30th November | 2020 | Monday | 4:11:38 AM

शुभकामना र समवेदनामा व्यस्त हातहरु

पुरुषोत्तम दाहाल   POSTED ON : कार्तिक ९, २०७७ (७:३९ PM)

शुभकामना र समवेदनामा व्यस्त हातहरु

विजयको हर्ष र उन्मादमा

अलिकति शुभकामनाको वर्षा छ ।

जीवनसंग हारेकाहरुप्रति 

समवेदना र श्रद्धाञ्जलीको बाढी चलिरहेछ 

र औंला घुमिरहेछन् । 

प्रभात फेरीसंगै मेरो यसरी चलिरहेछ दैनिकी ।

जीवन दिन प्रतिदिन 

शुभकामना र समवेदनासंग साटिदै, गुज्रिदै गएको छ ।

म अनुभव गरिरहेको छु 

शुभकामनाहरुलाई 

कति खुशी छन् ती कति सुखी ? 

कुनै पुस्ता घरमा आएको छ कि 

कसैले अर्को खुड्किलो चढ्न पाएका छन् कि ?

नयाँ जीवन सहयात्राको हर्ष उत्सव छ कतै

 कतै प्रगतिको उद्गार उत्तेजना छ 

कतै छन् शतायुका उपहार  ।

मिलनका स्फटिक प्राञ्जल, 

सगरमाथा सोचहरु छन् 

प्रिय प्रकृति, प्रिय संसार,प्रिय जन्म, प्रिय संबन्ध ।

न युद्ध छ न आतंक,  न पशुता न अहंकार

विवेक वोलिरहेछ, ह्रृदय स्पन्दित छ 

मूर्त अमूर्तको यात्रा वाह शुभकामना ।

मेरा औंलाहरु घुमिरहेका छन्

जसरी शुभकामना र बधाईको यात्रा चक्र जस्तो ।

जव समवेदना र श्रद्धाञ्जलीहरुले 

मुहार पुस्तिका भिजेको देख्छु म

मन चीसो हुन्छ, चसक्क घोच्छ ।

कताकति केही दुखाई स्पन्दित हुन्छ 

रंगीविरंगी सपनाले भरिएको जीवन

लोभ, पाप, कुण्ठा, प्रतिशोधको पिण्ड । 

प्रेम, सद्भाव, विवेक अनेक गुणले 

भरिपूर्ण देखिएको जीवन

श्रीसम्पत्ति, हिमाल पहाड, समथर, नदी, सृष्टि 

सबै पाउने ,अटाउने इच्छा र कामनाहरु ।

हिंसा, आतंक, अन्याय , रक्तनदीहरु 

शक्तिसागर निर्माण गर्ने अहंकारहरु , 

मेरो, तेरो, साँध सीमा

अन्त्यहीन अनवरत द्वन्द ।

असल मन संगसंगै

अदृश्य यात्रामा सहकार्य गर्न ,

करुण, क्रन्दन याचनाकासाथ

मागिरहेछ एक वूँद श्रद्धाञ्जली 

 समवेदनाका हरफहरु ।

 म कुदिरहेको छु म आफैले 

कहिल्यै नदेख्ने, कहिल्यै नभेट्ने

 श्रद्धाञ्जलीको नदी तर्ने यात्रामा

र प्रतिदिन, प्रतिपल नित्य कर्म जस्तै

 दिइरहेछु अरुलाई श्रद्धाञ्जली, समवेदना र शुभकामना ।

 २०७७ । ६ । २३ ।


Views: 306