6th December | 2020 | Sunday | 3:46:51 AM

सत्ता र साहित्य

डा. नारायण चालिसे   POSTED ON : मंसिर ६, २०७७ (१०:०८ AM)

सत्ता र साहित्य

हितेन सह, सहित, सहितस्य भाव साहित्य । अर्थात् जुन कुरा हितकर छ त्यही साहित्य हो भन्ने साहित्यको आदर्श अर्थ हो । यसबाट साहित्य अरू धेरै कुरा पनि होओस् तर हितकर अवश्य होओस् भन्ने तात्पर्य अर्थ प्रकट हुन्छ । साहित्यका अनगिन्ती परिभाषाहरू गर्न सकिन्छ । सामान्य भाषामा भन्दा केही विशिष्ट, केही साङ्केतिक, केही लालित्यपूर्ण, केही आलङ्कारिक र केही घुमाउरो भाषा र लयमा संरचित वैचारिक लेखनलाई साहित्य हो भनियो भने त्यति अन्यथा हुँदैन । 

बोलचालकै क्रममा पनि अलिकति सुमधुर बोली बोलियो र त्यसमा अलिकति कुरा घुमेजस्तो मानियो भने कस्तो साहित्यिक कुरा गरेको भनिन्छ । अर्थात् कुरा जति नबुझिने गरी आयो त्यति साहित्यिक बन्दै जान्छ भन्ने आमचेतनाका बीचबाट साहित्यको कुरा गर्न थाल्ने हो भने साहित्यको दायरा अझ बढी फराकिलो हुँदै जाने रहेछ । मीठो बोल्ने छट्टु व्यक्ति, रसिला कुरा गर्ने शासक र लोकप्रिय हुन खोज्ने प्रतिपक्ष पनि साहित्यिक बन्न पाउने उदार बाटो पनि यसले खोल्ने रहेछ । 

प्रत्येक मानिस थोरैधेरै साहित्यिक हुन्छ । कसैले त्यसलाई व्यवस्थित किसिमले मूर्त रूपमा ल्याउँछ र साहित्यिक हुन्छ । धेरैले त्यसो गर्न आवश्यक ठान्दैनन् वा अभिरुचि नहुँदा हरेक व्यक्तिभित्रको साहित्य बाहिर आउन पाउँदैन । यसरी अनगिन्ती साहित्य क्षणक्षणमा हामीबाट गुम्दै गएझैँ लाग्छ । साहित्यको आफ्नो विशिष्ट पहिचान र महŒव छँदैछ साथसाथै यसका केही प्रयोजनपरक सन्दर्भ र अर्थहरूले यदाकदा साहित्य र साहित्यिक व्यक्तिमात्र होइन सत्ता र शक्ति पनि जोडिएर चर्चा हुने गरेको पाइन्छ ।

साहित्यलाई सत्तासँग जोडेर चर्चा गर्ने क्रम धेरै पुरानो हो । सत्ताधारीहरू स्वयं साहित्यिक रहेका घटना त थोरै छन् तर शासकहरूलाई साहित्य मन पथ्र्यो वा मन पर्छ भन्ने कुरा भने सधैं चर्चामा आउने कुरा हो । सत्तामा पुगेपछि साहित्यको रसास्वादन गर्ने अभिरुचि बढ्नु सत्ताको नौलो चरित्र हो भन्नेहरू पनि छन् । नेपालको सन्दर्भमा राजामहाराजाहरूका दरबारमा उनीहरूका इच्छामुताविकका रसिक साहित्य सुनाएर अनगिन्ती स्रष्टाहरूले हिजैदेखि जीविकोपार्जन गर्दै आएका कुरा इतिहासमा पढ्न पाइन्छ र त्यो क्रम केही परिमार्जित रूपमा अहिले चालु रहेकै छ । 

सत्ता फेरिँदा साहित्यको स्वरूप र चरित्र फेरिएका अनेकौँ दृष्टान्तहरू छन् । साहित्यकार र साहित्यिक संस्थासँग जोडिएका गतिविधिका समाचारहरूसँग हामी धेरै परिचित नै छौँ । समाज रूपान्तरणको महŒवपूर्ण सांस्कृतिक एवं वैचारिक अभियान मानिने साहित्यको उपादेयता समाजमा कसरी छ भन्नेभन्दा पनि साहित्यलाई आफ्नो पक्षमा पार्न खोज्ने चतु¥याइँसँग जोडिएर साहित्य परिभाषित हुन थालेपछि केही मानिस यो अभियानबाट निराश भएका कुरा पनि त्यत्तिकै सान्दर्भिक छन् । 

अनि सत्ताको निम्ति साहित्य लेख्दै र सुनाउँदै आएका साहित्यकारहरूलाई आम दृष्टिमा त्यति सकारात्मक नमानिने गरेका कुरा पढ्न पाइन्छ । अर्थात् सत्ता र साहित्यका बीचमा अलि अनौठो सम्बन्ध हुने रहेछ । बाहिर बस्दा सम्मानित रहेको स्रष्टा सत्तामा पुगेर बद्नाम भएका कुराले होस् वा सत्ताको भजन गाएर अस्तित्व गुमाएका कुरा हुन् त्यति राम्रो सन्देश सत्ताको साहित्यले दिने गरेको पाइन्न । 

सत्तालाई साहित्य किन आवश्यक पर्छ होला ? यो जिज्ञासाको विषय हो । पहिलो त सत्ताको शासक चरित्रमा मनोविनोदको लहड बढेपछि भनौँ अथवा सत्ता विलासिताको रङ्ग चढेपछि शासकलाई साहित्यको रमाइलो इच्छित हुन्छ होला । साथै जनताको मन र हृदयलाई सजिलै जित्न सक्ने सामथ्र्य साहित्यमा छ भन्ने बुझेका चतुर शासकले साहित्यलाई उपयोग गरेर जनमानसमा आफ्नो सत्ताको प्रभावको प्रचार गराउने मनशायमा पनि साहित्यको दुरुपयोग गर्न सकिने भएर पनि होला सत्तालाई साहित्य मनपर्दो विषय भएको हुन सक्दछ । त्यसमाथि शासक स्वयं पनि साहित्यिक रहेको अवस्थामा यो मनोविनोद चेतना साहित्यसेवाको महान् परिभाषाभित्र महिमामण्डित भएर आउनु झन् कलात्मक नाटक हुने भयो । 

शासक स्वयं साहित्यिक नहुँदा पनि साहित्य सत्तामा पुग्नु भनेको एकातिर शासकको लहड अनि अर्कोतिर हामी भाटहरूको सत्तासँग नजिकिने डरलाग्दो महŒवाकांक्षाको शिकार बनेर साहित्य दरबार पस्छ । त्यसरी पसेको साहित्यले केही मानिसका घरबारको व्यवस्था त हुन्छ तर शिष्ट र सम्मानित साहित्यको घोर अपमान हुन्छ । तर, सत्ताधारी र भाटहरूका चङ्गुलमा रमाउन पल्केको साहित्य र सुन्दर एवम् जनताको साहित्य भने एउटै होइन । सुन्दर र जनताको साहित्य जसले जीवन र जगत्को सौन्दर्य अनि जनजीवनको भाका बोल्ने गरेको हुन्छ उसलाई सत्तारोहण मन पर्दैन । उसलाई सडक नै मन पर्छ, त्यहीँको धुलोमाटो मन पर्छ र सारमा आम मानिस मन पर्छ ।

सत्ता र साहित्यका बीचमा केही मिल्दा कुरा हुने रहेछन् । साहित्य कलात्मक विधिविधानको नाम हो । साहित्यमा सधैँ यसो भएको छ । यसो गरिनुपर्छ वा यसो गरिनु राम्रो हो । यसो हुनु नराम्रो हो । यसो गर्नेलाई यस्तो दण्ड वा पुरस्कारको व्यवस्था हुनुपर्छ । इत्यादि केही विधानका कुरा गरेपछि साहित्यको धर्म पूरा भएको मानिन्छ । किनकि साहित्य राजकीय सत्ताको नाम होइन । त्यसैले साहित्यले निर्देशित काम गर्नै पर्दैन । जब सत्ता पनि काम नगर्ने कुरा गर्ने चरणमा रहन्छ अथवा कुनै काम गर्न पर्दैन अनि त्यो सत्ता पनि साहित्यजस्तै मानार्थमात्र रहन जाँदो रहेछ । सत्ता पनि साहित्य बन्न सम्भव हुँदो रहेछ ? 

र, सत्ताको पनि साहित्य हुँदो रहेछ । जब जनउत्तरदायी काम केही नगरेर कुरामात्रै गरेर अझ जनतालाई रनभुल्लमा बनाउने चरणमा सत्ता पुग्छ त्यही नै सत्तासाहित्य रहेछ । साहित्यजस्तै घुमाएर नबुझिने ढङ्गले कुरा गरे पुग्ने त्यो सत्ता पनि साहित्यजस्तै पहेली बन्न सम्भव रहेछ । यस्तो अवस्थामा साहित्यको सत्ता र सत्ताको साहित्यमा खासै फरक पनि पर्ने रहेनछ । त्यसैले सत्तालाई साहित्य र त्यस्ता साहित्यिकलाई सत्ता प्रिय लाग्दो रहेछ । त्यसैगरी सत्ताधारी साहित्यकारले साहित्य लेखे भने त त्यो क्षणको कल्पना सायद गर्न सकिँदैन । 

अहिले हामी यसै प्रकृतिको सत्ता र उसैको साहित्यको अभ्यासमा रहेको भएर हो कि न साहित्यको भाका बुझिएको छ न त सत्ताको योगदान नै बुझ्न सकिएको छ । सत्ताधारीहरू घोर साहित्यिकजस्ता र साहित्यकारहरू घोर क्रान्तिकारी शासकजस्ता देखिएको यो समय निश्चय पनि अभूतपूर्व समय हो । यो उर्वर समयमा साहित्य रोपेको खण्डमा सत्ताको मुना पलाउने र सत्ता रोपेको खण्डमा कलकलाउँदो साहित्यको बिरुवा जन्मियो भने पनि अचम्म मान्ने अवस्था छैन । साहित्यले र सत्ताले जनतालाई बिर्सिएको यो समय सायद विसम समय हो यो समयसँग जनता सजग रहन आवश्यक छ । 

सत्ता यहाँ चरित्र हो शासनमात्र होइन । त्यो चरित्र विद्यमान हुने प्रतिपक्षसत्ता पनि यसैको अर्को पाटो हो । जसरी सत्ताधारीहरूले साहित्यलाई उपयोग गरिरहेका छन् त्यसरी नै प्रतिपक्षले पनि प्रतिपक्षसत्ताको सम्मोहनमा यिनै कुरालाई यसरी नै उपयोग गर्दै आएको कुरा हो । उनीहरूलाई पनि आफ्नो सत्ताको सपना बाँड्ने अस्त्रको रूपमा यही साहित्य र यसैको प्रतिष्ठाको व्यवसाय चाहिएको छ । जसरी सत्ताले ढाँटेको छ जनतालाई त्यसरी नै प्रतिपक्षसत्ताले पनि आफ्ना श्रुतिमधुर सपनाको मोह बाँडेर जनतालाई खण्डहरमा पठाउने षड्यन्त्र नै रचेको अनुभव हुन्छ । 

र, त्यसरी नै हिजो शिखर चढेकाहरूका घुर्मैला अनुहारहरू प्रतिपक्ष साहित्यका पनि अनुहारहरू हुन् । तर शुद्ध साहित्यसेवा र निष्ठापूर्ण समाजसेवा गरिरहेकाहरूमा अहिले पनि यो नियम आकर्षित भएको मानिएको छैन । 

क्रन्तिकारीहरू, परिवर्तनप्रेमीहरू र सच्चा साहित्यका साधकहरूको निम्ति त्यो सत्ता र त्यस प्रकृतिका साहित्य दुवै प्रिय लाग्दैनन् । हामीलाई लाग्छ साहित्यको दृष्टि सत्ताको दृष्टिभन्दा तीखो र मर्मश्पर्शी हुन्छ । ‘कवि स्वयम् स्वतन्त्र सत्ता हो’ भन्ने आधार वाक्यको सम्बन्ध मानिसको चेतना, क्रिया र विचारसँग जोडिएको हुन्छ । कवि हुनु, स्वतन्त्र हुनु र त्यसैलाई सत्ता ठान्नु, अर्को सत्ताको भर नपर्नु अनि निर्भिक भएर विचारको खेती गर्नु कविको आफ्नो स्वतन्त्र सत्ताको दायरा हो । लेखक पनि हुने, स्वतन्त्र सत्ताका पक्षमा पनि लेख्ने अनि खास विचारको, खास दर्शनको वा वादको विधानभित्रमात्र अटाउनुपर्ने मान्यता र माथिको स्वतन्त्र सत्ताका बीच केही विमति हुन सक्छन् । 

साहित्यको सत्ता स्वयं स्वतन्त्र छ भने त्यहाँ पुनः सिद्धान्त वा वादको सत्ता स्वीकार्य नहुनुपर्ने हो तर हामी कतै न कतैबाट बाँधिएर प्रस्तुत हुनुपर्दाका केही बाध्यताहरूले घेरिएका पनि छौं । हामीले स्वतन्त्रतालाई आफ्नो अनुकूल अथ्र्याउने प्रचलनले गर्दा पनि केही जिज्ञासाहरू जन्मिने गर्दछन् । स्वतन्त्र हुन लेख्ने कि, स्वतन्त्र भएर लेख्ने, वा स्वतन्त्रताको निम्ति लेख्ने ? यी धेरै अवस्थाहरूमध्ये साहित्यको स्वतन्त्र सत्ता कुन चाहिँ हो ? भन्ने कुरा पहिले बुझ्न आवश्यक छ । स्वतन्त्रताको अभिव्यक्ति कविताबाट भएको कुरालाई साहित्य सत्ताको सर्वोच्च विधान मानिन्छ । 

कविताबाट परिवर्तनका शाश्वत स्वरहरू बोलिएका रोचक इतिहासहरू छन् । अस्तित्वबोध र सौन्दर्य चेतनाको गर्भबाट निःसृत साहित्य जीवन र जगत्को पक्षमा हुन्छ । संसारलाई साहित्यको आँखाबाट हेर्ने लालसाले बनेको कवि, अस्तित्व र सौन्दर्यको पनि हिमायती भयो भने उसको कविता झनै सुन्दर बन्न सक्छ । 

कविले कल्पना गरेको संसार पाउने हो भने निश्चय नै त्यो संसार सबै जनताको खुशी र सुखी संसार हुने थियो । जो सायद राज्यसत्ताबाट पाउन सम्भव छैन । साहित्यकार कुशल शासक बन्न सक्छ कि सक्दैन होला ? एउटा रमाइलो कुरा गर्न मन लाग्यो । कविलाई राज्यसत्ता सुम्पिने हो भने के हुन्थ्यो त्यो विचार गरिएको छैन सायद । त्यसैले कविको लोकप्रियता विद्यमान छ । उसको समवेदना र भावनाको कदर भइरहेको छ । कविको निष्ठा र मर्यादा बचाउन कवि सधैँ प्रतिपक्ष नै भएको राम्रो हुन्छ सायद । जनता र सहित्य सत्ताका प्रतिपक्षी रहुन्जेल दुवै पक्षको प्रतिष्ठा एक अर्काले बचाइरहन सक्छन् भन्ने लाग्दछ । 

किनकि सत्तामा पुगेको कविका कविता जनताका कविता बन्न सक्दैनन् । सत्ताको गन्ध मिसिएपछि कविताको स्वर कर्कस बनेकै इतिहास पाइन्छ । तर, प्रायः कविको चाहना, राम्रो सङ्गतिको चाहना हुने गरेको छ । सुन्दर संसार निर्माणको कवि चाहनाले कवि, सौन्दर्यको पुजारी भन्ने बोध हुन्छ । कविताको कोमल धर्म आफैँमा सुन्दरता हो भने कविका कोमल शब्दहरू अर्को सौन्दर्य हो । कवि र कविता त्यसकारण सौन्दर्यका पर्याय हुन् । अनि कविताबाट निःसृत विचारको सौन्दर्य मिसिएपछि कविता झन् शक्तिशाली र सौन्दर्यमय बन्न जान्छ । त्यसैले साहित्य सौन्दर्ययुद्ध पनि हो जहाँ फूलका गुच्छाहरू प्रहार गरेर कठोर सत्ताका शक्तिशाली अस्त्रहरूलाई पराजित गरिन्छ ।

हरेक युगका सत्ता र शासकहरूले साहित्यलाई जसरी उपयोग गर्दै आइएरहेका छन् तिनको इतिहास त्यति सुन्दर पढिएको छैन अनि हरेक समयका सत्तामा अडिएर उभिएका साहित्यकारको पनि अनुहार त्यति उज्यालो पाइएको छैन । तसर्थ साहित्य र साहित्यकारको उज्यालो इतिहासको निम्ति सत्ता र साहित्य स्वतन्त्र तर प्रिय रहिरहुन् भन्ने कामना गरौँ । सत्ताको बाछिटाले ओस्सिएको साहित्य र सत्तासाहित्यको भुलभुलैयाबाट पिल्सिएका जनताको स्वतन्त्रता र सुरक्षाको कामना गरौँ । जय साहित्य, जय जनता ! 


Views: 205

सम्बन्धित सामग्री:

कथा : साथी

कमला सरूप : मंसिर २०, २०७७ (८:४४ AM)