31st October | 2020 | Saturday | 3:21:15 AM

लेखकीय अहङ्कारको व्यवस्थापन

डा. नारायण चालिसे   POSTED ON : आश्विन १०, २०७७ (९:१४ AM)

लेखकीय अहङ्कारको व्यवस्थापन

‘नारायण सर ! नमस्कार, तपाइँको कथा प्राप्त भएको थियो । यसपटक सोचेजस्तो स्तरीय कथा प्राप्त हुन नसकेपछि त्यसलाई नछाप्ने निर्णय गरेका छौँ । कृपया त्यो कथालाई राम्रोसँग पकाएर, सम्पादन गरेर, नयाँ शैली र शिल्पमा ढाल्नुहोला ।’

कुनै प्रकाशन संस्थाबाट मेरो कथाकार अहंलाई बेस्सरी प्रहार गरिएको भन्ने मलाई लागेको उपर्युक्त प्रतिक्रिया पाएपछि एकछिन रन्थनिएँ । सामान्य अवस्थामा यो हक्की प्रतिक्रिया त्यति सहज लागेन । मनमा कथाकार पनि भएँ कि भन्ने अहंले पनि जरा गाडेको हुनुपर्छ । किनकि मैले धेरै कथा लेखेकै छैन । जे जति लेखेको थिएँ र प्रकाशनको निम्ति जहाँ पठाएको थिएँ ती प्रायः छापिएका थिए । तर, यसपालि त्यस्तो भएन । दुई हप्ता कुरेपछि प्राप्त हुन आएको प्रतिक्रिया केही अप्रत्यासित थियो । त्यो अप्रत्यासित सूचना जुन मैले नै ताकिता गरेर मगाएको थिएँ तर मलाई कथा छापिँदैन कि भन्ने सन्देहभन्दा बढी आत्मविश्वासले काम गरेको हुनाले पनि ताकिता गरँे हुँला भन्ने लाग्छ । 

हुन त यसपूर्व पनि मेरा रचना यदाकदा नछापिएका अनुभव मसँग छन् । कसैले नभनेरै मेरा रचना नछापेर पनि त गरेको कुरा त त्यही हो तपाइँको रचना प्रकाशनयोग्य भएन ! तर जसले मलाई मेरो त्रुटिपक्षलाई संकेत गरिदिएर मलाई समयानुकूल हुन प्रेरित गरिरहेको छ त्यो नै त मेरो आफ्नो हो भने मैले त यो सुझावलाई अवसरको रूपमा पो लिनुपर्छ त ! तापनि पछिल्लो समयमा त्यस्तो नभएकाले अलि उत्साहित भएँछु क्यारे !

गुलाबी उमेरमा प्रेमिकाले पठाएको प्रेमपत्रजस्तो त्यो अप्रत्यासित प्रतिक्रियालाई पटकपटक पढेँ अविश्वास भएर । त्यसपछि आफूलाई छामेँ के म कथाकार पनि हुँ त ? वर्षौं यसै विधामा तप, साधना गरेका कति कथाकार हुनुहुन्छ । त्यसै गरी हरेक विधामा सिद्धहस्त लेखकहरू हुनुहुन्छ । यो कुरा कथा विधा वा कविता विधाको मात्र होइन । सबै विधा र विषय क्षेत्रमा यो अवस्था रहेको छ र यस्तो अनुभूति मेरोमात्रै पनि होइन, अनगिन्ती लेखकहरूको रहेको छ । तर, बिडम्बना यही सिद्धहस्तताले पनि साहित्यको स्तर खस्किएको नमीठो अनुभव पनि हामीसँग रहेकै हुनुपर्ने हो । 

एकाध कथा लेख्दैमा म पनि कथाकार नै हँुदै जाने हो भने एक प्रकारको बेथिति पनि मेरो कथासँगसँगै बढ्दै जाने त हो । यो प्रवृत्ति उत्साही हुनुहुँदैन यो साँचो हो । अनि भर्खर केही दिन पहिलामात्र वरिष्ठ पत्रकार मित्र राजकुमार बानियाँको लेखकीय सिन्डिकेटलाई लक्ष्य गरेर लेखेको ज्यादै घतलाग्दो लेख पढेको थिएँ । बीस जना साहित्यकारले ओगटेको साहित्यको संसारको त्यो केही नसुहाउँदो तस्वीरको पनि सम्झना भयो । 

हिजैमात्र साहित्यकार एवं समालोचक ज्ञानू पाण्डेको पाठकको सत्ता शीर्षकको निबन्ध पढेको थिएँ । लेखक, पाठक, समालोचक र यी सबैलाई गहिरिएर नबुझ्ने तर बुझक्कडको श्रेणीमा रमाउने व्यक्तिका धारणाहरू समेत समेट्दै लेखकलाई लेखक बनाउने त पाठक हो । पाठकविनाको लेखक त केबल कोठे लेखक मात्र हो भन्ने त्यसको आशय थियो । लेखकहरूमा देखिने एउटा अस्वाभाविक अहङ्कार छ जो जति ठूलो साहित्यकार हो जस्तो लागेको छ त्यो त्यति नै बढी दम्भी बनेका धेरै दृष्टान्तहरू हाम्रा अनुभवमा छन् । अनि समालोचना जसलाई दोस्रो सिर्जना भनिन्छ । केही नपढेर लेखकको किताबमाथि मनलागी लेख्ने वा बोल्ने नभएर लेखकले समेत सोच्न नभ्याएको कुरालाई समेत उठाएर समालोचना गर्ने धर्मलाई पालन गर्दै आएको विषयलाई ओझेलमा पार्न खोजिन्छ भन्ने पनि निबन्धको आशय थियो । 

समालोचक जसले लेखकलाई उसको व्यक्तित्वको उचाइ दिन्छ त्यसलाई कत्ति पनि महŒवको नठानेर लेखकले अग्लिएको भ्रम पाल्ने हाम्रो पारम्परित अहङ्कारको चिरफार गरेर पाठकीय सत्तालाई उच्च मान्नुपर्ने तार्किक बहसलाई पढेर आफूलाई त्यहीँ अनुभव गरेको थिएँ । जसरी हामी उभिएका जस्ता भएका छौँ त्यो कहीँ कतै पनि सुहाउँदिलो छैन तापनि हामी निसंकोच उभिएका छौँ । त्यही चिन्तनकै अर्को शृङ्खलामा यो विचारले सहमति राख्छ भन्ने मलाई लागेको छ । 

यस्तै एउटा अनौठो प्रवृत्ति हाम्रो लेखनमा रहेको छ लेखकीय साझेदारी । यसलाई फिक्सिङ राइटिङ पनि भन्न सकिन्छ । मैले अमूक व्यक्तिका बारेमा लेख्छु र अमूक लेखकले मेराबारेमा लेखिदिँदै छ । म उसको अभूतपूर्व क्षमताको कुरा गरिदिन्छु ऊ मेरो क्षमताको प्रशंसा गरिदिन्छ हामी दुवै अद्वितीय लेखक बन्छौँ । यस्तै खेताला लेखन अर्को त्यस्तै डरलाग्दो धन्दा बनेको सुनिन्छ । कसैलाई साहित्यकार बन्ने रहर लागेपछि खेताला लेखनका माध्यमले चर्चामा आउने प्रवृत्ति बढेको पनि सुनिन्छ । 

यो लेखन व्यवशायमा नाम दर्ता गराएर साँझको बिहान लेखक बन्ने, नाम र दाम कमाउने अनि आवश्यक प्रकारका पुरस्कार वा सम्मान यथेष्ट र यथेच्छा (चाहेजति) लिएर साहित्यको दुनियाँलाई मूर्ख बनाउने पेशालाई पनि हामीले सम्मान गर्दै आएका छौँ । पैसा भएपछि जे पनि बन्न पाइने यो पुँजीवादी बजारमा बिक्न वा बिकाउ वस्तु बन्न सक्नुपर्छ भन्ने ज्यादै विरक्त लाग्दो जानकारीबाट पनि हामी सुसूचित भइरहेकै छौँ । त्यसो त महाकवि देवकोटाले चुरोटका ठुटा पोको पारेर झ्यालबाट फालेका कागजका टुक्रा बटुलेर पनि कति मानिस कवि बने अरे भन्ने पनि हामीले सुनेका हुनाले यो नक्कली परम्परा पनि हाम्रो सहित्यको अङ्ग बन्दै आएको कुराबाट हामी अभ्यस्त छौँ । 

कि त यहाँ लेखिनुपर्छ जसले लेखोस् वा जसरी लेखियोस् त्यो हाम्रो साहित्यको सम्पत्ति मान्ने हाम्रो उदार चेतना हाम्रो मान्यता पनि हो । अनि हामी गुणस्तरका, मौलिकताका र उच्चताका पनि कुरा गरिरहेकै छौँ । खेताला बजारका लेखक जसले केही रूपैयाँका लोभले वा बाध्यताले आफ्नो त्यो अन्तः सामथ्र्यको व्यवशाय गरेका छन् भनौंल अशिष्ट भाषामा बिकेका छन् । यो विकृतिलाई हाम्रो साहित्य संसारको कुन तहमा राखेर महिमामण्डित गर्ने र हामी शिष्ट साहित्यको कुरा गर्दै रहने ? बिचरा ती स्वनामधन्य लेखक त्यही कुरा आफ्नो नाममा सार्वजनिक गर्दा शून्यनाम र दाम रहन्छन् र त्यही साहित्यलाई कुनै उच्चनामा व्यक्तिको नामबाट सार्वजनिक गरेर प्रशस्तिको शिखरसम्म पु¥याउँछन् । 

नेपथ्यमा अनुहार झोक्राएर उभिएको त्यो श्रमिक साहित्यकार जसले लेखन उद्योगका ठूलाठूला व्यापारीलाई धनी बनायो र आफू सधैँ गरिब नै रहिरहृयो । हामी यसपछि पनि साहित्यमा स्तरीयता र आदर्शका कुरा गरिरहन्छौँ । हो, यो साहित्यिक उद्योगबाट उत्पादित साहित्यको रसास्वादन गर्ने अभ्यास बसेका हामीले लर्तरो साहित्यबाट आनन्द लिन नसक्नु पनि स्वाभाविक नै भयो । 

यो समस्या पुरस्कार र सम्मानको क्षेत्रमा पनि यसरी नै प्रचलित छ भनिन्छ । एकातिर चिनजानको सिन्डिकेटले साहित्य लेखन र प्रकाशनप्रति बढ्दै गएको वितृष्णा अर्कोतिर मजस्तै भेलमा उभिएर साहित्यकार वा कथाकार भन्न प्रेरित गर्न खोज्नेको भिडभाड र भ्रम । यो अर्को र प्रकारान्तरको सिन्डिकेट पनि उत्तिकै घातक छ, शिष्ट र स्तरीय साहित्यको निम्ति भन्ने कुरा मेरो बुद्धिपक्षले खबर्दारी गरेपछि मात्र म ब्युँझिएँ । मेरा एक दुईवटा कथा रिजेक्ट भएर पनि साहित्यको मर्यादा जोगिनुपर्छ । 

यस्तै केही वर्ष पहिले आफ्ना सिर्जना प्रकाशनको हुटहुटी बोकेर काठ्माडौं हुत्तिएको मलाई नै साक्षी राखेर एकजना मेरा आदरणीय साहित्यकार दाइले पनि यसरी नै झस्काउनुभएको थियो । ‘कमसे कम मलाई प्रकाशनको कुनै समस्या परेन । मेरो रचना छापिदेऊ भनेर कसैसँग बिन्ती गर्नु परेन । मैले पठाएका प्रत्येक लेखरचनाहरू छापिए । स्तरीय लेख्नुभयो भने प्रकाशनको समस्या पर्दैपर्दैन नि !’ हो मेरा आदरणीय दाइ हजुरको कालजयी यो अभिव्यक्तिको जहिले पनि म सम्मान गर्दै आएको छु । यो केबल एउटा प्रतिनिधि अभिव्यक्तिमात्र हो । यसरी नै लेखिएका र नलेखिएका अनगिन्ती अनुभवहरू नेपाली लेखकहरूसँग छन् । 

लेखन र प्रकाशनका बीचमा पनि त्यति स्वस्थ सम्बन्ध नभएका घतलाग्दा दृष्टान्तहरू छन् लेखकसँग पनि र प्रकाशकसँग पनि । आवश्यकताभन्दा बढी आफूलाई योग्य ठान्ने लेखक र त्यत्तिकै आफूलाई सुयोग्य र स्तरीय ठान्ने पत्रिकाहरू दुवैतिर सीमाहरू छन् । पछिल्लो समयमा सेलिब्रेटी लेखकहरू र सेलिब्रेटी प्रकाशक, सम्पादकहरूको बिगबिगी पनि चलेको छ । कृति प्रकाशन हुनुपूर्व कसैलाई अद्वितीय लेखकको रूपमा उजिल्याउने पीत प्रचारको गम्भीर मारमा पनि लेखकहरू परेका छन् एकातिर भने कसैलाई नचिनेकैले कहिल्यै प्रकाशमा आउन नपाएका सुयोग्य लेखकहरू पनि छन् हामीसँग । लेखन वा प्रकाशन तरकारी वा माछा बजारजस्तो हल्लाबाट जोगिनुपर्छ । 

स्रष्टाहरूले पनि मैलेजस्तै अहङ्कार पालेर लेखेकैले, मेरो मान्छे फलानो पत्रिकाको सम्पादक छ भनेकैले, मेरो रचना त मेरो अघि वा पछि सिँगारिएको विशेषणले पनि छापिनुपर्छ भनेकैले, म त सिनियर साहित्यकार यी कतिपय नजन्मिँदैदेखिको म लेखक वा साहित्यकार हुँ भनेकैले, म अमूक पार्टीको मान्छे र फलानो पत्रिका मेरो पार्टीसँग मिल्ने पत्रिका हो भनेकैले, फलानो मेरो अमूक नाता वा सम्बन्धमा पर्छ भनेकैले, खोइ यो अमूक व्यक्ति त कतै चिनेजानेको वा सम्पर्कको होइन रचना त राम्रै हो तैपनि के भनेर छाप्नु भनेकैले वा यो हिजोको फुच्चे वा बच्चो हो भनेकैले, यो अमूक जात हो, यो अमूक धर्मको हो, यो मानिस मलाई मन पर्दैन त्यस कारणले भनेकैले । 

यस्तै अनगिन्ती भनेकैले गर्दा हाम्रा धेरै ठाउँ विकृतिका अखडा बनेको समयमा निश्चय पनि स्वच्छ, निश्पक्ष र मर्यादित नै काम गर्छु भन्न त्यति सजिलो छैन । तापनि हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? यी यक्ष प्रश्नहरूसँग हामीले सामना गर्नैपर्छ र उत्तरको खोजी गर्नैपर्छ भन्ने म मान्दछु । 

अलिकति जिज्ञासा स्तरीयताका विषयमा पनि हुनसक्ने भए । स्तरीयता के कति ठाउँमा कार्यान्वयन भएको छ त ? हामीले हाम्रो दृष्टिले हेरेर नापेको स्तरीयता अर्को व्यक्तिले उसको दृष्टिले नाप्दा खरो नउत्रिन सक्छ । त्यसमाथि एकजना नयाँ स्रष्टाले कुन फोरममा काम गर्ने र आफूलाई समयानसारको स्तरीय भएर आउने ? लेखनलाई निरन्तरता दिँदै र सल्लाह र सुझावलाई ग्रहण गदैँ सिकारू लेखक परिस्कृत हुन पाउनु पनि त हो । हुन त आफ्नो विषयमा आफैँले सोच्नुपर्ने हो । कुनै सिकारू लेखकको निम्ति कुनै स्तरीय पत्रिकाले कमसल रचना छापेर किन जोखिम मोल्ने ?

सायद स्तरीयता मापन पनि सापेक्ष कुरा हो । योभन्दा यो राम्रो मात्र हो । सम्पूर्ण राम्रो भन्ने प्राविधिक संयन्त्र त छैन साहित्यमा । जब उसले लेखेको कुरा बाहिर ल्याउने र समाजका सामु तौलिने अवसर नै पाउँदैन भने उसले त्यो स्तरीयताको प्रमाणपत्र कुन संस्थाबाट लिने ? मलाई मन परेको कुरा अर्कोलाई उत्तिकै मन नपरेर पनि त्यो राम्रो हुन पाउने छुट पनि समाजले, विचारले, हामीलाई दिएको छ । करेलो तीतो हुनु ऊ मीठो हुनु हो । कागती आफ्नो धर्मअनुकूल अमिलो हुनु मीठो हुनु हो । गुलियो भयो भने त्यो मीठो मानिँदैन । खुर्सानी पिरो भयो भने त्यो मीठो मानिन्छ । अर्थात् जसको जे धर्म हो, त्यो उक्त धर्ममा रहन सक्यो भने त्यही नै त्यसको सौन्दर्य हो । साहित्यमा साहित्य हुनु उसको धर्ममा हुनु हो । 

साहित्यमा समाजको प्रतिबिम्ब आउनुपर्छ भनियो भने एउटा अपेक्षा भयो तर समाज नभएर साहित्य हुन्छ कि हुँदैन ? भनियो भने अलि लामो प्रकारले उत्तर दिनुपर्छ । समाजकै निम्ति, समाजको व्यक्तिले कलात्मक रूपले समाज उता¥यो भने साहित्य भयो । सबै अवस्थामा समाज आफैँमा साहित्य होइन पनि । यी केही बुद्धिविलाशका कुरा भए । सारमा अख्तियारप्राप्त व्यक्तिको धारणा, मान्यता वा निर्णयमा अडेका हाम्रा यावत् फैसलाहरू स्तरीयताका आदर्श दृष्टान्त हुन् नै भन्न पनि सकिँदैन । रहृयो कुरा कुनै रचनालाई शुद्ध पार्नु, परिष्कार परिमार्जन गर्नु, उद्देश्यपरक बनाउनु जस्ता आधारभूत कुराहरूमा लेखकहरू सचेत हुनै पर्छ । र, भावहरण नहुने गरी केही परिमार्जनको सम्पादकीय अधिकार (छाप्ने नछाप्ने अधिकारजस्तै) पत्रपत्रिकाहरूसँग रहेकै हुन्छ । 

यी केही मनमा जमेर बसेर कुराहरू थिए । संयोगले आफँै दृष्टान्त बनेको सुन्दर क्षणमा मूर्त रूपमा आएका मात्र हुन् । अरूलाई घानमा हालेर क्षणिक तुष्टि लिनु कमसेकम लेख्नेहरूका निम्ति शोभनीय हुँदैन पनि । यी र यस्ता विषयमा बहसको आवश्यकता पनि छ र लेखकीय सजगता पनि उत्तिकै आवश्यक छ । निरन्तर सिक्ने र सिकाउँदै जाने अवसर पाएकाहरूबाट सकारात्मक सुझाव आइरहनु एकजना लेखक, विशिष्ट बन्दै जाने सोपान पनि हो । हुन त यो पनि केही हदसम्म अहंकार नै लेखेजस्तो भयो होला । आत्मरति पनि यसरी नै बाहिर आउने हो । 

बाहिर हेर्ने धर्म लिएका आँखाबाट भित्र हेर्न सजिलो छैन । मनका आँखा अरू आँखाभन्दा मौलिक हुन् र ती तीव्र आँखाको गतिको सौन्दर्यभन्दा तिनले पार्ने क्षति अझ घातक मानिन्छ । तापनि हामीले चाहने भनेको बुद्धि र विवेकका आँखा हो । आफूभित्र तमाम कमजोरीहरू भए पनि अरूका खोट पर्गेल्ने बानी यसकारण साधारण लाग्छ । तर, यो व्यक्ति अभिव्यक्ति नभएर प्रवृत्ति अभिव्यक्ति हो । त्रुटिरहित जीवन पनि छैन र जगत्प्रति पनि हाम्रा अनगिन्ती गुनासाहरू छन् । प्रयत्न र भुलको यो संसारमा सबै सम्भावनाहरूका ढोका खुलै राखेर पनि सुन्दरताको चेतना हाम्रो गतिको परिचायक हो । पूर्ण कुरा र सम्पूर्ण कुरा त्यसपछि पनि लेखिन बाँकी नै रहन्छ !!


Views: 282

सम्बन्धित सामग्री:

कथा : अनि सपना लहराउँछ

: कार्तिक २, २०७७ (११:२३ AM)