31st October | 2020 | Saturday | 9:37:08 PM

...र कथान्त यसरी भयो !

डा. नारायण चालिसे   POSTED ON : कार्तिक १, २०७७ (८:५७ AM)

...र कथान्त यसरी भयो !

एक दिन तन्द्राजस्तो अबस्थामा थिएँ अचानक कोही अपरिचित व्यक्ति मेराअगाडि आएर उभिएझैँ मानेँ । यसो हेरेँ अनुहार त्यति चिनेजस्तो लागेन । मैले ठम्याउन नसकेर सोधेँ ‘बाबु को हुनुहन्छ मैले त चिनिनँ नि ?’

अनि उसले थकित हुँदै भन्यो ‘यस्तो दुःखमा ल्याएर फसाइदिनु भएको छ । अनि चिन्न गाह्रो मान्नुहुन्छ सर ? म सागर अधिकारी । तपाईंले आधा बाटामा ल्याएर राख्नुभएको मान्छे मै हुँ चिन्नु भएन ? अब धेरै दुःख खेप्न सक्दिनँ सर मलाईं छिटै अमेरिका पु¥याइदिनु प-यो’ भन्यो ।

म तर्सिएँ, यो के हुँदैछ ? अब हुँदाहुँदा पात्र स्वयं मसँग आएर आफ्नो अधिकार माग्न थालेपछि एकातिर मेरो लेखन सफल हुँदैछ झैँ पनि लाग्यो । जब पात्रले लेखकको भरोसा गर्छ र उसकोमा आएर सफल अवतरणको आग्रह गर्छ तब लेखक उद्देश्यमा कामयाव भएको मान्नुपर्छ । साथै अर्कातिर यो एउटा भयलाग्दो कुरा पनि हो । यदि पात्रले आफ्नो अनुकूल परिणाम पाउँदैन तब उसले लेखकसँग रिस पोख्न सक्छ ।

मलाई अर्को समस्या के थियो भनेँ म न धेरै उदार भएर सागरलाई छिटोभन्दा छिटो कुनै समस्यामै नपारी अमेरिका छिराइहाल्न सक्थेँ न म उसको त्यो असजिलोलाई सहज किसिमले लिन सक्थेँ ।

धेरैले कठोर किसिमले व्याख्या गर्दै आएको अमेरिका छिर्ने यो तल्लो बाटोका ती कहालीलाग्दा घटनाहरूलाई बिर्साएर मैले सागरलाई अमेरिका छिराउने कुरा पनि आएन । घरमा त्यति धेरै कर गर्दा पनि जिद्दी गरेर हिँड्ने, सम्पत्ति भएर पनि विदेशको भूतले लखेटिएर छ महिनापहिले मात्र बिहे गरेकी पत्नीका आँसुको अपमान गरेर हिँड्ने सागर र यस्तै अरू धेरै ठिटाठिटीहरूलाई यो घटनाले केही शिक्षा पनि दिनुपर्छ भन्ने मेरो कलमको जिद्दीले गर्दा पनि म यो घटनाको सहज अवतरण चाहन्नथेँ । 

त्यसो त मैले चाहेर त केही पनि सम्भव थिएन । म पनि दलालको फन्दामा पनि फसिसकेको थिएँ । अब त उनीहरूले पनि सजिलै यो कथालाई पूरा गर्न दिँदैनन् । यसो भयो भने उनीहरूको रोजीरोटी नै खोसिन्छ । सागरले अनुरोध गरेलगत्तै दलालहरू आएर थर्काए मलाई । तपाइँले हामीलाई दोषी बनाउन, अपराधी मान्न वा ठग बनाउन पाउनुहुन्न । हामीले कसैलाई बलपूर्वक ल्याएका त होइनौँ नि । उनीहरू नै आएर हामीलाई बाध्य पार्छन् । 

अनि हाम्रो निम्ति पनि यो खाँचोको कुरा हो । हामीले पेट पाल्नु परेन ? यदि यसरी जान नमिल्ने हुँदो हो त हामीे पनि किन कोसिस गथ्र्यौं र ? वर्षौंदेखि यसरी हिँड्न दिइएको छ र न हामीले पनि हिँडाएका छौँ । यदि नियममा कडाइ गरियो भने हामीले मात्रै चाहेर पनि त हुँदैन ।

कुरा यिनीहरूका पनि जायज थिए । सायद यो आप्रवासी भित्र्याउने एउटा प्रक्रियाभित्रैको कुरा भएको छ । अन्यथा अमेरिकाले नचाहने हो भने के यो बाटो सम्भव छ र ? सायद छैन । यी धेरै कुराहरू हुनेरहेछन् गर्भमा हामीले बुझेका मानिएका कुराहरूभित्र ।

त्योमात्रै कहाँ थियो र म त धेरैतिर फसिसकेको थिएँ । नेपालमा विवाह गरेकी पत्नीलाई छ महिनामै छोडेर अमेरिका छिर्न हिँडेको सागरका ससुराको म साथी थिएँ । उसले अमेरिका छिरेपछि यतैकी केटीसँग कागजी विवाह गरेर बसेको थियो । उताकी श्रीमतीको कठिन प्रतीक्षालाई मैले के भनेर समाधान दिने ? यता अमेरिकी केटी पनि परिचित भइसकेकी थिई । उसले पनि सागरलाई गहिरो प्रेम गर्न थालेकी थिई । 

पाँच वर्षपछि सागरलाई डिभोर्स दिनुपर्ने सर्तअनुसार अब उसले डिभोर्स दिनुपर्ने थियो तर उसले मानिरहेकी थिइन । सागर पनि दोहोरो प्रेमको फन्दामा फसेको थियो । उसको मनोद्वन्द्व र उसको दशा बेग्लै अत्याउने खालको थियो । उसले पनि मेरै सल्लाह खोज्थ्यो । मलाई न मिलाएर प्रेमका पहेली लगाउन आउँथ्यो, न कठोर मनले गाली गर्न वा चित्त दुःखाउन सक्थेँ कसैको । न कसैलाई विश्वास घात गराउन सक्थेँ । यी धेरै असजिलाहरूको भुँमरीमा फसेको थिएँ म ।

घरि घरि अत्यास लागेर आउँथ्यो किन थालेँ यति असजिलो कथा लेख्ने काम ? मलाई आफ्नै कर्ममा रिस उठ्न थालेको थियो । जसले गर्दा म दिनमा र रातमा पनि बेचैन हुन थालेँ । अमेरिका घुम्न आएको म जतिखेर पनि तनाबमा रहेजस्तो देखेर छोरी पनि चिन्तित हुन थालेकी थिइन् ।

मेरो असजिलो अपत्यारिलो थियो तर साँचो थियो । घटना वा विषय वस्तुलाई सुरक्षित अवतरण गराउन नसक्नु लेखकीय असफलता हो भन्ने तनावले समेत गाँज्न थालेको थियो ।

कसैको जीवनमाथि खेलबाड गर्नु राम्रो थिएन । म त तीन तीन जना पात्रको जीवनसँग खेलबाड गर्दैथिएँ । मेरो निम्ति सबै बराबर थिए कसमाथि विश्वास घात गरूँ ? तर मलाई सीमा र एलीमध्ये एउटीप्रति विश्वास घात गर्नै थियो । 

म सागरको अनुहारमा विश्वासघातका रेखा खोज्न थालेँ । त्यसो त काठमाडौंबाट हिँडेकै दिन उसले सीमामाथि सानोतिनो विश्वासघात गरिसकेको थियो । त्यसैले ऊ अपराधी त थियो नै । एलीको तुलनामा सीमाको विश्वासघात लेख्न मेरो निम्ति सजिलो बाटो थियो तर म त्यो एउटी सोझी नेपाली चेली जो छ वर्षदेखि स्वार्थी पतिको बाटो कुरेर बसेकी थिई त्यसमाथि अन्याय लेख्न चाहन्नथेँ । त्यसमाथि ऊ मेरा साथीकी छोरी पनि थिई । त्यतातिर सोच्ने बित्तिकै काठमाडौंका थापाजीको अनुहार मेरा अगाडि आएर उभिन्थ्यो । भोलि नेपाल गएर कसरी आँखा जुधाउने उनीसँग ?

यताकी केटीप्रति अपराध गरौँ त्यो पनि त्यत्तिकै मायालु, असल चरित्रकी, सहयोगी स्वभावकी थिई । नेपालबाट आएर अलपत्र परेको सागरलाई बाँच्ने सहारा बनेकी थिई । त्यसमाथि गहिरो र स्वच्छ प्रेम गर्थी सागरलाई । त्यसमाथि सागरको पनि केही बढी झुकाव यसैप्रति थियो । हुन पनि किन नहोस् एकातिर अमेरिकामा उसलाई सहारा दिने उही थिई । अर्कातिर विगत पाँच वर्षदेखि त सागर एलीसँगै थियो । सुख दुःखकी साथी नै एली थिई सागरकी । जीवनलाई चाहिने जीवनसाथीको भूमिका एलीले नै निर्वाह गरेकी थिई । 

यस्तो धर्मसंकट नपरोस् कसैलाई भनेजस्तो भएको थियो मलाई । मैले कुनै एउटा जुडास खोज्नु थियो । जुडास नभएसम्म यो समस्याको समाधान सम्भव थिएन । मैले आफूलाई पनि त्यही विश्वासघाती जुडास बनाउनु थियो । विश्वसघात सागरले गर्नुपर्ने थियो तर लेख्नु त मेरै हातले थियो त्यो कथा पनि । राम्राको निम्ति भनेर थालेको मेरो लेखन विश्वासघातमा पुगेर टुंगिन लागेकोमा मलाई धेरै नै पछुतो भइरहेको थियो ।

म सोच्थेँ विश्वासघात गर्नु एक प्रकारको कुकर्म नै हो । अनि सोच्थेँ यस्ता कुकर्मको निम्ति कुनै देशको कानुनमा कुनै प्रकारको दण्ड छ छैन होला ? त्यस्तै कुकर्मीहरूका अनुहार र नाम सम्झिँन खोज्थेँ । त्यस्ता नाम त धेरै थिए । देशको निम्ति, जनताको निम्ति विश्वासघात गर्ने कति धेरै राजनीतिज्ञका नाम र अनुहार आए मेरा सामु । त्यस्तै अरू क्षेत्रमा पनि थिए यस्ता घटनाहरू । मेरो अपराध पनि सानो नभए पनि ती देशद्रोहीहरूका कुकर्मभन्दा मेरो अपराध अलि फरक हो भन्ने लाग्यो । 

गर्न त मलाई अपराध गर्नै थियो । अब कठोर बन्ने अभ्यास गर्न थालेँ । अर्थात् मेरा व्यवहारहरू अस्वाभाविक हुँदै गएका रहेछन् । मेरो चेतनाले पनि त्यही भन्थ्यो कि सामान्य चेतना, व्यवहार कर्म सामान्य अवस्थामा मैले अपराध कर्म गर्न सक्दिनथेँ । मैले आफ्नो दैनिक व्यवहारमै कठोरता देखाउन थालेँछु । परिवारकै सदस्यहरूसँग पनि रुखो बोल्ने, झर्किने, रिसाउने, असाधारण व्यवहार गर्न थालेँछु । अप्रत्यासित मेरो व्यवहारमा आएको त्यस्तो अनौठो, असाधारण व्यवहारले घरकाहरू झन् चिन्तित हुन थाले । मेरा असाधारण व्यवहार बढ्दै जान थाले । एक किसिमले राम्रो पनि भएको थियो । आफ्नो उद्देश्य पूरा गर्न म कठोर हुनैपथ्र्यो । 

रातभरि म ऐठनमा थिएँ । ठूलो छटपटी भयो । सुत्न सकिनँ । घरि सीमाको अनुहार, घरि एलीको अनुहारले न्याय माग्दै रहे । सागरलाई भनेँ मैले कतैबाट पनि सुकिलो देख्न सकिनँ । पहिलो जुडास त उही थियो यो यात्राको । हामी सबैलाई यो असजिलोमा पार्ने उही नै त थियो । उसले जिद्दी गरेर घर छोडेर नहिँडेको भए यो कथा लेख्नै पर्दैनथ्योे । न मलाई यो धर्मसंकट पथ्र्यो । 

....र एक बिहान आकाश खसेझैँ भनौँ कि ? धर्ती भासिएझैँ भनौँ ? अथवा मेरो विश्वासघातको पछिल्लो परिणाम मानौँ ? यी भनाइ अलि अस्वाभाविक जस्ता लागे । जस्तो मलाई पहिले लागेको थियो त्यस्तो अहिले लागिरहेको थिएन । अर्थात् नैतिक बेइमानीलाई सायद मैले सामान्य मान्न थालेको थिएँ । त्यसैले यसलाई जीवन प्रक्रियाको समान्य नियम बसेझैँ भनौँ ? त्यो समय पनि आयो । हिम्मत जुटाएर बिहानै कलम लिएर बसेँ र एक वाक्यमा कथाको अन्त्य गरेँ । 

‘सागरले सीमालाई सम्बन्ध विच्छेदको पत्र लेखेर नेपाल पठायो .........।’

यो कथा लेखिसक्दा अर्को कुरा पनि बोध भयो । लेखक कदापि लेख्न स्वतन्त्र छैन । उसलाई समय र परिस्थितिले आफ्ना कुरा लेखाउँछ । र, लेखक बाध्य भएर तिनै कथा लेख्छ जुन कथा समयले ऊबाट लेखाउँछ । र, उसलाई आफ्नो मौलिक चेतनामा बाँच्ने छुट पनि छैन । सायद त्यो समयभरि भनौँ लेखक उसको स्वभावमा रहँदैन । लेखन विषयको चरित्रमा रूपान्तरण हुन्छ । कृत्रिम किसिमले कठोर, कोमल, नैतिक, अनैतिक आदि के हुनुपर्ने हो त्यो हुन्छ । सायद एउटा उद्देश्यको लेखन सकेपछि लेखकले मुक्तिको सास फेर्छ !

दोष जति लेखकको थाप्लोमा बोकाएर यस पटक पनि समय त्यसरी नै हाँसिरहृयो जसरी सधैँ हाँस्ने गरेको छ । 

कथामा मेरो चरित्र फेरिएको थियो । म फेरिएको थिएँ । अनैतिक बनेर कथामा एउटी युवतीप्रति अन्याय गरेको थिएँ । तर कथा सिध्याएर म पनि आफ्नो मौलिक चरित्रमा आएँ । मलाई मनमा धेरै पीडा भयो । धेरै दिनसम्म म सामान्य अवस्थामा फर्किन सकिनँ । यो लेखक हुनु पनि एउटा अपराध नै रहेछ ! कतिका घरबार बिगार्नु पर्ने ! कतिको श्राप खानु पर्ने ! कति निर्दोषमाथि अन्याय गर्नु पर्ने ! दोषीलाई जोगाउनुपर्ने !......। 

लाग्यो !

यो आत्ममोह पनि बित्थाकै रहेछ ..........! 


Views: 227

सम्बन्धित सामग्री:

कथा : अनि सपना लहराउँछ

: कार्तिक २, २०७७ (११:२३ AM)