28th September | 2020 | Monday | 7:53:47 PM

बिपी, नेपाली कांग्रेस र आसन्न महाधिवेशन

मेघराज दाहाल   POSTED ON : भदौ ३०, २०७७ (८:०७ AM)

बिपी, नेपाली कांग्रेस र आसन्न महाधिवेशन

नेपाली कांग्रेस र यसको अगुवाइमा भएका सबैखाले आन्दोलन र उक्त आन्दोलनको परिणामले नै नेपाल बहुदलीय गणतान्त्रिक प्रजातान्त्रिक मुलुकको रूपमा चिनिएको छ । आजको प्रजातान्त्रिक मूल्य मान्यता र स्वतन्त्रताको उपयोगको निर्णायक भूमिकामा सधैं अग्रस्थानमा रहेको नेपाली कांग्रेसको आसन्न महाधिवेशन र यसले लिने नेतृत्वले आगामी नेपाली राजनीति र देशको भावी कार्यदिशालाई प्रभाव पार्ने प्रष्टै छ । नेपाली राजनीतिमा जहिले पनि प्रजातान्त्रिक मान्यता र यसको न्यूनतम कार्यान्वयनका लागि यो पार्टीले सम्झौता गरेको पाइँदैन । 

२००७ साल, २०४६ साल तथा २०६३ सालको आन्दोलन र यी आन्दोलनले ल्याएका सबै प्रकारका उपलब्धिको मुख्य जस हुँदाहुँदै आज यो पार्टी खुम्चिएको अवस्थामा छ । नेता, कार्यकर्ता, शुभचिन्तक र सम्पूर्ण समर्थकको कांग्रेस पार्टी र यसले लिने भावी दिशा तथा कार्यक्रममा हुने चासोलाई स्वाभाविक रूपमा लिनुपर्ने हुन्छ । मूलतः प्रजातान्त्रिक समाजवादको आदर्शलाई आफ्नो मूल आदर्श ठानेर आजका दिनसम्म आफ्नो राजनीतिक दस्तावेजको तागतमा नेपाली कांग्रेस राजनीतिक कार्यक्रमका साथ अगाडि बढिरहेको छ । 

नेपाली कांग्रेस सधैं आमजनताको मौलिक अधिकारको प्रत्याभूति, आवधिक निर्वाचन, व्यक्तिगत स्वतन्त्रता र मानवअधिकारको सुनिश्चितता जस्ता कुरामा लड्दै आइरहेको छ । पार्टीको सुरुवाती दिनहरूमा तत्कालीन समाजका मूलभूत पक्षहरूलाई समेट्न सकेकै कारण बहुसंख्यक नेपालीहरूको मन जित्न सफल पार्टी आज पछिपरेको छ । एउटा जीवन्त राजनीतिक पार्टीलाई समय, परिस्थिति, समाज र बहुसंख्यक नागरिकहरूको भावना तथा अन्तर्राष्ट्रिय परिस्थितिसँगै परिष्कृत गर्दै जानुपर्ने हुन्छ । यी सम्पूर्ण वस्तुगत पक्षहरूलाई नेपाली कांग्रेसले महाधिवेशनमार्फत् आफ्ना नीति तथा कार्यक्रमद्वारा सार्वजनिक रूपमा अगाडि ल्याउनेगर्छ । ती नीति तथा कार्यक्रमलाई संगठनात्मक गतिविधिमार्फत् जनतामाझ ल्याउने गरिन्छ । 

कांग्रेसको नीति कार्यक्रम र योजनालाई हेरेर नै  नेपाली जनताले २०१५ र २०४८ सालमा प्रष्ट बहुमतसहित सरकार सञ्चालनको अनुमोदन गरेका थिए भने २०५१, २०५६ र २०७० सालका चुनावमा राम्रै संख्याका साथ व्यवस्थापिकामा पठाएका थिए । पञ्चायती शासनलाई थान्को लाउने वा गणतन्त्र ल्याई गणतान्त्रिक संविधान लागु गर्नेजस्ता ऐतिहासिक राजनीतिक घटनामा सधैं नेतृत्व कांगे्रसले गरेको पाइन्छ । तर नेपाली कांग्रेसमा आएको शिथिलतालाई आगामी नेतृत्वले सुधार गर्दै कार्यकर्तास्तरमा ऊर्जा दिनुपर्ने समय भएको छ नत्र भविष्यमा यो पार्टीको अवस्था झन् नखस्केला भन्न सकिँदैन । 

हिजोको नेपाली कांग्रेसको लोकप्रियतालाई पुनस्र्थापित गर्नु नै अबको नेतृत्वको सबैभन्दा ठूलो आवश्यकता र चुनौती हो । एउटा राजनीतिक पार्टीलाई गतिशील, समय सापेक्ष, अत्यधिक जनताको साथ पाउन आमकार्यकर्ताभन्दा नेतृत्व र यसले लिने गतिशीलता, रचनात्मकता, कार्यकुशलता, विस्वसनीयता, कल्पनाशीलता जस्ता कुरा मुख्य कारण हुँदा रहेछन् । संगठनको मजबुतीकालागि चेन अफ कमाण्ड आवश्यक तत्व हो । नेपाली कांग्रेसको ऐतिहासिक योगदान र पृष्ठभूमि राम्रो हुँदाहुँदै कतिपय आफ्नै कमजोरीका कारण आज पछाडि परेको अनुभव भएको छ ।

बिपी कोइरालाको दूरदृष्टि र राजनीतिक निष्ठाका कारण २००७ सालको सफलताले नेपाली समाजलाई विश्व मानचित्रमा चिनाउन सफलमात्र भएन आन्तरिक राजनीतिले प्रजातान्त्रिक परिपाटीको सुरुवात गरायो । आन्तरिक खिचातानी, राजाको महात्वाकांक्षा र अस्थिरताकै कारण २०१७ सालमा राजाद्वारा प्रत्यक्ष शासन सुरु भयो । तीस वर्षीय पञ्चायती कालमा २०३३ सालको राष्ट्रिय मेलमिलप नीतिले उनको उचाइ अझमाथि उठाउन मद्दत ग¥यो । बिपीले पूरै जीवनकाल कष्टसाथ देश र जनताको आधारभूत अधिकारका लागि समर्पण गरे । तर, कांग्रेसजनले यस कुरालाई गम्भीर रूपमा लिएनन् । नेपाली कांग्रेसको राजनीतिक नेतृत्वले बिपीकै जस्तो सदाचारी र स्वच्छ छवि बनाउन थोरैमात्र प्रयास गर्ने हो भने कांग्रेसको संगठनात्मक छवि सुधार्न धेरै समय लाग्दैन ।

नेपाली कांग्रेस आफ्नो सुरुवाती दिनदेखि नै गुटबन्दी र समूह उपसमूहहरूकै सिकार हुँदै आयो । चरम रूप २०४८ सालपछि अझ सतहमै आयो । यसको प्रत्यक्ष असर राष्ट्रिय राजनीतिमा अस्थिरता र माओवादी आन्दोलनको सुरुवात हुन पुग्यो । यो आन्दोलनमार्फत माओवादीहरूले समाजवादको मुद्दालाई आफ्नो पोल्टामा हाल्न सफल भए । 

संगठनात्मक रूपमा नेपाली कांग्रेसको क्षति त्यो बेला सुरु भयो जब तराईबाट आफ्नो उपस्थिति घट्दै गयो । त्यतिमात्र नभएर पहाड र हिमाली जिल्लाहरूमा आफ्नो उपस्थिति विस्तारै कम हुँदै आयो । काठमाडौंलगायत शहरी क्षेत्रमा आफ्नो वर्चश्व कायम राख्न गाह्रो भयो । यी सबै गतिविधिको परिणाम गत निर्वाचनमा देखिन गयो । 

कांग्रेसको यस्तो हविगत हुनुका पछाडि नेताहरूमा देखिएको ठालुपन, राजनीतिक आदर्शको पालना नगर्नु, तल्लो तप्काका कार्यकर्तालाई वास्ता नगर्नु, तराईले कांग्रेसलाई लगाएको गुनलाई बेवास्ता गर्नु, संगठनात्मक पक्षलाई वास्ता नगर्नु, निष्ठावान् कार्यकर्ताभन्दा पैसावाललाई महव दिनु, नैतिकता र प्रजातान्त्रिक संस्कार नभएकालाई पार्टीमा ठूलो हैसियतसहित भिœयाउनु, गरीब सीमान्तकृत एवं पिछडिएका कार्यकर्तालाई कांग्रेसै नठान्नु, भ्रातृ संगठनहरूलाई पेवा ठान्नु, राजनीतिक विचार आदर्श र व्यवहारलाई नेतृत्वले कार्यकर्तामाझ पु¥याउन नसक्नु, सत्ता र शक्तिका लागि जस्तोसुकै सम्झौता गर्दै जानुजस्ता अलोकतान्त्रिक व्यवहार जिम्मेवार हुन पुगे । 

बिपीको जन्मजयन्तीको अवसर तथा आसन्न चौधौं महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेस जनहरूमा साँच्चिकै प्रजातान्त्रिक समाजवाद र बिपीले देखेको नेपाल र नेपालीहरूको समुन्नत मुहार देख्ने हो भने आफूलाई परिवर्तन गर्नैपर्छ । नेपाल र नेपालीको आर्थिक उन्नति, मौलिक हकको प्रत्याभूति र प्रजातान्त्रिक संस्थाहरूको स्थायित्व जस्ता कुरा अपरिहार्य छन् ।

आसन्न महाधिवेशनले छनौट गर्ने नेतृत्व भनेको संगठनात्मक रूपमा तल्लो तहबाट आउने कार्यकर्ता र उनीहरूले लिने निर्णयमा भर पर्ने हुन्छ । कार्यकर्ताले व्यक्तिगतभन्दा कांग्रेसको आदर्शलाई मूल मर्म ठानेर नेतृत्वको चयन गर्नु पार्टी एवं देशको हितकर हुने देखिन्छ । बिपीले कल्पना गरेको आत्मनिर्भर कृषि ग्रामीण अर्थतन्त्र, व्यक्तिको सीप र क्षमतामा आधारित स्वावलम्बी व्यक्ति तथा परिवार र जनसंख्याको ठूलोे हिस्साले अपेक्षा गरेको आत्मनिर्भर अर्थतन्त्र जस्ता कुराहरूको वस्तुगत पक्षसँग पूर्णपरिचित नेतृत्वको चयनले मात्र सही मानेमा बिपीप्रतिको सच्चा सम्झना हुनेछ । 

नेपालको भौगोलिक धरातलीय यथार्थमा आधारित समानता र सम्मानजनक वैदेशिक नीति र व्यवहार, बहुलवादी सामाजिक सांस्कृतिक परिचयसहितको नेपाली समाज अबको कार्यकर्ता तथा नेतृत्वले बुझ्नुपर्ने यथार्थ हो । कुनै राजनीतिक संस्थाको विचार, आदर्श, नीति तथा कार्यक्रम नै जीवन्त पक्षहरू हुन् । व्यक्ति, समूह, गुट र उपगुटलाई देवत्वकरण गरेरमात्र राजनीतिक उद्देश्य प्राप्त गर्न सकिँदैन । आसन्न महाधिवेशन र आगामी नेतृत्वले यी वस्तुगत पक्षसँग साक्षात्कार हुने कोसिस गरेमात्र साँचो अर्थमा बिपीप्रतिको सम्झना तथा श्रद्धाञ्जलि प्रकट गरेको मानिनेछ । 


Views: 268