26th September | 2020 | Saturday | 8:46:56 PM

नेताजीको अनुहार जनतासँग मिल्दैन !

नवराज गौतम   POSTED ON : भदौ ३१, २०७७ (८:३७ AM)

नेताजीको अनुहार जनतासँग मिल्दैन !

कुरा अलि पहिलाको हो । रत्नपार्कको बस बिसौनीमा म र एकजना दाइ बस कुरेर बसेका थियौं । बस अझै आएको थिएन ।

मैले घडी हेरेँ बेलुकीको चार बजेको रहेछ । मैले दाइलाई भने ‘यति छिटो घर गएर पनि के गर्नु ? बरु पारिपट्टि आमसभा छ, संयुक्त सभा, एकछिन भाषण सुन्न जाऊँ न ।’

उहाँले ‘नजाऊँ’ भन्नुभयो । आमसभा भनेपछि कामधाम सबै त्यागेर हिँड्ने मान्छे आज किन जान्न भन्नुहुन्छ मलाई आश्चर्य लाग्यो ।

मैले फेरि सोधेँ ‘दाइलाई सन्चो नभएर हो ?’ 

‘होइन सन्चै छ । कति हेर्नु ती नेताहरूको अनुहार भनेर हो । बरु यहीँ बसेर सुनौं ।’ उहाँले थप्नु भयो ‘भाषण गर्ने नेताको अनुहार नदेख्दा र स्वर नचिन्दा पनि के फरक पर्छ र ! भाषण गर्नेले साम्राज्यवादी विस्तारवादी, पुनुरुत्थानवादी जस्ता डरलाग्दा शब्द प्रयोग ग¥यो, अभिवादन वा लाल सलाम भन्यो भने त्यो कम्युनिष्ट हो भनेर ठोकुवा गरे भइहाल्यो । एउटा दुहुनो गाई, एउटा झुप्रो, समाजवाद अनि जय नेपाल भन्यो भने त्यो कांग्रेस हो । राज्यले विभेद ग¥यो, दोस्रो दर्जाको ठान्यो भन्दै नागरिकताको रोयलो ग¥यो भने मधेसवादी दल हो भन्ने बुझे भयो । अर्को राप्रपा भन्नेले हिन्दू धर्म, कर्म, साधु, सन्यासी राजामहाराजाको प्रसंग एकदुई पटक अवश्य जोड्छ । यति भएपछि पुगिगयो । अरू के के बोले भनेर किन टाउको दुखाउनु । यिनीहरूले देशलाई पार लाउने होइनन् ।’

नेताहरूप्रति जहिले पनि प्रशंसाका शब्द खर्चिने दाइको त्यस दिन उल्टो कुरा सुनेर म चकित भएको थिएँ । आस्था कसरी अनास्थामा बदलियो मैले उहाँलाई सोध्नै पाइनँ । सुन्दै छु अहिले ती दाइ भारतको मधुवन भन्ने ठाउँमा जोगीझँै धुनी जमाएर बसेका छन् रे ! आस्था डग्यो भने मान्छे कि त विरक्तिन्छ कि विद्रोही बन्दोरहेछ ।

अहिले पनि सभाहरू हुने गरेका छन् तर ती खुला ठाउँमा होइन सभागृहहरूमा । सभागृहमा मानिस त्यति जुटाउनु नपर्ने । सभामा वक्ताको कुरामा विश्वास गर्ने बहुतै कम भेटिन्छन् । कार्यकर्ताले रमाइलोका लागि ताली ठोक्छन्, नेता भने मख्ख । भाषणमा कार्यकर्ता र जनताको अन्तस्करण प्रभावित पार्ने हैसियत भने नेताहरूले गुमाइसकेका छन् चाहे ती कांग्रेसका हुन् या कम्युनिष्टका । 

अहिले नेताले समाजवादको कुरा ग¥यो भने कुनामा बसेर सुनिरहेको एउटा कार्यकर्ता छेउमा बसिरहेकोलाई कोट्याउँदै भनिरहेको हुन्छ ‘यिनको समाजवाद भनेको पहिला आफ्नो लागि, अनि वादमा समाज, त्यही हो तिनको समाजवाद । पदका लागि पाखुरा सुर्कासुर्की र वादविवाद गर्छन्, यो कुनवाद हो ? समाजवाद हो ?’ 

अनि देशको उन्नति र विकासको कुरा गरे अर्को श्रोता फिस्स हास्तै भन्छ ‘विकास त फलानो नेताको सालो हो ।’ 

यी अभिव्यक्ति विद्रोहका लक्षण हुन् । नेताहरूको भने चेत अझै खुलेको छैन ।

देशमा लोकतन्त्र आएको पनि पन्ध्र वर्ष भयो । यो थोरै समय होइन । यस समयभित्र धेरै थोक गर्न सकिन्थ्यो । त्यता ध्यान छैन । राजनीतिक दलका नेताहरू देश निर्माणमा एक ढिक्का भएर लाग्नु पर्नेमा व्यक्तिगत लाभ हानी र पद र प्रतिष्ठाको लडाइँमा व्यस्त । २०१७ साल, २०४७ सालताका गरेका गल्तीहरू अहिले २०७७ सालमा पनि दोहो¥याइरहेका छन् । दुई तिहाइको बहुमत ल्याएको नेपाली कांग्रेसको सरकारलाई राजा महेन्द्रले दुई वर्ष पनि टिक्न दिएनन्, २०१७ साल पुस १ गते कू गरिदिए । यसको पछाडि अन्य कारणहरूका अलावा एउटा कारण थियो पार्टीभित्रको द्वन्द्व र जनताबीच फैलिँदो असन्तोष । त्यस्तै २०४७ पछि बनेका सरकारहरू पनि पार्टीभित्रका असन्तोष, पार्टी पार्टीबीचको अस्वस्थ प्रतिस्पर्धाले कुनै पनि सरकार पूरा कार्यकाल टिक्न सकेनन् । जननेता मदन भण्डारीको दासढुंगा दुर्घटनामा मृत्यु, मनमोहन अधिकारीको मृत्यु, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको कांग्रेसप्रतिको मोहभंगपछि त मूल्यको राजनीति नै हराएर गयो । जनतामा पार्टीहरूप्रतिको बढ्दो असन्तोष र अविश्वासकै बेला राजा ज्ञानेन्द्रले कू गरेका होइनन् र ? 

पार्टीभित्र अहिले पनि नेता नेताबीच द्वन्द्व छँदैछ । जनतामा असन्तोष छ । असन्तोषले अर्को राजनीतिक दुर्घटना नहोला भन्न सकिँदैन । यस्तै हो भने इतिहास फेरि दोहरिन सक्छ । राजाले कू गर्दा जनतालाई साथ लिएर उठ्न सकियो तर जनताले विद्रोह गरे ? यसको जवाफ कुनै नेतासँग छैन । 

नेता भण्डारीले एउटा कविता लेख्नु भएको छ । कविताको सार यस्तो छ ‘भाइभाइ झगडा नगरौं, पहिला मिलेर घरमा बलियो खाँबो लगाऊँ, किला ठोकौं र घर बलियो बनेपछि तलामाथि दुईभाइ कुस्ती लडौंला ।’ नेताहरूलाई यो कविता पढ्न अनुरोध छ ।

जहाँ पनि राम्रानराम्रा हुन्छन् । राजनीतिमा पनि राम्रा छन् तर एकदम थोरै । त्यस्ताले केही राम्रो काम गर्न खोज्यो भने अरूले खिसीटिउरी गर्छन् किनभने जनतामा ‘सबै एउटै ड्याङका ....’ भन्ने विश्वास जमेर बसेको छ । टिलिक्क टल्किएका जुत्ता, आइरन गरिएका सेता लबेदासुरुवाल, कोट अनि चिल्ला महँगा गाडी, भव्य महल, फाइव स्टार होटेलमा मिटिङ, लन्च, डिनर गर्ने । आजका नेता हिजोका जस्ता देखिँदैनन् । हिजो भूमिगत कालमा नेता जनताझैँ देखिन्थे । अहिले नवसभ्रान्त वर्गमा रूपान्तरण हुँदैछन् । यो देख्दा देख्दै जनताले पनि कसरी विश्वास गरून् ? 

अहिले सामाजिक सञ्जाल हे¥यो भने जताततै आक्रोश र गाली । कुनै नेता यस्ता छैनन् जसप्रति आक्रोशपूर्ण अभिव्यक्ति नहोस् । हावा नचली पात हल्लिँदैन । 

जनताको आक्रोश पोख्ने थलो अहिले सामाजिक सञ्जाल भएको छ, यसले पेन किलरको काम गरिरहेको छ । धन्यवाद दिनुपर्छ सामाजिक सञ्जाललाई अन्यथा जनताको आक्रोश सडकमा पनि पोखिन सक्थ्यो ।

एकजना सांसद हुनुहुन्थ्यो, पूर्वको एउटा जिल्लाबाट दुई–दुई पटक जितेको मान्छे, चटक्कै राजनीति छोडेर उहाँ उद्योग व्यवसायतिर लाग्नुभयो । किन ? को जवाफमा भन्ने गर्नुहुन्थ्यो ‘नयाँहरू आए, उनीहरू योग्य र सक्षम छन् । पढे लेखेका छन्, देश दुनियाँ बुझेका छन् । नयाँ प्रविधिमा उनीहरूको राम्रो पकड छ । देशका लागि केही गर्ने जोस छ । पञ्चायत र राजतन्त्रविरुद्ध लडेको नाममा मैले उनीहरूको बाटो अवरुद्ध गर्नु भएन नि ?’

पोहोर साल उहाँको निधन भयो । उहाँप्रति श्रद्धा सुमन । अब पुराना नेताहरूले पनि आफ्नो पुरानो प्रतिष्ठाको ख्याल गर्नुप¥यो । तपाइँहरू हिजोको पुस्ता हो । हिजोका लागि जन्मिनु भएको थियो । आज नयाँ जन्मिएका छन्, नयाँलाई नयाँ इतिहास रच्न दिनुहोस् । 

यो एउटा उत्तम विकल्प पनि हो । पुरानोमा जनताले आफ्नो प्रतिबिम्ब देख्न छाडे । 

आगे नेताजीहरूको मर्जी !


Views: 106