानी अपराधका लागि ऊर्वर जमीन वनिरहेको छ । 

   उपभोक्तावादी चिन्तनले मानिसहरुलाई अत्यन्त स्वार्थी वनाएको हुन्छ । शहरी सभ्यताको चमकधमकले जगाउने महत्वांक्षा मानिसहरुका लागि थेगिसक्नु छैन । निम्न आय भएका तर शहरी आचरण र व्यवहारमा पूर्ण आकर्षितहरुले आफूलाई नियन्त्रण गर्न सकेनन् भने अपराधको मात्रा झन् बढ्दछ । कुलीन वा सम्भ्रान्तहरुमा स्थापित खानदानी ठालुवाद पनि केही हदसम्म अपराधका लागि आधार वन्न सक्छ । यस्तो समयमा प्रहरिको बलमा मात्र अपराध रोक्न खोजे पनि असम्भव हुन्छ । काठमाडौंको घटनामा प्रहरिले अत्यन्त चाँडो देखाएको कार्य क्षमता प्रशंसायोग्य छ । विगत दुई वर्ष पहिले कञ्चनपुरकी बालिका निर्मला हत्याकाण्डमा आलोचना खेपिरहेका प्रहरिका लागि यो घटनामा पाएको सफलताले पक्कै पनि सान्त्वना दिएको हुनुपर्छ । 

अपराध अनुसन्धानका विषयमा नेपालको प्रहरीलाई अन्यत्रका तुलनामा चुस्त र समर्थ मानिन्छ । अनेक घटनाहरुलाई वेपर्दा गराउन विगतमा प्रहरिहरु सफल भएका अनेक दृष्टान्त छन् । यसै हप्ता राजधानीमा भएको एक पुरुषको हत्या र त्यसमा संलग्न व्यक्तिलाई दुई दिनमा नै प्रहरिले सार्वजनिक गर्नु प्रशंसनीय छ । तर प्रहरीले पक्राउ गरेका कतिपय मानिसहरु निर्दोष प्रमाणित हुने र अनेक अभियुक्तहरु प्रमाणका अभावमा अपराधमुक्त भएका घटनाहरु पनि छन् । कतिपय यस्ता घटनाहरु आत्मरक्षाका लागि भएका उदाहरण पर्याप्त छन् । तर नियोजित रुपमा भएका घटनाहरुलाई पुष्ट प्रमाणसाथ अदालतको कठघरामा पु¥याउन सके अपराध मनोवृत्तिलाई नियन्त्रण गर्न सहयोग पुग्दछ । अदालतले समेत अपराधवृत्तिलाई निरुत्साहित गर्ने हो भने केही दिन पहिले पत्नी हत्यामा दण्डित एकजना प्रहरी अधिकृतलाई मुक्त गरे जस्तो अविस्वसनीय र न्यायको खिल्ली उडाउने फैसला गर्नु हुँदैन । यस्तै फैसलाले अपराधलाई दुरुत्साहित गर्दछन् ।


Views: 42