निरेन्द्रनाथ चक्रवर्ती पश्चिम बंगालको एकजना ख्यातिप्राप्त कवि थिए । उनको कविता संग्रह उलंग राजाको लागि उनले सन् १९७४ मा साहित्य अकाडेमी पुरुस्कार पाएका थिए । त्यही कविता संग्रहको शीर्षक कविता बांग्लाबाट अनुवाद गरेको छु ।
सबैले हेर्दैछन् राजा उलंग, तैपनि
सबैले थपडी बजाई रहेका छन्
सबै चिच्चाएर बोल्दैछन्
श्याबास श्यावास ।
कसैको मनमा संस्कार
कसैको मनमा भय,
कसैले शायद आफ्नो विवेक
अरू मान्छेलाई बन्धक दिएका छन् स
केही शायद परान्नभोगी,
केही कृपाप्रार्थी, उम्मेद्वार, प्रवञ्चक
कोही सोच्छन्, राजवस्त्र साँच्चै
अति सूक्ष्म, आँखाले
देखिँदैन तैपनि छ
अन्ततः हुनु कुनै असम्भव होइन ।
कथा त सबैलाई थाहा छ
तर त्यो कथाभित्र
केवल प्रशस्तिवाक्य (उच्चारक केही
आपादमस्तक भयातुर, चाकडीबाज
अथवा निर्वोध स्तुतिबाजमात्र थिएनन् ।
एउटा शिशु पनि थियो
सत्यवादी, सरल, साहसी एउटा शिशु,
झरेछ कथाको राजा
वास्तवमा प्रकाश्य बाटामा ।
फेरि टररर थपडी बज्यो
भेला भएको छ
स्तुतिबाजहरूको भीड
तर त्यो शिशुलाई
भीडभित्र कतै देख्दिन ।
शिशु कहाँ गयो ?
के कसैले उसलाई कुनै
पहाडको गोप्य गुफामा
लुकाएर राखेको छ ?
अथवा ऊ ढुंगा, घाँस,
माटो लिएर खेल्दा खेल्दै
निदाएछ
कतै टाढा
निर्जन नदीको किनारमा
अथवा कुनै चौरको रूखको छायांमा ?
जाऔं त्यसलाई जसरी भए पनि
खोजेर ल्याओ ।
ऊ आएर एकचोटि
यो उलंग राजाको सामु
निर्भय उँभियोस् ।
अन्तिममा यो थपडीकोविरुद्ध
शिर ठाडो पारेर
सोधोस्
राजा, तेरो लुगा खै ?
अनुवाद (मणि शर्मा)
Views: 207