30th November | 2020 | Monday | 5:14:09 AM

कथा : अनि सपना लहराउँछ

  POSTED ON : कार्तिक २, २०७७ (११:२३ AM)

कथा : अनि सपना लहराउँछ

अनिशा विद्यालयको परिसरमा पुग्दा विहानको साढे दश बजिसकेको थियो । तर केटाकेटीहरु बेसुरमा चउरमा खेल्दै थिए । त्यसैले विद्यालय परिसरमा एकखालको कर्कश हल्ला ब्याप्त थियो । 

उसले एउटी सानी केटीलाई अफिस कोठा कुन हो भनेर सोधी र अफिस तिरै लागि । ऊ अफिसमा पुग्दा दुईजना पुरुष शिक्षकहरु चेस खेलमा मस्त रहेछन् । केही शिक्षकहरु उनीहरुको वरिपरि उभिएर खेलको मजा लिइ रहेका थिए । 

पल्लो पट्टिको टेबल वरिपरि चारजना महिला शिक्षिकाहरु बसेर आपसमा कुराकानी गर्दै थिए । 

घरेलु गफ । एउटी तरुनी शिक्षिकाले सासुको कुरा काट्तै थिई भने अर्की अधवैंशे शिक्षिकाले बुहारीको गुनासो पस्किरहेकी थिई । 

स्टाफ रुममा नयाँ मानिस आएको देखेर शिक्षकहरु एकपटक सकपकाए । 

अनिशाले साथमा ल्याएको झोला छेउमा राखि र सबैलाई नमस्कार गरी अनि घाँटीको  सलले अनुहारको पसिना पुछ्न थाली । 

तर शिक्षक शिक्षिकाहरुले ऊ प्रति खासै चासो देखाएनन्, कसैले उसलाई बस्न पनि भनेनन् । ऊ उभिरही । 

करिब पौने एघार बजे शिक्षकहरुको खेल सकियो । त्यस पछि विद्यालयमा घण्टी बजाईयो । 

घारमा पस्न उद्द्वेलित माहुरी झैं विद्यार्थी कक्षाकोठा तिर दगुर्न थाले । 

दगुरादगुरमा एउटी सानी केटीलाई कसैले धकेलेर लडाइदियो । बुरुरु धुलो उडाउँदै विद्यार्थीहरु कक्षामा पसेपछि त्यो केटी उठेर रुँदै र खुट्टा खोच्च्याउँदै कक्षाकोठा तिर लागि । 

हातमा चक र डस्टर समातेर शिक्षकहरु बडो बेमनले कक्षा तिर लागे । 

अघि चेस खेलमा मस्त शिक्षकहरु मध्ये एउटा शिक्षक अनिशाको नजिक आयो र के कसो भनेर सोध्यो । ऊ सहायक हेडमास्टर मदनप्रसाद रहेछ । 

“सर, हेडसरलाई भेट्नु थियो ।”

अनिशा बी.एड. तहको परीक्षा सकेर बसेकी थिई । उसको टिचिङ्ग प्राक्टिस पनि भर्खरै सकिएको थियो । 

“ ए अनिशा, खालि समयमा पढाउन जान्छ्यौ त, भोलन्टिएर बनेर ।” एक दिन उसको मामाको छोरा दीपेन दाइले प्रस्ताव राखे । 

“तिमीलाई पनि अनुभव पनि हुन्छ, अनि चियाखाजा खर्च पनि चल्छ ।”

दीपेन दाइको प्रस्ताव उसले सहर्ष स्वीकारी र स्वयंसेवी शिक्षिका बन्न त्यहाँ आइ पुगेकी थिई । 

“हेडसर त छैन, ऊ त कहाँ स्कूलमा आउँछ र नेता मान्छे, पार्टी कार्यालयमा छ होला नि ।” मदन सरले बडो विष्फारित शब्दमा भने र कक्षा तिर छिरे । उनको बोलीमा हेडसर प्रति रत्तिभर पनि सम्मान थिएन । 

मदन सर पनि कक्षामा छिरेपछि अनिशा त्यहाँ एक्लै भई । उसले घैंटोबाट पानी सारेर घटघट पिई र लामो सार फेरी । 

अनिशाको खाने बस्ने व्यवस्था हेडसरले नै मिलाउनु हुन्छ भनेर दीपन दाइले भन्नुभएको थियो तर त्यस दिन हेडसर बिदामा बसेको हुँदा अनिशालाई अलि चिन्ता लागेको थियो । 

खासमा अनिशा हिजो नै विद्यालयमा आइपुग्नु पर्ने थियो तर बाटोमा सवारी जाम भएको हुँदा ऊ एक दिन ढिलो मात्र जनता निम्न माध्यामिक विद्यालयमा आइपुगेकी थिई । 

अनिशा त्यस दिन भरि विद्यालयमै बसी । उसले पानी बाहेक अरु केही खाइन । चारबजे विद्यालय सकिएको घण्टी बज्यो । घारबाट निस्किएका मौरी जस्तै विद्यार्थीहरु बुरुरु कक्षाबाट दगुरेर बाहिरिए । को पहिला बाटोमा पुग्ने भन्ने बडो प्रतिस्पर्धा चल्दो रहेछ । 

कोही पछारिँदै, कोही ढुन्मुनिँदै, धकेलाधकेल गर्दै । बुरुरु धुलो उडाउँदै । 

अनिशाले एकटकले त्यो दृष्य हेरिरही । 

विद्यार्थीका पछिपछि शिक्षक शिक्षिका पनि बाहिरिन थाले । 

अनिशा बिलखबन्दमा थिई । 

“आजको रात कहाँ बिताउनुहुन्छ ?” मदनसरले अनिशालाई सोधे । 

“हेड सरकोमा जाने व्यवस्था मिलाई दिनुस्” अनिशाले सविनय अनुरोध गरी । 

अनिशा हेडसरको घर पुग्दा उसको अगाडि प्रश्न, संसय र द्विविधाको चाङ्ग थियो । हेडसर घरमा पनि थिएनन् । हेडसरकी श्रीमतीले अनिशालाई हायलकायल हुने गरि अन्तर्वार्ता लिईन् । 

अनिशाले त्यो रात हेडसरको घरमा बिताई । हेडसर त्यो रात घरमा आएनन् । 

भोलिपल्ट करिब दुई बजे हेडसर घरमा टुप्लुक्किए त्यसपछि मात्र अनिशाको काम पक्का भएको थियो । 

..............................................................................................................

विद्यालयमा जम्मा तीनवटा भवन थिए । एउटा चारकोठे पक्की भवन, एउटा चार काठे कच्ची भवन र एउटा तीन कोठे लामो टहरो । 

पक्की भवनमा एउटा स्टाफ रुम, एउटा कार्यालय, र कक्षा सातका कक्षाकोठाहरु थिए । 

तरपनि विद्यालय विद्यालय जस्तो थिएन । त्यो एउटा परित्यक्त भूतघर जस्तो थियो । फोहरले घेरिएको । 

कक्षाकोठा भित्रका फर्निचर पनि टीठलाग्दा थिए । कक्षामा धुलो, कागज र प्लास्टिकका टुक्रा असरल्ल छरिएका थिए । डेस्क बेन्च पनि पुराना कोतरिएका र जोर्नी हल्लिने थिए । 

विद्यालयको परिसरमा तारबार केही थिएन । विद्यालयको चउरमा दिउँसै पनि गाउँका गाइवस्तु चरिरहेका हुन्थे । कतिपय कक्षाकोठामा ढोका नै थिएन त्यहाँ छाडा गाईवस्तु रात रात भर बस्थे, गोब्य्राउँथे । 

विद्यालयमा एउटा धारो त थियो तर त्यो विग्रिएको हुनाले विद्यार्थीले पिउने पानी समेत पाउन्नथे । 

विद्यालयको हेडसर पचास पचपन्नको उमेरको पातलो अग्लो र तालु खुइलिइएका थिए । नाम बोधराज रहेछ । 

बोधराज र मदनको बीचमा छत्तिसको आँकडा रहेछ । कारण पार्टी रहेछ । बोधराजको पार्टी यतिबेला सत्तामा थियो र मदनको पार्टी प्रतिपक्षमा । 

बोधराज कम बोल्थ्यो र उसको मौनता भित्र के के रहस्यले जन्म लिएका छन् भन्ने अनुमान गर्न गाह्रो थियो तर मदन ठीक विपरित बाचाल मानिस थियो । ऊ हाँसखेल गर्न ठट्टा मजाक गर्न मनपराउने खालको थियो । 

तर मदनको एउटा बानी थियो । ऊ हेडसरको अगाडि मरेको मुसो जस्तो गरि एकदम चुपचाप बस्थ्यो । विद्यालयमा हेडसर उपस्थित नभएको दिन उसको फूर्ति नै अर्कै हुन्थ्यो । ऊ मच्चिई मच्चिई गफ दिन्थ्यो । भन्थ्यो, “यो विद्यालय नै मैले बनाएको हो । हेडसर, निकम्मा, हेडसर अयोग्य, लठैत, खुराफात गरेर पद पड्काएको, भारतबाट प्रवेशिका पास गरेको, नक्कली सर्टिफिकेट लिएको ......”

गाउँकै एक जना किसानको घरमा डेरा गरेर अनिशाले बेमेल वातावरणमा एक महिना बिताई । ऊ विद्यालयको हाल देखेर दुःखी थिई । 

ऊ विद्यालयको वातावरण सुधार्न चाहन्थी । तर कसरी ? हेडसरलाई विद्यालयको कुनै मतलब थिएन । ऊ विद्यालय भन्दा बढी पार्टीप्रति वफादार थियो । 

“यो बोधे हेडसर हुने बेलासम्म म केही सपोर्ट गर्दिन ।” मदन कुर्लन्थ्यो । मारमा थिए विद्यार्थीहरु । विद्यार्थीहरु बेलाबेलामा आँखा पाक्ने, लुतो आउने, रुघा खोकी ज्वरो जस्ता समस्याले थलिन्थे । 

अनिशा विद्यालयमा आएको डेढ महिना जति पछि हेडसर लामो बिदा लिएर छोरा भेट्न अष्ट्रेलिया जाने भयो । अब मदनसर कायमुकायम हेडसर बनेको थियो ।

“सर यसरी त कसरी विद्यालय चल्छ र ? .....” एक दिन अनिशाले मदनलाई विद्यालयको वास्तविकता अवगत गराई । 

मदनले “अँ” भन्दै सहमति पनि जनायो तर ऊसँग कुनै पनि योजना थिएन, आवश्यकताबोध पनि थिएन ऊ अनिशासँग नजिक हुने अवसर मात्र खोजिरहेको थियो । 

मदनसरका लोभी आँखाले आफूलाई पछ्याएको कुरा अनिशाले पनि महसुस गरेकी थिई तर पनि ऊ दृढ थिई विद्यालयमा केही सुधार गर्न । 

विद्यालय व्यवश्थापन र  शिक्षक अभिभावक समितिको बैठक बस्यो । विद्यालयको वरिपरि पर्खाल बनाउने प्रस्ताव पारित भयो र त्यो निर्माण पनि भयो । विद्यालयमा फलामे गेट पनि बन्यो । 

विद्यार्थीलाई पोशाक अनिवार्य बनाइयो । त्यसको अनुगमन कडाइसाथ गरियो । 

विद्यार्थीको सरसफाई विद्यालयको जिम्मेवारी भित्र पर्यो । विद्यालय परिसरको वरिपरि क्यारी बनाएर फूल र वृक्ष रोपियो । अनि विद्यार्थीहरुलाई चारवटा फरक समूह बनाएर ती क्यारीको जिम्मा पनि दिईयो । 

विहान ठीक दश बजे बिद्यालय लागेको घण्टी बज्ने भयो । विद्यालयमा विहानको प्रार्थना सभा नियमित भयो । कक्षाकोठामा जाँदा र त्यहाँबाट बाहिर निस्कँदा पालैपालो लहरमा बसेर जाने आउने गर्ने नियम बनाइयो । 

हप्तामा एक दिन अतिरिक्त कृयाकलाप पनि आयोजना हुन थाल्यो, अन्तर सदन हाजिरी जवाफ, वक्तृत्वकला, वाककला, नृत्य अनि चेस, क्यारम, तातो आलु जस्ता खेल पनि । 

हेडसर विदेशबाट फर्किंदा विद्यालयको माहौल नै फरक थियो, नयाँ ताजा, अनि वास्तवमै विद्यालय जस्तो । 

हेडसर खुशी भएजस्तो देखाए पनि ऊ भित्रको चरित्र आरिसमा जेलेको थियो । आफ्नो अनुपस्थितिमा अरु कसैको नेतृत्वमा राम्रो काम भएको जस अरुलाई दिन ऊ तयार थिएन । 

विद्यालयमा पाँचजना स्थायी र चारजना स्थानीय श्रोतबाट नियुक्त शिक्षक शिक्षिका थिए तर पनि विद्यालयको बारेमा सकारात्मक प्रयत्न एउटी स्वयंसेवी शिक्षिकाबाट भएको कुराले हेडसरको अहम्लाई नराम्ररी चिमोटेको थियो । 

अनिशाको स्वयंसेवा गर्ने अवधि पनि सकिन लागेको थियो । ऊ अब बिदा हुने तरखरमा लागेकी थिई । 

अनिशालाई कसरी बिदाइ गर्ने भन्नेमा बोधराज र मदनबीच विवाद भयो । 

“औपचारिक रुपमा दोसल्ला ओढाएर बिदाई दिनुपर्छ ।” मदनले हेडसरको सामुन्ने पहिलोपटक शिर उठाएर प्रस्ताव राख्यो । 

बोधराज केही बोलेन । स्वीकार गर्न उसको मन मानिरहेको थिएन अनि विरोध गर्न उसको सामथ्र्य थिएन । 

विदाइ कार्यक्रम आयोजना भयो । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, कार्यक्रम प्रमुख र अनिशाले मन्तब्य दिए । अरुले कोरा राजनैतिक भाषण गरे । तर अनिशाले, “हेडसर, मदन सर, मलाई धेरै कुरा भन्नु छैन, मात्र एउटा कुरा, यो विद्यालयलाई विद्यालय रहन दिनुहोस् यसलाई तपाईंहरुको कुत्सित मनसाय पूरा गर्ने क्रिडास्थल नबनाउनुहोस् । विद्यालय बनाउने, विद्यार्थीहरुको भविष्य बनाउने राजनीति गर्नुहोस् । राजनीति बनाउन विद्यालय नचलाउनुहोस् । अनि मात्र सपना लहराउनेछ । ” 


Views: 293