31st October | 2020 | Saturday | 4:07:18 AM

दूषण भएकै हुन् त तक्मा र विभूषण ?

बद्रीप्रसाद दाहाल   POSTED ON : आश्विन १०, २०७७ (९:१५ AM)

दूषण भएकै हुन् त तक्मा र विभूषण ?

देश जनता र राज्यको लागि आफ्नो ठाउँमा बसेर समझदार, इमानदार तथा जिम्मेवार बनी सुशासन, सुसिर्जना, नयाँ नयाँ आविष्कार दिने जाँगरिला व्यक्तित्वलाई सम्मान वा हौसला प्रदान गर्न राज्यले पुरष्कार, विभूषण, अभिनन्दन प्रदान गर्ने प्रचलन विश्वभरकै सभ्यता एवं संस्कृति हो । कैयौं व्यक्तिहरू आफ्ना बुद्धि, लगन र मेधाका कारण राष्ट्रिय अन्तर्राष्ट्रिय जीवनमा समेत उच्च विख्याति आर्जन गरिरहेका हुन्छन् । तर, एकाध अपवादबाहेक एकतन्त्रीय, सर्वसत्तावादी, पारिवारिक र उत्पीडक तन्त्रमा त्यस्ता पात्रहरूको चयन गर्दा नाताभित्रका सम्धी, जुवाइँ, सालासाली, भतिजाभतिजी, भान्जाभान्जी, निकटका चाकरिया, चुक्लीखोर, हुक्के, बैठके र दामकाम गर्नेहरू, मसलदार गुण्डाका बलहरू पुस्कृत हुनेमा पर्दथे ।

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र साँच्चै आए त यो रोग लाग्दैन कि ? देशमा भनेको तर आज त्यस्ता विकृति झन् बढी झाङ्गिएर सत्तारूढहरू नाङ्गिएर ‘भाङ्ग्रा टोपीलाई गुँहेलीको पूmल’ सिउरिनमै अभ्यस्त छन् गाँठे ? सामन्तवादको दुर्गन्ध हृवास्स गनाउँदा सहिद भइसकेका, जिउँदा योद्धा, इमानजमानका आत्माहरूमा गम्भीर चोट पुग्नु लोकतान्त्रिक गणतन्त्रमा कालो दाग लाग्नु होइन र गाँठे ?

भातको टपरी आफ्ना साथमा छ भने हजार कौवा नाच्न आउँछन्, भन्ने उखानको बखान बुझेका हालका धूर्त शासकहरूले तक्मा, विभूषण, पुरस्कारलाई क्रमशः तोक्मा, विदुषण र कुसंस्कारमा रूपान्तर गरेका छन् । संविधानदिवस, शिक्षादिवस, गणतन्त्रदिवस, बालदिवस, युवादिवस, नारीदिवस आदिमा केही अपवादबाहेक अधिकांश अक्षम पात्रहरूमा तक्मा, विभूषण, मान, अभिनन्दन, पदसंवद्र्धनका फुली लगाइदिएर चुली चुमाइदिने कुप्रचलन हर्ताकर्ता मूलीहरूले न्वारानदेखिको बल व्यय गरिरहेका छन् । उल्टो प्रतापले धेरै होनहार कर्मवादीहरूलाई शूली चढाउन पनि पछि पर्दैनन् बा ? पिपलका रूखमा सल्लाका हाँगा, पिण्डस्थाने पिण्डम्, पापीलाई वैकुण्ठ यात्रा, जसको छैन गोठ उसकै चिल्लो ओठ, पो पारे भनेर सरकारको पाँचौँ अघोषित अङ्ग बनेको सामाजिक सञ्जालका भित्ताहरूमा नयाँ रजौटाविरुद्ध व्यापक रूपमा प्रतिक्रियाहरू रङ्गिएका छन् । 

‘विभूषण’ भन्नाले विशेष प्रकारको आभूषण, हीरा, सुन, चाँदी आदिका बहुमूल्य गहना अथवा कुनै महŒपूर्ण पौरख देखाएबापत, दिइने पदक तक्मा आदिलाई जनाउँछ । दिवसको बेला पदक पाउनेहरूको नाम पढ्दा नगण्य असल मान्छेबाहेक सत्ताको भाटगिरीमा अभ्यस्त, चाकडीनिधि, पदीय दायित्व वहन गरेर असफल भई भ्रष्टाचारको नर्ककुण्डमा डुबुल्किएकाहरूले ढुकुरे छातीमा मान ढल्काएको देख्दा सरकारप्रति कुन देशभक्तमा अपमानको ज्वाला दन्किँदैन र ?

वास्तवमा तक्माका हकदार त्यस्ता व्यक्ति हुन् जसले अनुपम सेवा, लोभलाग्दो वीरता, अद्वितीय साहस, प्रखरविद्वत्ता आदिबाट कुनै उल्लेखनीय काम गरेका छन् । तिनैलाई कदर, सम्मान, प्रशंसा दर्शाउन सरकार वा संस्थाबाट दिइने चिहृनाङ्कित मुद्राजस्तो गहना तक्मा वा पदक हो । राणाकाल र पञ्चायतबेलामा झैँ अहिलेका अभिनव रजौटाहरूले देखाएका मेला तथा भेलाका पदकका खेला देख्दा त्यही सामन्तवादका पक्का चेलाजस्ता पो देखिन्छन् त लोकतान्त्रिक गणतन्त्रका आधुनिक जुलुङ्गाहरू ।

केही असल व्यक्तिका हारमा बत्तीमा तार मिलाएझैँ बलै जोल्ठ्याएर कमसल, कामचोर, अनैतिक, दुराचारी मानित हुने परम्पराले यहाँ इमान्दार, सदाचारी र मौलिक सर्जक अपमानित बन्न पुगेका छन् । राम्रोभन्दा हाम्रोमा मानको काम्रो बाँधिदिँदा कता कता चाम्रो, माम्रो र भालुलाई कनपट सावित भइहेको छ चुŒथो दूषण पारिँदैछ विभूषण । गणतन्त्रले त सदाचारीको खोज गरेर तक्माको ओज राख्लाभन्दा त आपूm र आफ्नाकै मोज, पोज, डोज, भोज पो बनाए बा ? डाडुपन्यो लिएको मान्छेनै ढाडु बिरालो पल्टिन थालेपछि कसको के लाग्छ र ? चाकरी, चम्चागिरी, प्रशस्ति तथा स्तवकका ढुकुरे छातीमा जुरे तक्मा भिराएर सुप्रिमोहरूले आफ्ना भाटहरूलाई भदौर भक्कु बनाउँदा विरक्तै लागेर आउँछ राम ! राम ! हे हराम ! ! गाँडतन्त्रै बन्यो बा ! गणतन्त्र त ! भनेर धेरै मान्छे भुतभुताएको दृश्य छ ।

थाम्नै नसक्ने सम्मानपत्र र अभिनन्दन पातोका रङ्गीन विशेषणले बिचरो पुरष्कृत पात्र ‘हंसमध्ये वको यथा’ बन्दै चिल्लीबिल्लीमा परेर मेसो नपाएको दृश्यले लाखेजात्राकै अनुभूति दिन्छ । छैटौँ गणतन्त्र दिवसमा तक्मा, विभूषण र मान सम्मानले सिँगारिएका कतिपयका मुहारमा श्री, चमक र आभा देखिँदैन । आत्मविश्वास, आत्मगौरव, आत्मपौरखले उरस्थल फुलेको अनुभव नै बिचराहरूले गर्न पाउँदैनन् । जसरी हिजोका व्यवस्थाहरूमा प्रदान गरिने बहुरङ्गी तक्मा र मानमा ऊर्जाका पुर्जा भेटिएन । 

मेरी बास्सै ! आज झन् बढी शब्दजाली वाक्तस्करका राजमा पदक त झन् चुŒथो सावित भएको देख्दा प्रणालीको आयुमा प्राण, अपान, उदान, समान र व्यान वायु अड्न आनाकानी गरिरहेको छ । कनिष्ठ जति वरिष्ठ हुनु, दुशासनका पोषक अब्बल घोषकमा मानित हुनु, कमाउनिष्ठहरू ताता कमिनिष्ट बन्नु र नाता गोत्र, क्षेत्र आदिमा पदक, विभूषण, तक्मा, अभिनन्दन कैद बन्नुले हालको प्रणाली समाजवादोन्मुख लोकतन्त्रको गणतन्त्र हो कि सत्तावादोन्मुख जोकतन्त्रको गलगाडोन्मुख पद्धति हो मेसो पाइएको छैन । 

त्यसैले त विभूषणमा विशेष दूषण पस्यो, सम्मानमा अपमान जब्बर भयो, पदकमा मादक भेटिँदैन, तक्मामा तोक्माको आड देखिँदैन । पुरस्कार चाकडी र चम्चागिरीको गुहारको प्रतिफल बन्न पुगेको छ । सबै खाले पुरस्कार पछुवाहरूको गुहार, विनय, पुकार र दासानुदासको जुहार बन्न पुग्यो । त्यसैले त विशेष दूषित र दूषण भएको विभूषणलाई कसरी जिन्दावाद भन्न सकिन्छ र ? धन्य विभूषण ! धन्य तक्मा ! धन्य पदक ! तिम्रो हुर्मत लिने चेष्टामा पञ्चतन्त्रका बूढा त्रूmर बाघको खुल्ला रूपमा दमदमी मच्चिने क्रमको ग्राफ कोरोनाझैँ बढोत्तरीमा छ । यो सतीले सरापेको देशमा के दूषण वा फोहरमैला नै भएका हुन् त तक्मा, पदक, सम्मान र विभूषण ?? प्रश्नहरू घोचा बनेर उभिएका छन् । समाप्तम् । 


Views: 287

सम्बन्धित सामग्री:

कथा : अनि सपना लहराउँछ

: कार्तिक २, २०७७ (११:२३ AM)