28th September | 2020 | Monday | 10:24:35 PM

प्रतिबन्धमा परेका सिर्जना र सर्जक

नगेन्द्रराज रेग्मी   POSTED ON : श्रावण ३०, २०७७ (११:३७ PM)

प्रतिबन्धमा परेका सिर्जना र सर्जक

कला, साहित्य र संगीत भनेको कुनै पनि राष्ट्रको गहना हो, धरोहर हो । योविना राज्यको कल्पना नै गर्न सकिन्न । यसले समाजलाई गति दिन्छ, सही दिशा निर्देश गर्छ । कुनै पनि देशको वास्तविक अवस्था, स्थिति कस्तो छ भनी जान्नु–बुझ्नुपरेमा त्यस देशको साहित्य, कला र संगीतको अध्ययन गरे थाहा पाउन सकिन्छ भनिन्छ । यसैले ऊ सर्जक हो र पथप्रदर्शक पनि हो । 

राणाकालीन समयमा स्वतन्त्र र स्वच्छन्द आत्माभिव्यक्तिजस्ता कुराहरू सम्भव थिएन । कलम समाउनु नै त्यस समयमा खतरनाक काम ठहथ्र्याे । शासक र व्यवस्थाको गुणगान र प्रशंसामा कलम चलाएमा मात्र ठीक ठान्ने प्रवृत्ति थियो । राजनीतिक परिस्थितिलाई पिँजडा र जनतालाई सुगा बनाई कवि शिरोमणि लेखनाथ पौड्यालले पिँजडाको सुगा लेखेको भनियो । जागजाग भनेर धरणीधर कोइराला राणाकालमै जागरणको शंखघोष गर्न आइपुगे । आमाको सपना र एकजुगमा एकदिन एकचोटि आउँछ भन्दै गोपालप्रसाद रिमालले क्रान्तिकारी कलमको सहारा लिए । 

यही कालमा मकै पर्व भयो । श्री ३ चन्द्रशमशेरका पालामा कौशल अड्डाका सुब्बा कृष्णलाल अधिकारीले छपाएको कृषि शिक्षावली प्रथम भाग ‘मकैको खती’ नामक पुस्तकलाई लिएर उठेको काण्डलाई नै ‘मकै पर्व’ भनियो । सो पुस्तकको एक ठाउँमा लेखिएको थियो ‘मकैलाई चोरबाट बँचाउन भुस्याहा कुकुर चाहिन्छ । जुन खोले खान्छ, परिआएमा चोर बाघहरूसँग ज्यान अर्पेर लड्छ तर आजकाल त्यसको वास्ता नगरेर बेलायती कुकुर पाल्न लागेका छन् । दूध भात खाएर बालिष्टमा बसेर मालिकको पछिपछि हिँड्दै देख्दामा राम्रोमात्रै बेलायती कुकुरले केही काम पनि गर्दैन ।’ अंग्रेजहरूका भक्त श्री ३ चन्द्र शमशेरलाई नै बेलायती कुकुर भनेको हो भन्ने राजकाजी अर्थ लगाएर सुब्बा कृष्णलाल अधिकारीले ९ वर्ष कैदको सजाय पाए । 

यस सन्दर्भमा अर्काे रमाइलो प्रसंग कोट्याउनु सान्दर्भिकै होला । पुस्तकमाथि प्रतिबन्ध त लाग्यो लाग्यो, कार्टुनलाई पनि छाडिएन । कार्टुनका कारण जेल र सर्वस्वहरण त्यही समयमा हुन पुग्यो । नेपाली कलाजगत्का चन्द्रमान मास्केलाई विसं १९७५ सालमा श्री ३ चन्द्रशमशेरले चित्रकारिता पढ्न कोलकाता पठाएका थिए । 

कार्टुन लेखेबापत यति कठोर सजाय पाउने सम्भवतः उहाँ पहिलो नेपाली हुनुहुन्छ होला । यस कार्टुनमा ए फोर साइजको कागजमा कोरिएको त्यो कार्टुन चित्र २ भागमा चित्रित छ । माथिल्लो भागमा श्री ३ को श्रीपेचलाई हात्तीको सुँढको पानीका फोहोराले हावामा उडेर गएको देखाइएको छ । तल कुनामा बुलडग, स्याल आदि जनावरले श्रीपेच रक्षक सिंहसँग डराएर हेरिरहेको दृश्य देखाइएको छ । हात्ती जनशक्ति र बुलडग बबर शमशेर र अरू जनावर राणा शासनको प्रतिविम्बका रूपमा प्रयोग भएको मानिन्छ । 

अर्काे तल्लो भागमा राजा त्रिभुवनको श्रीपेच पाँच सिंहले रक्षा गरेको देखाइएको छ भने राणाहरूलाई कुकुर बनाएर विश्लेषण गरिएको प्रतिविम्ब त्यहाँ देख्न पाइन्छ भन्दै रमेश खनालले कार्टुनको कारण जेल र सर्वस्वहरण लेखमार्फत् (शनिबार गोप २०७५ फागुन १८) बताउनु भएको छ । 

(गीतकार रत्न शमशेर थापा, गायक नारायण गोपाल, विद्वान व्यक्तित्व पूर्णप्रसाद ब्राहृमण, कलाकार रामेश र रायन ।) 

राणाशासनविरुद्ध जनतामा चेतना जगाउने अभिप्रायले पूर्णप्रसाद ब्रहृमणले पनि काम गर्नुभएको कुरा थाहा हुन्छ । उहाँले गोप्य रूपमा राणाशासनविरुद्धमा अगुल्टो नामक कविता संग्रह प्रकाशनै गर्नुभएको थियो । यसमा प्रकाशित एक कवितांश यस्तो थियो—

आओ, रक्तपिपासु वैरीदलमा गै बाघझम्टा दिऔं

यी दरबार गरिबकै रगत हुन् निर्धक्क कब्जा गरौं

देख्तै नर्क परिन्छ मूर्ति यिनका फोरौं सबै सालिक

तोडौँ शासन हामीमाथि नबनून् फेरि यिनै मालिक ।

राजदरबारलगायत तत्कालीन शासकवर्गको अन्याय, अत्याचार, शोषण र दमनलाई व्यंग्य गरी उहाँले लेख्नुभएको एउटा कथा उपन्यास पञ्चायती शासनद्वारा प्रतिबन्धित गरिएको थियो । यस कालमा प्रतिबन्धको सिकारमा परेका स्रष्टा सर्जकहरूको सूची खोज्दै जाने हो भने यो लेख निकै लामो हुनजान्छ । २००७ सालमा राणा शासन फालिएपछि आएको प्रजातन्त्र हाम्रो देशमा दिगो हुन सकेन । २०१७ साल पौषमा पुनः एकतन्त्रीय पञ्चायती व्यवस्थाको सूत्रपात भयो । प्रमुख जिल्ला अधिकारी र अञ्चलाधीशको कार्यालयमा गएर वयान दिन बाध्य भइरहेका थिए लेखक, कवि र कलाकारहरू ।

पुस्तक प्रकाशनमा मात्र होइन, गीत लेखन तथा गायनमा यो कुरा लागू हुन थालेको थियो । गीत प्रतिबन्धको कुरा गर्नुपर्दा वरिष्ठ गीतकार रत्न शमशेर थापा र नारायण गोपालका गीतहरूलाई पनि छुटाउन मिल्दैन । एकदिन यी दुवैजनासँगै बसेर गीतसंगीतका कुराकानी गरिरहेका थिए । त्यत्तिकैमा अलक बम, भिक्षा पाऊँ भन्दै जोगी आएर माग्न थाल्छ । उसको करुण क्रन्दन सुनेर नारायण गोपाल रत्न शमशेरलाई यसै विषयवस्तुलाई आधार मानेर राम्रो गीत लेख्न अनुरोध गर्छन् । नभन्दै रत्न शमशेरले तत्काल यस्तो गीत रचना गरे—

एक मुठी चामल पाऊँ लौ हजुर

जय जय मनाउँला ।

धर्म कठै ¤ बग्यो, कर्मले है ठग्यो

घर घर मगन्ते भेषमा डुल्नु प-यो

बिहानीका तारा हामी सर्वहारा

धुलोमा लडी ओड्छौं शीतका धारा ।

नारायण गोपालले यो गीत खुबै मन पराए र रेडियोबाट एक पटक प्रत्यक्ष प्रसाण भयो । हुन पनि नारायण गोपाल गीतसंगीतका क्षेत्रमा परम्परागतभन्दा पृथक शैलीमा केही नयाँ र अर्थपूर्ण काम गर्न चाहन्थे । जब यो गीत एकपटक बज्यो, त्यसपछि फेरि प्रसारण हुन पाएन । यसको एकमात्र कारण थियो—सर्वहारा शब्द । सर्र्वहारा शब्द कम्युनिष्ट शब्द भएको ठहरियो र एकतर्फी रूपमा यसलाई प्रतिबन्ध गरियो । कारण बुझ्दै जाँदा धेरैपछि गीतकार थापालाई यो कुरा अवगत हुन पुगेको स्वयं गीतकारले यस पंक्तिकारसँगको एक साक्षात्कारमा बताउनु भएको थियो । 

तन्नेरीहरूले मस्त भएर गाउँने गीत लेख्न नारायण गोपाल फेरि रत्न शमशेर थापासँग अनुरोध गर्नपुगे । अनि रत्न शमशेरले सोबमोजिम एउटा गीत रच्न पुगे—

हाँस्छौं, गाउँछौं, वसन्त ल्याउँछौं

प्रेमको अनुरोधमा

धन्दा लिन्नौं हामी केही

उनको विरोधमा ।

नारायण गोपालको आवाजमा तयार भएर यो गीत आउँदा उनको विरोधमा भन्ने शब्दका कारण राजाको विरोधमा भन्ने अर्थ लगाएर यसमाथि पनि प्रतिबन्ध लागेको कुरा रत्न शमशेरले बताउनु भएको थियो । 

सल्किन्छ यो नजरमा

ठट्टैमा जिन्दगानी

झल्कन्छ यो नजरमा

मोती होइन पानी

यो गीत पनि प्रतिबन्धमा प¥यो । यो प्रतिबन्धमा पर्नुपर्ने कुनै खास कारण थिएन जस्तो लाग्छ हामीलाई । तर, त्यतिखेरका अधिकारीहरूको नजरमा जे दृष्टि प¥यो र जे धारणा बन्यो त्यही हुन्थ्यो । वरिष्ठ गायक माणिकरत्नले गाएको र प्रेममाणिकद्वारा संगीतबद्ध रत्न शमशेरको गीत ...त्यो खोलाको संग्लो पानी...लाई पनि मारमा पारिएको थियो । यसलाई अश्लीलताको संज्ञा दिँदै यो गीतलाई प्रतिबन्ध लगाइयो । यसैलाई आधार मानेर गोरखापत्रले सम्पादकीयसमेत लेखेको थियो भनिन्छ । उक्त गीतमा भएको सम्भावित अश्लीलताको अंश यस्तो थियो—

...लामो कालो कपाल लत्री

भुइँ छोएझैँ लाग्छ

झिमझिम झिम्की परेलाले

बोलाएझँ लाग्छ

मोहनी लाउने कान्छीलाई लैजाऊ लैजाऊँ लाग्छ । 

यसरी वरिष्ठ गीतकार रत्न शमशेर थापाका करिब दशवटा जति गीतमाथि पञ्चायती कालमा प्रतिबन्ध लाग्नपुगेको कुरा थाहा हुन्छ । एकपटक नारायण गोपाल दार्जिलिङ गएर पाँच सात दिन बस्दा गायक तथा संगीतकार शान्ति ठटालले उहाँद्वारा संगीतबद्ध भएको मैले बोल्नै भएन...नामक स्व.गगन गुरुङको गीत कम्पोज गरेर दिनु भएछ । नारायण गोपालले दार्जिलिङ बसाइका क्रममा यो गीत सिकेर नेपाल आएपछि गाउँन खोज्दा यसलाई पनि प्रतिबन्धित गरिएको कुरा थाहा हुन्छ । 

यसका शब्दलाई लिएर नै आपत्ति जनाइएको कुरा शान्ति ठटालले (यस पंक्तिकारसँगको साक्षात्कारमा) बताउनु भएको छ । यस गीतमा भएका केही शब्दहरू यस्ता थिए—साँचो कुरा भनिदिँदा सबै कान थुन्छन्, मलाई मेरै आफ्नैहरू कड्के आँखा हेर्छन्....।

रेडियो नेपालमा बाहिरिया र भित्रिया भन्ने चलन त्यसबखत खुबै चलेको थियो । त्यहाँ कार्यरत लेखक कवि र जागिरेहरू भित्रियामा पर्दथे भने बाहिरबाट आउने कलाकारहरूलाई स्वर परीक्षामा अनुत्तीर्ण गराइदिने, गीतहरू सेन्सरमा कडाईमात्र होइन, अस्वीकृत गरिदिने र अझ कसैप्रति त प्रतिबन्धै लगाइदिने र जेलनेल, यातनासम्मका कुराहरू झिकेर तर्साइदिएर हतोत्साही पर्ने, आफ्नो भाग खोस्न आएको झै ठान्ने, रिसइवी साँध्नेजस्ता प्रवृत्तिले गर्दा कतिपय सर्जकहरू त्रसित भइरहेका थिए । त्यसताका त्यहाँका व्यवस्थापन पक्षमा बस्ने एकाध व्यक्तिहरूका कारण रेडियोले दुर्नाम कमाउनुपरेको कुरा थाहा हुन्छ । 

प्रसारित सामग्रीको पारिश्रमिक रकम त्यहीँभित्रका एकाध व्यक्तिहरूको संलग्नतामा आआफूहरू मिलेर खाने गरेको अर्काे रहस्योद्घाटन राल्फाली समूहका मञ्जुल, रामेश र रायनहरूले गरिदिएपछि त्यसले तत्कालीन रेडियो नेपालमा झन् ठूलो भुइँचालो ल्याइदियो । यसले गर्दा उनीहरूको रेडियो नेपालसँगको दूरी अझ बढ्न पुग्यो । असल नियतले ल्याएका उनीहरूका राम्राराम्रा गीतहरूलाई पनि सेन्सरसिप नामधारी कलमले निमोठिन थाल्यो । 

गाई चर्नेमा भैँसी च-यो

वनको सेखी झ-यो

वनको राजा कुसुण्डालाई 

हजुर भन्नु प-यो ।

पञ्चायत व्यवस्था भर्खर भर्खर सुरु भएको अवस्थामा रामेश र रायनहरूले ल्याएका यस्ता गीतहरूले उनीहरू झस्कने मात्र होइन, राजालाई कुसुण्डा भनेको र उनलाई हजुर भन्नु प¥यो भनेर व्यंग्य गरेको ठानेर अस्वीकृत गरिदिए । धेरै वादविवादपछि ‘मै हूँ भन्ने सान्नानीलाई हजुर भन्नु प¥यो’ भन्ने वाक्यांश राखेपछि रेकर्ड भएर बाहिर आउने मौका मिलेको कुरा गायक रामेश र रायन बताउनुहुन्छ । यस्तै कारणले हुनसक्छ राल्फाली समूहपछि गाउँगाउँमा पुगेर आफ्ना जनवादी गीतहरू स्वच्छन्द रूपले सुनाई प्रसस्त लोकप्रिय हुँदै ख्याति कमाउन पुगे ।

मेरो स्वरमा झोपडी र दरबारको कथा

सुनाइहिँड्छु लडाइँ र पीरतिको व्यथा

फूल रोए शीत बन्छ, मैले रोए गीत

खुकुरीको खियामात्र नेपालीको जित ।

यस्तो मीठो आवाजका धनी कुमार सुब्बाको आवाजमा रेडियोले बजाउने गरेको यो गीतको नालीबेली पनि स्मरणयोग्य देखिन्छ । ख्यातिप्राप्त वरिष्ठ नाटककार मनबहादुर मुखियाको शब्द रचना, कर्म योञ्जनको संगीत र कुमार सुब्बाको आवाजमा रेडियोले बजाउने गरेको यो गीतमा नेपालीको पीर, व्यथा र आत्मस्वाभिमानको गाथा भावविहृवल भएर पोखिएको छ । यो गीतलाई लिएर पनि रेडियो नेपालका अधिकारीले आपत्ति जनाए । खुकुरीको खियामात्र नेपालीको जित भन्ने वाक्यांशलाई नहटाउने भए यो नबज्ने घोषणा गरियो । पञ्चायती व्यवस्थाका पृष्ठपोषकहरू रेडियो नेपालको कुर्सीभरि सेन्सरसिपका बोर्ड टाँसेर लेखक सर्जकका भावनामाथि बज्रपात गराउन व्यस्त थिए त्यसताका । सायद शासकहरूलाई राजकाजी अर्थ लगाउँदै रिझाउनु थियो अथवा जातीय विद्वेषको लाञ्छना लगाउनु थियो । 

त्यसैले सशक्त र गहन ओज बोकेको यो अन्तिम पंक्तिको विकल्पमा सारंगीको धूनमात्र गाइनेको जित राखेपछि यो पंक्तिलाई स्वीकारियो । यसबारेमा अझ स्पष्ट पार्दै संगीतकार कर्म योञ्जन भन्छन्, ‘रेडियो नेपालमा यो गीत रेकर्ड हुँदा अर्काे पंक्तिलाई लिएर पनि अधिकारीहरूको आपत्ति थियो । मैले त्यसलाई बदली गरेँ । मूल गीतमा भएको नेपालीले नेपालीलाई नचिनेझैँ गर्छ भन्ने पंक्तिलाई हटाएर आफ्नै दाजुभाइले मलाई नचिनेझैँ गर्छ लेखेपछि मात्र गीत रेकर्ड भएको थियो । तर, जत्तिनै शब्दहरू हटाउन लगाए पनि यो गीतको मर्म र ओज भने घट्न पाएन । अहिले यी गीतहरू उत्तिकै गहन र कालजयी बनिरहेका छन् ।

यसो भन्दैमा रेडियो नेपालले सूचना, सञ्चार र जनतालाई जागरणको शंखघोष गरेर चेतना जागृति गराउनमा उसको भूमिका कम छ भन्न किमार्थ सकिँदैन । उसको भूमिका अत्यन्त महŒवपूर्ण भएको तथ्य कसैले लुकाएर लुक्दैन ।

अहिले पछिल्लो चरणमा आएर पशुपति शर्माको लुट कान्छा लुट....नामक गीतलाई प्रतिबन्ध नै नलागेको भए पनि चर्चित र विवादित बन्न आइपुगेको छ । कार्यकर्तालाई कुकुर भनेको, कम्युनिष्ट पार्टीको झण्डा राखेको, यमराजको शासन भनेको, करोडौंको हेलिकोप्टर चढ्छिन् भनेर राष्ट्रपतिप्रति इंगित गरिएको भनेर केही कार्यकर्ताले विरोध गरेपछि स्वयं गायक र रचनाकार शर्माले यसका पंक्तिहरूलाई लिएर कसैको अपमान भएको भए म सहर्ष सुधार्छु भनेर त्यसलाई युट्युबबाट हटाएपछि स्थिति सामान्यीकरण हुन पुगेको थियो । शब्दका कारण ¥यापर भिटेन भनेर चिनिने समीर घिसिङ अर्का गायक दुर्गेश थापालाई पनि नियन्त्रणमा लिएर गीतका केही शब्द र अंश हटाउने शर्तमा छाडिएको छ । 

निरंकुश र अधिनायकवादी एकदलीय जहाँनिया शासनमा स्वतन्त्रतापूर्वक लेख्ने, बोल्नेजस्ता मौलिक हकाधिकारको हनन् हुनु स्वभाविक कुरा मानिए अहिलेको प्रजातान्त्रिक र लोकतान्त्रिक सरकारबाट चाहिँ यसप्रकारको कार्य हुनुलाई निश्चय नै शोभनीय मान्न नसकिने आमनागरिकको धारणा छ । यसो भन्दैमा जनमानसलाई बिसंगत र विछृंखलित पार्नेगरी जातीय र साम्प्रदायिक भावना विथोल्ने गरी, आफ्नो देशको कला, संस्कृति तथा रहनसहनमाथि प्रहार गर्नेगरी कलम चलाउनुपूर्व आफ्नो कर्तव्य र दायित्व बोधको ख्याल गर्नुपर्ने नैतिकबन्धनतर्फ ध्यान दिन स्रष्टा, सर्जकहरू लागि पर्नुपर्ने कुरा उत्तिकै मननीय देखिन्छ । 


Views: 448