6th December | 2020 | Sunday | 4:33:21 AM

जय कवि !

बद्रीप्रसाद दाहाल   POSTED ON : मंसिर ६, २०७७ (१०:१६ AM)

जय कवि !

दुई–तीनकक्षा पढ्दादेखि नै मेरो कवि बन्ने चाहनाले भित्र कोपरेको कोप¥यै थियो । स्कुलमा संगठित बाल क्लब, युुरेस, विद्यार्थी संघसंगठन तथा अन्तर सदनात्मक काव्य प्रतियोगिताका कार्यक्रमहरूमा प्रतिस्पर्धी भएर कहिले पहिलो, कहिले दोस्रो, तेस्रो, सान्त्वना र कहिले त सहभागीमात्रको स्थानमा मान पाएर बसियो । कक्षा चढ्दै गएपछि एक दिन कवि शब्दको अर्थ के होला भन्ने जिज्ञासाले मलाई कुत्कुत्याएर नेपाली, संस्कृत र अंग्रेजी पढाउने आफ्ना गुरुहरूसित सोध्ने निधो गरेँ । 

कविता वा काव्यको रचना गर्ने कल्पनाशील व्यक्ति कवि हो । दैत्य गुरु शुक्राचार्य, ब्रहृमा, ऋषि, सूर्य, पहिलाका रत्नाकर डाँकु पछिका वाल्मीकि, क्रान्तदर्शी (विलक्षण बुद्धि भएको, सर्वज्ञ) वा ईश्वरलाई पनि कवि भनिन्छ भनी नेपाली गुरुले बताउनुभयो । संंस्कृतका अध्यापकले ‘कवृ’ धातुबाट कवि बनेको हो, जो पद्य तथा गद्यमार्फत कलात्मक शैलीमा वर्णन गर्न सक्षम छ त्यही कवि हो । ‘कविर्मनीषि परिभूः स्वयम्भूः ! 

अर्थात् कवि भनेको विद्वान्, चारैतिरको ज्ञानले घेरिएको, आफँै उत्पत्ति भएको विशिष्ट मेधावान् प्रतिभा हो । अझ उदाहरण दिएर धेरै कुरा भनेका थिए मेरो कच्चा उमेर र अज्ञानका कारण ती सबै सम्झिन सकिनँ । अनि अंग्रे्रेजीका गुरुले कला पक्षका पच्छिमा हस्ती कलरिजको भनाइ सुनाउनु भो–‘पोइट्री द वेष्ट वर्डस् इन द वेष्ट अर्डर । अर्थात् सर्वश्रेष्ठ पदावलीको सर्वश्रेष्ठ विधान कविता हो । मातृभाषा हिन्दी भएका गणितका गुरुले लामो व्याख्यान दिँदै अन्त्यमा भन्नुभयो–‘जहाँ नपहुँचे रवि उहाँ पहुँचे कवि’ कविको दूरदृष्टि हुन्छ त्यसलाई कलात्मक भाषामा आलङ्कारिकता दिएर अभिव्यक्त गरिन्छ भनी निचोड दिनुभयो । यो यथार्थ कथा मेरै एक विद्यार्थीको हो जो अहिले राम्रै कविमा दरिएका छन् ।

यी सबै गुरुहरूका भनाइलाई सुन्दा कविमा कल्पना, विलक्षण बुद्धि, सर्वज्ञता, कलात्मक शैलीबाट वर्णन दिने क्षमता, सर्वश्रेष्ठ पदावलीमा भाव प्रकट गर्ने दक्षता, व्यापक गति, दूरदृष्टिवान्, आलङ्कारिक, प्रतिकात्मकर गेयात्मक सामथ्र्य हुनुपर्ने रहेछ । त्यसै भएर भारतका नोबल पुरस्कार विजेता रवीन्द्रनाथ ठाकुरले ‘कवि केवल हेर्नेमात्र होइनन् प्रकाश पनि छर्छन्’ भनी जिम्मेदार बनाएका छन् । भूपी शेरचनले त ‘कवि हुनु बन्दुकधारी, अत्याचारी र आक्रमणकारीहरूलाई पुस्तकले छेक्नु, कलमले रोक्नु हो’ भनी अद्भूत सामथ्र्यको आलोकतिर सङ्केत गरेका छन् । 

रवीन्दको प्रकाश छर्ने कुरासित भूपी शेरचनको यो अभिव्यक्ति मेल खान्छ । दार्शनिक एवं काव्यमर्मज्ञ प्लेटोले ‘प्रणयको बेला प्रत्येक व्यक्ति कवि बन्छन्’ भनेर पेचिलो व्यञ्जनात्मक ध्वनि दिनु भएको छ । महाकवि देवकोटाले कविको तुलना गर्दै भनेका छन्–‘कवि बोलोस् जसरी चराहरू बोल्छन् न कि उस्तादहरू कसरत गर्छन्, हृदयले हृदयलाई बोलाओस् कवितामा न कि आडम्बरलाई’ । आधुनिक कविहरूलाई मसला दिँदै जर्मनका कवि एवं नाटककार गेटे कविलाई यसरी चिनाउँछन्—आधुनिक कविले आफ्नो मसीमा पानी धेरै मिसाइदिन्छन्’ । 

यो भनाइमा आधुनिक कविताको गुणस्तर खस्किएको वा बढी तरल र गतिशील भएको दुवै कुरा बुझ्न सकिन्छ । गेटेले महाकवि कालिदासको ‘अभिज्ञान शाकुन्तलम्’ भन्ने संस्कृत नाटक पढेर प्रभावित हुँदै ‘फाउष्ट’ भन्ने चर्चित वियोगान्त नाटक लेखेका थिए । कालिदास महाकविको शाकुन्तल नाटकप्रति यस्तो उद्गार छ उनको–‘यदि तपाइँ यौवनको पूmल, पौढ अवस्थाको फल र अन्य यस्तै सामग्रीहरू एकै ठाउँमा पाउन चाहनुहुन्छ भने स्वर्ग र मत्र्यलोकलाई एकै स्थानमा भेट्न चाहनुहुन्छ भने त्यो केवल अभिज्ञान शाकुन्तलमा भेट्नुहुनेछ ।’ कवितात्मक आस्वाद चाख्न पाइने यो नाटक पूर्वीय संसारको गौरवपूर्ण सार्वकालिक वाणी– ऐश्वर्य हो । त्यसै भएर जोन किट्सले सगर्व बोले—‘पृथ्वीमा कविता कहिल्यै मर्दैन’ ।

यतिखेर हाम्रो सानो देश नेपालमा साक्षरदेखि निरक्षरसम्मका साधकहरू काव्य स्रष्टाको रूपमा देखिएका छन् । अहिले त प्रविधिमा आएको क्रान्तिले सामाजिक सञ्जालका भित्ताहरू काव्यमय भएका छन् । हाइकु, मुक्तक, गजल, गीत, गद्य कविता, सबाइ, वार्णिक एवं मातृक छन्दका शास्त्रीय कविताहरू, व्यङ्ग्यात्मक आधुनिक उखान आदि लयदार र गेयात्मक रूपमा पस्किएका असंख्य सिर्जनाहरू पढ्न हेर्न पाइन्छ । त्यसैगरी लघु आख्यानदेखि बृहत् आख्यानसम्म । समग्रमा भन्दा साहित्यका विविध विधाहरूको रसास्वादन गर्न मिल्छ । संख्यात्मक रूपमा कविताका बाढी आए पनि गुणवत्ता कायम भइसकेका छैनन् । 

हुन त सञ्जाल सर्जकहरूको अभ्यासको पयोगशाला हो । सिकारुहरूका कलमको म्याराथुुन दौडको फराकिलो खेल मैदान अनि प्रणयीहरूका माया र प्रीतिका आवेग, संवेग, कुण्ठा, विरेचन गर्ने गतिलो थलो हो । योगीदेखि भोगीसम्म, व्यापारीदेखि व्यावसायिक, कलाकार, शिक्षक, दीक्षक सबैको साझा चौतारी हो । विशेषतः वाङ्मय साधकहरूले सञ्जालमा आफ्ना सिर्जना पस्कनुअघि शुद्धता, समुचित वाक्य गठन, वाच्यहरूको उचित प्रयोग, शब्दहरूको भद्दा पुनरावृत्तिमा होसियारी, वर्णविन्यास, पदयोग र वियोग, समास, विभक्तिहरूको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने हुन्छ ।

बालकवि, युवाकवि, प्रौढकवि, नारीकवि मनग्गे भएर पनि सबैमा कविताको वसन्त र शरद उत्तिकै मुस्काउन सकेका छैनन् । छन्द न बन्दका कविता लेख्ने मजस्ता सिलोकेहरू श्लोकमा मुस्काएको देख्न पाउनुपर्छ । जेजस्तो लेखे पनि प्रखर कवि, कविवर, वरिष्ठ कविको दज्र्यानी चिन्हमा उद्घोषक महोदयहरूले फलाक्दा पहिला पहिला त मख्ख पनि परिन्थ्यो अहिले आपूmलाई आफैँले पढ्दा त्यो उपाधि थाम्न तागत नभएको महसुस हुन्छ र लज्जाबोध पनि । ‘शब्द थुपारी के हुन्छ भाव भए पो कविता हुन्छ’ भनेर पाका साँच्चैका वरिष्ठ कविको सूक्ति याद आयो । 

राष्ट्रकवि स्वर्गीय माधव घिमिरेले पनि ‘मेरो शिल्पी यस शकलमा स्वस्थ आकार देऊ । यौटा सानो सरल कृतिमा पूर्ण संसार देऊ ।’ भनेर सरल र संक्षिप्ततामा गम्भीर तथा विस्तृत भाव सम्प्रेषण गरेका छन् । यी दुई कविका छोटो र खँदिलो भनाइभित्र कविता के हो ? भन्ने सुकिलो सन्देश दिएको छ । लाग्छ यो शारदी झर्ना र नदी, वासन्ती उपवन, दिलै हल्लाउने उत्साहको आभा । त्यसैले भन्न सकिन्छ–ठट्टा होइन साधना सफरको, बाटो छ हाम्ले लिनु । स्रष्टा पर्दछ बारबार कवि हूँ भन्ने कुरा सम्झिनु ।। जय कवि ! नमन रवि ! 

अस्तु ।


Views: 203

सम्बन्धित सामग्री:

कथा : साथी

कमला सरूप : मंसिर २०, २०७७ (८:४४ AM)