31st October | 2020 | Saturday | 5:02:41 AM

गुमनामझैँ एक भलाद्मी सर्जक

नगेन्द्रराज रेग्मी   POSTED ON : आश्विन १०, २०७७ (९:२१ AM)

गुमनामझैँ एक भलाद्मी सर्जक

चिनारी हाम्रो धेरै पुरानो भए झैँ लाग्दछ..........। 

नारायण गोपालको आवाजमा रेडियोबाट यो कर्णप्रिय आवाज सुन्दा म त्यसै त्यसै भावविहृवल बन्दथेँ । नारायण गोपालको आवाजको जादू त आफ्नो ठाउँमा छँदैछ, यो गीत लेख्ने मानिस चाहिँ को होला र कस्तो होला ? भन्ने अर्काे जिज्ञासा मेरो मनमा सदैव आइरहृयो । जब नगेन्द्र थापाको गीत भन्ने कुरा थाहा पाएँ, त्यसपछि त के थियो ? उहाँलाई भेट्ने उत्कण्ठाले सताइरहृयो । अहँ समय र परिस्थिति कहिल्यै अनुकूल बनेन । लगातारको प्रयासपछि एकदिन यो अवसर जुट्यो र हामी एकार्कासँग आम्नेसाम्ने हुन पायौँ । 

‘मेरो दाइ सूर्यबहादुर थापाले आफ्नो परिवारभित्र कोही पनि डाक्टर भएनन् भनेर मलाई काठमाडौंको अमृत साइन्स कलेजमा लगेर भर्ना गराउने प्रबन्ध मिलाइदिनुभयो । त्यतिखेरका प्रिन्सिपल अमृतप्रसाद प्रधानलाई घरैमा बोलाएर उहाँले सबै बेलिविस्तार लगाउनु भयो । त्यहाँ भर्ना भएपछि गड्यौला, साङ्ला र भ्यागुता चिरफार गरेर त्यही हातले घरमा आएर भात खानु पर्दा ज्यादै दिंगमिंग भयो । यो व्यथा, पीडा र बाध्यता सहन नसकी यो पार लाग्दैन भन्ने सोच्न थालेँ । ‘चाहे जुनसुकै डिभिजन आओस् पासमात्र होऊ विदेश पढ्न पठाइदिन्छु’ भनेर दाइले भनेको हुँदा विदेश जाने लोभले मैले यो विषय पढेको थिएँ । अब के गर्ने ? झल्झली दिमागमा यिनै कुराहरू आइरहे पनि अन्ततः डाक्टर हुने आशा मारेँ । त्यसपछि काठमाडौंको असनमा गएर ‘हाम्रो प्रीति बस्यो रे’ नामक कविता संग्रह पाँच सयप्रति छापेर एकप्रति दाइलाई दिँदै अब म यो विषय पढ्न सक्दिनँ, दार्जिलिङतर्फ पढ्न जान्छु भनेर हिडेँ । त्यसपछि त्यहाँ पुगेर त्यहाँको सांगीतिक जमघटमा सामेल हुन थालेपछि म गीति क्षेत्रमा पदार्पण हुन आइपुगेको हुँ । मेरो गीति क्षेत्रको पृष्ठभूमि सायद यही हो भाइ ।’ गीति क्षेत्रमा पदार्पणका प्रारम्भिक पृष्ठभूमि खोतल्ने क्रममा उहाँले सविस्तार सुनाउनुभयो ।

यही गीतको बारेमा अलि धीत मर्नेगरी कुराकानी गर्न चाहेँ मैले । ‘चिनारी हाम्रो धेरै पुरानो....’ यस्तो कालजयी गीत तपाइँले कुन परिस्थितिमा लेख्नुभयो, यसको रचनागर्भ पनि सुनौ न ?

‘मलाई निकै अघिदेखिनै एउटा अलि नयाँ पाराको गजबको गीत लेख्न मन लागिरहेको थियो । सस्ता खालका गीतहरू आइरहेको परिप्रेक्षमा विभिन्न अर्थ निस्कने गहन गीत लेख्ने इच्छा जागृत भएकाले यो गीत गोपाल योञ्जनको सल्लाहबमोजिम ल्याएको हुँ । यो गीत एउटा बंैसालु मान्छेले सुन्यो भने ए यो गीत त मेरो लागि लेखिएको रहेछ भन्ने लागोस् । एउटा छोरा जो आफ्नी आमालाई अन्यन्त माया गर्छ उसले मेरी आमाको लागि लेखिएको ठानोस्, आम मान्छे र प्रकृतिबीचको सम्बन्ध कस्तो छ भन्ने पनि देखियोस्, त्यसैगरी कोही अध्यात्मतिर ढल्केको छ भने उसले आफ्नो आध्यात्मिक पक्ष पनि देखोस् । यसरी यस गीतमार्फत् मैले चारपाँचवटा कुराहरू बहुअर्थी रूपमा प्रस्तुत गर्ने प्रयासबाट नै यो गीत सिर्जना गरेको हुँ ।’ 

यो गीत नै नगेन्द्र थापाको वास्तविक परिचय दिने गीत बन्यो होइन ?

‘त्यसरी त नभनौँ होला । त्यतिमात्र पनि होइन, यही गीतको अर्काे रमाइलो प्रसंग पनि छ । मेरो सांगीतिक क्षेत्रसँग निकट सम्बन्ध हुनु त सामान्य नै कुरा भयो । एकताका साहित्यकारहरूसँग म निकै निकट रहेको थिएँ । न्यूरोडको इन्दिरा रेष्टुराँमा बेलुकी सात, साढेसातताका साहित्यकारहरू प्राय जम्मा हुने गर्थे । त्यहाँ उपेन्द्र श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, मदन रेग्मी, द्वारिका श्रेष्ठलगायतका सर्जकहरू भेला हुन्थ्याँै । ‘चिनारी हाम्रो धेरै पुरानो...’ गीत रेकर्डिङ भएर आएको पनि दश÷बाह्र वर्ष भइसकेको थियो । एउटा भर्खरैको मान्छे मेरो अगाडि आएर ‘चिनारी हाम्रो धेरै पुरानो ...’ भन्दै ट्याप्प मेरो हात समाएर सुमसुम्यायो र त्यही हात मिलाएर हिँड्यो । 

त्यहाँ ऊ कतिखेर आयो, आउन नपाउँदै ऊ फेरि हिँडिगयो । ऊ को हो, कहाँबाट आयो ? कस्तो थियो ? र कता गयो ? केही थाहै पाइनँ । उसको नाम र परिचय सोध्नेसमेत दिमागमा आएन, न त उसले नै बतायो । यो अप्रत्यासित यति छिटो भयो कि मैले केही अनुमानै गर्न सकिनँ । त्यस्तो त्यो बेलामा दुई तीन पटकभन्दा बढी भयो । झण्डै झण्डै यो कुरा बिर्सनै लागेको थिएँ, गत दुई तीनवर्ष अगाडि म ठमेलको कर्मचारी सञ्चयकोष भवन अगाडिबाट जाँदै थिए, विपरीत दिशाबाट ठीक त्यसैगरी एउटा व्यक्ति आएर त्यही गीतको एकलाइन भनेर हात समातेर थपथपाउँदै फेरि हिँडिगयो । यतिखेर पनि उसको बारेमा जान्ने मौका मिलेन, म फेरि झल्यास्स भएँ, ‘ए यो त त्यही निकै वर्ष अगाडि आउने मानिस नै पो हो त !’ अब त ऊ निकै बुढो पनि भइसकेको जस्तो लाग्यो । यो कुरा सम्झँदा अहिले पनि रमाइलो लाग्छ ।’ 

अब म अलि भिन्नै प्रसंगमा जान्छु, तपाइँको दाइ सूर्यबहादुर थापा नेपालमा धेरैपटक प्रधानमन्त्री बन्नुभयो । उहाँको आफ्नै भाइ कला, साहित्य र संस्कृतिमा यसरी लागिरहँदा कुनै उल्लेख्य काम किन गर्न गराउन सक्नु भएन ? ‘ठीक भन्नुभयो, त्यसवेला खासै गराउन सकिएन, जति गर्नुपथ्र्याे ।’ 

किन होला? के कारण प-यो त त्यस्तो ?

‘हेर्नुहोस्, त्यसबेलाको परिस्थिति अलि भिन्न थियो । रेडियो नेपाल दरबारसँग सम्बन्धित थियो । नाचघरमा पनि दरबारकै विश्वासपात्र व्यक्तिहरूको हालिमुहाली चल्ने गर्दथ्यो । दरवारको स्वीकृतिबेगर त्यहाँ नयाँ काम, योजनाहरू केही पनि लागू गर्नगराउन सकिँदैनथ्यो । त्यो दरबारमा जाहेरी भइजान्थ्यो, त्यसपछि अनेकांै कुराहरू सोधपुछ हुन थाल्थ्यो । त्यो व्यक्ति को हो ? उसको उद्देश्य के हो ? कस्तो पृष्ठभूमिको व्यक्ति हो ? आदि कारणले गर्दा त्यो कार्यक्रम र योजनाले कहिल्यै पनि सार्थक रूप लिन सक्दैनथ्यो । त्यसको अलावा केही गर्दै नगरेको त होइन तर त्यसले चर्चा पनि पाएन । जस्तो सांस्कृतिक संस्थानको महाप्रबन्धकमा मलाई नियुक्तिको चिठी तयार पारिएको रहेछ । त्यतिखेर केबी शाही सम्बन्धित मन्त्री थिए । उनले ‘ल भाइ चिठी बुझ’ भने । 

मैले त्यसलाई इन्कार गर्दै भनेँ–‘त्यो कलाकारको ठाउँ हो, त्यसमा त नारायण गोपाललाई पठाउँदा उपयुक्त हुन्छ, उनी त्यही कार्यरत पनि छन्’ । पहिला त उनले मान्दै मानेनन् तर निकै जोड गरेपछि त्यसोभए मलाई तीन चार दिनको समय देऊ म विचार गर्छु भने । नभन्दै एकदिन उनले मलाई र नारायण गोपाललाई सँगै बोलाएर भने– ‘नारायण गोपालजी तपाइँले त गजबकै साथी पाउनु भएछ, आफ्नो नामको महाप्रबन्धक पद कसैले अरूलाई पजनी गर्न सक्छ ? अनि शाहीले चेतावनीको शैलीमा– तपाइँले तलमाथि गरेर काम बिगारे म नगेन्द्र थापालाई कारबाही गर्छु भनेर नारायण गोपाललाई नियुक्ति पत्र थमाउँदै मलाई वाचाबन्धन गराएका थिए । यसरी नारायण गोपाललाई त्यहाँ लगेर काम गराइयो । 

अर्काे हो– माधवप्रसाद घिमिरेलाई राष्ट्रकवि बनाउनका लागि निकै कसरत गरिएको थियो । यसको मुख्य श्रेय त नरेन्द्रराज प्रसार्इंलाई नै जानुपर्छ । तर त्यतिखेरका शक्तिशाली मन्त्री कमल थापामार्फत् प्रधानमन्त्री दाइनै हुनुहुन्थ्यो उहाँलाई भनाएर उहाँमार्फत् राजा ज्ञानेन्द्रसमक्ष कुरा पु¥याई यो काम फत्ते गराइएको थियो । सायद यो गुन सम्झिएरै होला कहिल्यै नटेकेको राष्ट्रकविको घरमा हामी दम्पतीलाई खाना खुवाउन बोलाउनु भएको कुरा पनि रमाइलो लाग्दछ । 

तर, एउटा कुरा चाहिँ के हुँदो रहेछ भने दाइको व्यक्तित्वको अगाडि भाइको व्यक्तित्व भाइ नै हुँदो रहेछ । दाइ प्रधानमन्त्री हुनेबित्तिकै भाइ लो प्रोफाइलमा गइजान्छ, हामीमा त्यो कुरा लागू भएको थियो । यसको असर दाइमाथि पर्न जाने हुनाले हामी सतर्क रहने गथ्र्याैं । अरू प्रधानमन्त्री हुँदा दाजुभाइहरू करोडांैमा जाने हामी चाहिँ बाउको सम्पत्तिमा हारालुछ गर्नुपर्ने । ठूलो रूखको छहारीमुनि बस्दा सेप लाग्छ भन्थे हो रहेछ ।’ निकै गम्भीर भएर उहाँले कटू सत्य बोल्नुभएको थियो । 

पिता टेकबहादुर थापा र माता दुर्गा थापाको कोखबाट २००२ सालको असार ९ गते धनकुटा जिल्लाको मुगा भन्ने स्थानमा उहाँको जन्म भएको हो । उहाँले दार्जिलिङबाट ग्य्राजुयट गरेर अंग्रेजी साहित्यमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गर्नु भएको थियो । २०३० सालमा मञ्जु थापासँग विवाह गरेर एक छोरा र एक छोरीको बाबुमात्र होइन हजुरबुवासमेत बनिसक्नु भएको छ नगेन्द्र थापा । उहाँको उमेर अहिले ७५ वर्षको देखिन्छ । तर कपाल र जुँघा फुलेबाहेक उहाँमा बुढ्यौलीको छेकछन्द छैन । उहाँ निरोगी हुनुहुन्छ । विहान चार, साढेचार बजेतिर उठे्र प्राणायाम र घुमघाम गर्नुहुन्छ । त्यसैले उहाँ तन्दुरुस्त हुनुहुन्छ । 

हाम्रो प्रीति बस्यो रे (२०१८÷०१९), सिन्कौली माया (२०२२÷०२३) कविता संग्रह तथा गोपालको बाँसुरी (२०२४) गीति संग्रह उहाँका प्रकाशित कृतिहरू हुन् । 

यत्तिखेर चाहिँ उहाँ लेख्नेभन्दा बढी पढ्ने काम गरिरहनु भएको रहेछ । गुलजारमाथि लेखिएको एउटा पुस्तक पढिरहेको छु भन्नुहुन्छ । गीत र कवितामा के अन्तर छ ? त्यो कुरा उहाँकै मुखबाट सुन्ने इच्छा जागृत भयो । अहिले कुनै पनि कवितालाई संगीतले सजाउन सक्यो भने त्यो गीत भइदिन्छ पनि भन्ने गरिन्छ । त्यसमाथि उहाँ त दुईवटै क्षेत्रमा कलम चलाउने मान्छे ।

‘हामीले यसमा हात हाल्दा धेरै अन्तर देखेका थियाँै । हामी तीनजना नारायण गोपाल, गोपाल योञ्जन र मैले यस क्षेत्रमा लाग्दा नै यसमा भिन्नता हुनुपर्छ भनेर लागेका हाँै । गीत र कविताका आआफ्नै निश्चित उद्देश्यहरू हुन्छन् । त्यतिखेरका गीतहरू र अधिकांश अहिलेका गीतहरू पनि प्रेम र माया प्रीतिकै सेरोफेरोमा घुमिरहेको हुन्थे । सामान्यतया गीतमा यी कुराहरू हुनु स्वाभाविक नै हो । तर, गीत यत्ति मात्र चाहिँ निश्चय नै होइन । गीत मानव जीवनको अत्यन्त निकट पुग्नुपर्छ, उनीहरूको जीवन भोगाइ, दुःख कष्ट, समाजका यावत् विषयवस्तु र घटनाक्रमलाई यसमार्फत् उद्घाटित गर्नुपर्छ भन्ने नै हाम्रो मान्यता हो । केवल अनुप्रास या अन्त्यानुप्रास मिलाउने कलामात्र गीत होइन भन्ने हाम्रो धारणा थियो ।’

‘निश्चय नै हामीले यही भावनाअनुसार लेखेका थियौँ । यसमा म सबभन्दा बढी गोपाल योञ्जनलाई श्रेय दिन्छु । ऊ जत्तिको व्यापक विधा र भोगाइका गीत लेख्ने मान्छे शायद नेपालमा कमै होलान् । उनका प्रत्येक गीत कविताका निकट छन् । उनले गाएका गीतको संगीत झिकिदिने हो भने पनि ती प्रत्येक गीत बाँच्छन् । सायद त्यसैले पनि हामीले साहित्य र संगीतलाई एकाकार गर्न ‘बागिना’ नामक पत्रिका जन्माएका थियौ ।’

म नगेन्द्र थापासँग होइन, गोपाल योञ्जनसँग अन्तर्वार्ता लिन आइरहेको हुँ । जताबाट सुरु गर्दा पनि उहाँको उत्तरमा गोपाल योञ्जन जोडिन आइपुग्छन् । यदि गोपाल नहुँदा हुन् त सायद नगेन्द्र पनि हुँदैनथ्ये कि जस्तो । हुन पनि यी एकर्काका ज्यादै निकट भएर बसेका रहेछन् । 

दार्जिलिङ, सिक्किम, खर्साङतिरका सांगीतिक चहलपहलहरू बारे पनि उहाँ जानकारी राख्नुहुन्थ्यो, आजकाल चटक्कै छाडे भन्नुहुन्छ । गोपाल योञ्जनलाई उहाँले नै नेपाल ल्याउनु भयो, तर कर्म योञ्जनलाई चाहिँ किन छुटाउनु भयो त ? गोपाल योञ्जनसँग मेरो धेरै मिल्ती थियो, सँगै लेखपढ गथ्र्याैं । कर्म योञ्जन चाहिँ हामी भन्दा एक तहमाथि थिए । फेरि मैले भनेर उनी मान्ने पनि थिएनन् । दार्जिलिङबाट बिए पास गरेर नेपाल आएपछि गोपालविना म बस्नै सकिनँ । उसको शून्यता मलाई यति बिझायो कि के भनौँ ! 

नेपाली पढ्नका लागि के तिमी काठमाडौं आउन सक्छौ ? म सम्पूर्ण व्यवस्था मिलाउछु आऊ भनेर चिठी लेखेँ । उसले पनि म मिलाउँछु भन्दै रहे । गोपाल सानै हुँदा उनको बुबा बित्नु भएको थियो । विधुवा आमाको लाडप्यारमा हुर्किएको एकमात्र छोरा थिए उनी । अन्त्यमा म आफँै दार्जिलिङ गएर सर्वप्रथम गोपालकी दिदी पूर्णिमालाई सबैकुरा बताएँ । धेरै कुरा बताएपछि उहाँ मान्नुभयो । अनि आमासँग गएर भने, ‘मलाई गोपाल चाहियो’ । नभन्दै उहाँले पनि तिम्रो विश्वासको भरमा छोरोलाई दिएँ भन्नुभयो । 

उहाँहरू बुद्धिष्ट हुनुहुन्थ्यो र आफ्नो पूजा कोठामा भगवान् राख्ने ठाउँभन्दा मुनि गोपाल योञ्जन र मेरो फोटो राख्नुहुन्थ्यो । पछि नारायण गोपालको पनि फोटो थप्नु भएको थियो । उहाँले गोपाल योञ्जनलाई मात्र होइन, हामीलाई पनि आफ्नै छोरा जत्तिकै मानेर मेरा तीनजना छोरा हौ भनेर माया तथा स्नेह सदैव प्रदान गरिरहनु भयो ।’ 

‘नारायण गोपालसँग पनि मेरो अत्यन्त सुमधुर सम्बन्ध रहृयो । अझ भन्नुपर्दा उनको घरपरिवारसँगका सबै सदस्यहरूसँग मेरो राम्रो सम्बन्ध थियो । उनका दाजुभाइ, दिदीबहिनी, पिताजी सबैसँग मेरो राम्रो उठबस थियो । सिधै नारायण गोपाललाई उहाँहरू केही भन्न नसक्ने । केही भन्नु प-यो भने ममार्फत् कुरा गराउने गर्नुहुन्थ्यो । उहाँको पिताजी आशागोपाल गुरुवाचार्य सितारवादक हुनुहुन्थ्यो । उहाँको शास्त्रीय संगीतमा पनि ज्ञान थियो । नारायण गोपालले पनि शास्त्रीय संगीत सिकोस् भन्ने उहाँको चाहना थियो र यही कुरा मैले मञ्जुर गराओस् भन्ने चाहनु हुन्थ्यो । यो नारायण गोपालले ‘ए कान्छा ठट्टैमा बैंस जान लाग्यो ...’ जस्तामात्र गीत नगाए हुन्थ्यो भन्दै सम्झाइदिनु प¥यो भनिरहनु हुन्थ्यो ।’ 

नारायणगोपाल र गोपाल योञ्जनमा पछि नराम्रो दरार आयो । यसबारे उहाँ भन्नुहुन्छ ‘नेपाली सुगम संगीतका यी दुई धरोहरहरू हुन् जसको पूर्ति हामीकहाँ धेरै समयसम्म खड्किरहने छ । यिनीहरू विभक्त हुनु भनेको नेपाली सांगीतिक क्षेत्रकै अपूरणीय क्षति थियो । म यी दुवैलाई एक ठाउँमा ल्याउने पुल बनेँ । वसरी भए पनि त्यो मित्रता संल्याउने प्रयत्नमा हुन्थेँ । नभन्दै पहिलेकै अवस्थामा उनीहरू आए ।’ 

‘भित्री चुरो कुरो मलाई पनि थाहा छैन, तर जहाँसम्म इगो नै हो । गोपाल योञ्जनमात्र होइन, नारायण गोपाल पनि गायकमात्र त होइन संगीतकार पनि हो । दुवै एकै क्षेत्रका व्यक्ति । कुरा लगाएर फाटो गराउनेहरू पनि यो दरारको कारण हुनसक्छन् ।’ 

चानचुन साठी, सत्तरीवटा जति गीत लेखेका नगेन्द्र थापाका बाह्र, चौधवटा गीतमात्र रेकर्ड भएका थिए तर अहिले त्यो पनि घटेर चार पाँचवटामा सीमित हुन पुगेको छ । ‘नेपालमा प्रसारण संस्था भनेकै रेडियो नेपाल थियो, त्यो बेला । अनि रेडियो नेपाल दरवारको कब्जामा थियो । दरबारबाट नियुक्त भएका व्यक्तिहरूमात्र त्यहाँ जागिर खान पाउँथे । त्यतिखेर गायक, संगीतकार र गीतकारहरूले आआफ्ना गीतहरूमात्र बजाउने, अरूका राम्रा गीत हटाइदिनाले त्यसो भएको हो म त्यही मारमा परेँ’ उहाँ भन्नुहुन्छ । ‘मेरा चार, पाँचवटा जति गीत हराए ।अहिले तिनको नामोनिशान छैन ।’ 

‘तीमध्ये एउटा निकै राम्रो गीत थियो, ‘तिमी देख्दा रहर होला लागेर आउँछ, त्यसै त्यसै...’ अहिले यो छैन । यो गीत नारायण गोपाल र इन्दिरा मास्केले गाएका थिए । यसको संगीत थियो– गोपाल योञ्जनको । यस गीतमा एउटा प्रयोग गरिएको थियो । जस्तो पहिले केटाको स्वरका लागि मैले लेखेँ, केटीको स्वर गोपाल योञ्जनले लेखे । अनि फेरि साटफेर गरेर दोस्रोमा केटाको स्वर गोपाल योञ्जनले र केटीको स्वरका लागि मैले लेखेर नयाँ प्रयोग गर्न खोजेका थियौ ।’

‘मेरा सबै गीत नारायण गोपालले मात्र गाएका छन् । स्टेजमा या अरू कार्यक्रममा त तारादेवी, माणिकरत्न, कुमार सुब्बा आदि–आदिले पनि गाए, तर रेकर्ड भएको चाहिँ केवल नारायण गोपालको आवाजमा मात्र हो ।’ 

‘गीत लेख्नुभन्दा अगाडिनै म दार्जिलिङमा कविको रूपमा परिचित भइसकेको थिएँ । कविता प्रतियोगितामा भाग लिन्थेँ, पुरस्कार पनि पाउँथे । त्यतिखेर गोपाल योञ्जन र म दुवै दार्जिलिङको कला मन्दिरमा काम गरिरहेका थियौँ । उसले मलाई गीत लेख्न प्रेरित गर्न थाल्यो । एकदिन उसले मलाई एउटा रंगमगाउने गीत लेख्न अनुरोध ग¥यो र धुन पनि दियो । अनि मैले पनि त्यही धुनमा यस्तो गीत लेखेँ– 

‘नशामा तिमीले के के पिलायौ, आँसु कहिले हाँसो पिलायौ ।’

त्यो गीत धुनबद्ध भयो । गोपाल योञ्जनले संगीत दिए । गोर्खा दुःख निवारक सम्मेलन (जिडिएनएस) को हलमा सांस्कृतिक कार्यक्रमको आयोजना भयो । त्यहाँ गायक कुमार सुब्बाले त्यो गीत गाए । त्यो गीत सुनेपछि मलाई यति आनन्द आयो कि वास्तविक गीतकार हुनुको मज्जै अर्कै रहेछ भन्ने लाग्यो । म त्यतिखेर आफ्नो गीत सुनेर, आफँै दंग परेको प्रथम र सुखद् अनुभूति थियो ।’ 

‘२०२२÷०२३ सालतिरको कुरा हुनुपर्छ यो तर यो गीत रेकर्ड भएन । हुन पाएन । त्यतिखेर रत्न रेकर्डिङ भर्खरै स्थापित भएको थियो । रत्न रेकर्डिङले नारायण गोपाललाई आठवटा गीतको रेकर्ड गर्न अनुमति दिएको समय परेको रहेछ । त्यसैले उनी राम्रा गीतहरू खोज्न दार्जिलिङ आएका थिए । त्यही समयमा हामीले पनि कला मन्दिरमा बसेर चालीस पचासवटा गीतहरू धुनबद्ध गरेका थियाँै । प्रत्येक गीत सुनाएपछि त्यसमध्ये मन परेका आठवटा गीत लिएर उनी नेपाल आए । तिनै गीतबाट म मात्र होइन, नारायण गोपाल र गोपाल योञ्जन सबैजना चिनियौँ । नारायण गोपालको गायकीको चोला फेरिएका गीत पनि तिनै भए ।’

गीतलाई स्तरीय पार्न रचना, संगीत र गायन तीनवटा कुरामध्ये कुन बढी जिम्मेवार हुनुपर्छ होला ?

‘तीनवटै उत्तिकै सशक्त हुनुपर्छ, सबै बराबर हुन् । कुनै एउटा मात्र तलमाथि प¥यो भने त्यो राम्रो हुँदैन । सर्वप्रथम शब्द कलात्मक हुनुप¥यो । त्यसलाई सही रूपमा संगीतमा अनुवाद गर्नुप¥यो । अनि संगीत र शब्दको मर्ममाथि गायनले पनि उत्तिकै न्याय दिन सक्नुप¥यो, तबमात्र गीत स्तरीय हुन्छ ।’ 

गीतकार सँधैभरि ओझलमा परिरहनुको कारण ?

‘यो दुःखान्त पाटो हो । प्रायः सबैतिर यस्तै देखेको छु । भारतमै पनि यस्तै देखिन्छ । खप्नुपर्छ । पहिलो स्रष्टा गीतकार नै हो, त्यसैको जगमा उभिएर संगीत संयोजन र गायन हुन्छ । गीतकार र संगीतकार स्रष्टा हुन्, गायक प्रस्तोतामात्र हो ।’

‘मलाई के लाग्छ भने यो मुड भन्ने कुरा परिस्थितिले जन्माउँदो रहेछ । दार्जिलिङको कला मन्दिरमा रहँदा सधैँभरि मुडै मुड हुन्थ्यो । गोपाल योञ्जन, कर्म योञ्जन, कुमार सुब्बा, दिलमाया त्यहाँ मुडको के कमी ? नेपालमा आएपछि केही कम लेखियो ।’ 

नगेन्द्र थापाले बदलिँदो आकाश र नेपाल प्यारो छ चलचित्रमा गीत लेख्नुभयो । यसो गर्दा उहाँलाई झन् मजा हुन्छ, चारैतिर बहकिनै परेन । एउटै विषयवस्तुमा केन्द्रित हुन पाइन्छ भन्नुहुन्छ उहाँ ।

हिजो र आजका गीतमा कस्तो अन्तर पाउनु हुन्छ ?

‘आकाश जमिनको अन्तर पाउँछु । हिजोका गीतहरू आनन्दले सुनेर मजा लिन सकिन्थ्यो भने आजका गीत केवल हेर्नमात्र सकिन्छ ।’ 

मैले सोधेको थिएँ ‘दाइ भोलिको पुस्ताले यहाँलाई कसरी चिनिदिऊन् भनेझँै लाग्छ ?’ निकैबेरको मौनतापछि उहाँले विस्तारै भन्नुभयो– ‘यो प्रश्न तपाइँबाट सुन्न जति सजिलो लाग्यो, उत्तर दिन त्यत्तिनै गाह्रो लाग्यो । सायद यो मेरो लागि कठिन प्रश्न हो । यसको उत्तर आएन ।’ उहाँलाई उत्तर नआएर हो कि ? आफ्नो बारेमा, आफँैले बोल्न नचाहेर हो ? मैले अनुमान गरेँ । 

हुन पनि आफूलाई प्राप्त भएको सांस्कृतिक संस्थानको महाप्रबन्धकजस्तो गरिमामय पदसमेत त्यागेर आफ्नो परम मित्रलाई हस्तान्तरण गर्न सक्ने विशाल छाती आफूसँगै उच्च र सुरक्षित राखिरहने व्यक्तिले म यस्तो हुँ, उस्तो हुँ भनेर किन आफैँ आफ्नो बखान गर्ने ? भनेर पनि हुनसक्छ । शक्तिशाली प्रधानमन्त्रीको भाइ भएर पनि विना कुनै गुनासो गुमनाम बस्न रुचाउने नगेन्द्रबहादुर थापासँगको लामो भलाकुसारीपछि बिदा भएर निस्केँ म ।


Views: 369

सम्बन्धित सामग्री:

कथा : अनि सपना लहराउँछ

: कार्तिक २, २०७७ (११:२३ AM)