28th October | 2020 | Wednesday | 10:33:07 PM

डा. लोहिया र जेपीको सम्झना

हिमालय टाइम्स   POSTED ON : आश्विन २८, २०७७ (१२:१३ PM)

डा. लोहिया र जेपीको सम्झना

काठमाडौं ।  भारतका समाजवादी चिन्तक डा. राममनोहर लोहिया र जयप्रकाश नारायणको जन्मस्मृतिका अवसरमा उहाँहरूको समाजवादी विचारबारे जनसंवाद कार्यक्रम सम्पन्न भएको छ । सानो पाइला र सेन्टर फर सोसियल इन्क्ल्युजन एण्ड फेडरिल्जमको संयुक्त आयोजनामा भर्चुल माध्यमबाट भएको कार्यक्रममा नेपाल र भारतका वक्ताहरूले समाजवादलाई छरपष्ट पारिएको अवस्थामा उहाँहरूका चिन्तनको सान्दर्भिकतामाथि बहस हुनुपर्ने विचार प्रकट गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालको परिवर्तनमा उहाँहरूको योगदान रहेको र समाजबारे प्रेरणा मिलेको बताउनुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका समाजवादी विचारक प्रदीप गिरीले गान्धीको पार्थिव अवशान हुनासाथ स्वराज अवधारणा समेत जलेको चर्चा गर्दै विकासको मोडेलले आमनागरिकलाई सम्बोधन गर्न असमानता र विपन्नता हटाउन, जातीय विभेदबाट समाज मुक्त हुन र शासकीय सामन्ती सोचको अन्त्य हुनसकेमा मात्र समाजवादको बाटो प्रशस्त हुने विचार प्रकट गर्नुभएको थियो । 

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपालको स्वतन्त्रता आन्दोलनमा लोहिया र जयप्रकाश नारायणको योगदान भएजस्तै बिपी कोइरालासहित नेपाली नेता र जनताले पनि भारतको स्वतन्त्रताका लागि योगदान रहेको बताउनुभयो । नेपाल र भारतका बीचमा भूगोल, संस्कृति, सामाजिक व्यवहार, आर्थिक र राजनीतिक सम्बन्धहरू रहेको र यो सम्बन्ध जनस्तरमा विद्यमान भएको बताउनुभयो । निधिले ०४६ मा  समाजवादी नेता चन्द्रशेखर सहित भारतका प्रमुख राजनीतिक दलका नेताहरू नेपालमा आएर लोकतान्त्रिक आन्दोलनलाई ऊर्जा प्रदान गरेको स्मरण गर्नुभएको थियो । कार्यक्रममा भारतीय समाजवादी नेता शिवानन्द तिवारी, अधिकारकर्मी अनिल प्रकाश तथा नेपालका वरिष्ठ पत्रकार चन्द्र किशोर, पूर्वराजदूत विजयकान्त कर्ण र

कञ्चन झाले समेत आफ्ना विचार राख्नुभएको थियो ।

कञ्चन झासहित सम्मिलित सानो पाइलोले कोरोना संक्रमणका समयमा प्रदेश २ का विभिन्न जिल्लाका विपन्न नागरिकलाई  करिब एकलाख छाक भोजन गराएको र निजी सहभागितामा वीरगन्जमा ६ वटा भेन्टिलेटर समेत व्यवस्था गरेको छ । सानो पाइलोमा आबद्ध युवाहरूको समूहले गरेका कामहरूको यहाँ प्रशंसा गरिएको छ ।


Views: 140

सम्बन्धित सामग्री:

कथा : अनि सपना लहराउँछ

: कार्तिक २, २०७७ (११:२३ AM)