22nd January | 2021 | Friday | 11:52:50 AM

पुस्तक : ‘नित्यकर्मविधि’ एक उपयोगी पुस्तक

सुशीला घिमिरे   POSTED ON : पुष २५, २०७७ (८:१२ AM)

पुस्तक : ‘नित्यकर्मविधि’ एक उपयोगी पुस्तक

मानव जीवनमा नित्य कर्मको विशेष स्थान छ । हुन त खाना खाने र मलमूत्र त्याग संसारका सबै मानवेत्तर प्राणीलेसमेत गर्ने गर्छन् तर तिनको जीवनमा यस्ता कुराहरूको नियमितता छैन र विश्वका विभिन्न धर्मावलम्बीहरूका पनि यसबारेका आआफ्नै नियम, विधान र संस्कार तथा पद्धतिहरू होलान् । यहाँ हाम्रो हिन्दूधर्मको अभ्यास र अवलम्बनमा नित्यकर्मका विधिहरू के कस्ता छन् भनेर एकजना साधकले हामीलाई सुसूचित गराउनु भएको छ । यसको लेखन संकलन कार्य बल्कोट जोरपोखरा, अर्घाखाँचीका तिलकराम भट्टराईबाट भएको छ । पुस्तकको सम्पादन सहप्राध्यापक वासुदेव खनालबाट भएको छ । स्वर्गीय तिलकरामका सन्तति नारायण, दिनेश, केशव तथा सीताबाट ‘भट्टरार्ई परिवार’ का नाममा यस पुस्तकको प्रकाशनको कार्य भएको छ । 

पहिलो संस्करणका रूपमा ७ सयप्रति छापिएको यस पुस्तकमा ३१+११२ गरी जम्मा १४३ पृष्ठ छन् । पुस्तकको मूल्य १०५ रुपैयाँ छ । सर्वाधिकार लेखकमा रहेको यो पुस्तक आकर्षक डिएमआई साइजमा छ । आवरण साजसज्जा नेत्र तिम्सिनाले गर्नु भएको छ र आवरणमा श्रीपरशुरामेश्वर गुठीको ऐतिहासिक पौवाको तस्वीर राखिएको छ जुन १९०४ सालमा बल्कोट अर्घाखाँचीमा निर्माण भएको थियो । पुस्तक एलायन्स प्रिन्टर्स एण्ड मिडिया हाउस प्रालि चाबहिलमा मुद्रण भएको छ र आवरण पृष्ठको पछाडिको भागमा लेखक तिलकराम भट्टरार्ईको परिचय दिइएको छ । जसमा उहाँको पारिवारिक चिनारी उहाँको संलग्नता, अध्ययन र उहाँका कृतिहरूका बारेमा उल्लेख गरिएको छ । 

उहाँको यसपूर्व ‘पूर्णहुति तथा स्वस्तीवाचन’ शीर्षकको पुस्तक प्रकाशित भइसकेको छ र उहाँको ‘जीवनवृत्तान्त’ छापिने क्रममा रहेको जनाइएको छ । पुस्तकको प्रारम्भमा ‘स्मरणीय’ मा तिलकरामकी श्रीमती जालपादेवी भट्टरार्ई र तिलकरामको तस्वीर छ । पुस्तकको प्रारम्भमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. माधवराज गौतमको ‘भूमिका’ छ भने त्यसपछि ‘प्रकाशकीय’ रहेको छ । प्रकाशकीयमा प्रकाशकहरू भट्टरार्ई परिवारका तर्फबाट सीता, केशव, दिनेश र नारायणका नाम रहेका छन् । त्यसपछि यस पुस्तकका सम्पादक वासुदेव खनालको ‘सम्पादकीय’ रहेको छ । 

यसपछि विषयसूची रहेको छ । पुस्तकमा विभिन्न १ सय ५४ नित्यकर्म पद्धतिका बारेमा उल्लेख गरिएको छ । संस्कृतका विभिन्न आधार प्रमाणसहितका सूक्तिहरूका आधारमा ती कर्मपद्धतिको उल्लेख गरिएको छ । कर्मसँग मिल्दाजुल्दा आशन, हस्तमुद्राहरू समेत दिइनाले नित्यकर्म पद्धतिका लागि बोध गर्न अझै सहज भएको छ । अर्थबोधगम्य बनाउन कतिपय कुराको आवश्यकताअनुसार पादटिप्पणी पनि दिइएको छ । संस्कृतका सूक्तिहरूको नेपालीमा अर्थ दिइनाले पठनबोध गर्न सजिलो भएको छ । 

पुस्तकमा सन्ध्योपासनविधि, प्राथकालिक प्रथमकर्म, गणेश्स्तुति, शिव स्तुति, विष्णुस्तुति, सूर्यस्तुति, देवीस्तुति तथा प्रातकालिक अन्य विभिन्न स्तुतिहरूबारे उल्लेख गरिएको छ । शौचाचार, पुरीषोत्सर्गविधि, मूत्रोत्सर्गविधि, परिस्थितिअनुसार शौचभेद, शौचका प्रकार, बाह्यशौच, अभ्यन्तरशौचलगायत बारेमा पनि पुस्तकमा चर्चा गरिएको छ । जसले गर्दा यस्ता कर्मबारे जान्न चाहनेहरूका लागि यस पुस्तकले सहज बनाइदिएको छ । यसैगरी दन्तधावनविधिअन्तर्गत ग्र≈यदतिवनविधि, अनुपयुक्त दतिवन, दतिवनका लागि निसिद्धकाल आदिको चर्चा हुनुले नित्यकर्मको नियममा रहनका लागि सजिलो भएको छ । 

पुस्तकमा क्षैरकर्मको पनि चर्चा भएको जसमा यसका विधिहरूको वर्णन भएको छ । यसैगरी यस पुस्तकमा चर्चा भएका विभिन्न विधिमध्ये स्नानविधि एक हो । नुहाउनु स्वास्थ्यका लागि मात्र होइन, धर्म आर्जनका लागि आवश्यक छ । यसका लागि विभिन्न समय तथा विधि तोकिएका छन् । जसको पालना गरेर नुहाएका खण्डमा मात्र धर्म प्राप्ति हुन्छ । यस पुस्तकमा यसबारे विस्तृत रूपमा व्याख्या भएको छ । 

पुस्तकमा आचमन, वस्त्रधारण गर्दा र खोल्दाका विधि तथा मन्त्रहरूसमेतको उल्लेख भएको छ । यसैगरी आचमन, तर्पण, आसन शिखाबन्धन आदिलगायत यज्ञोपवित धारण गर्दा, बदल्दा र त्याग गर्दाका विधि र मन्त्रहरूले पनि पुस्तकमा स्थान पाएका छन् । देवतर्पण, ऋषितर्पण, पितृतर्पणका फरकफरक विधि पनि उल्लेख भएका कारण धार्मिक आध्यात्मिक व्यक्तिहरूका लागि यसले सहज गराएको छ । तिलक धारणविधि, जपविधि, करमाला, सन्ध्या, कुश उखेल्नेविधि आदिको चर्चा भएबाट उक्त कार्य सम्पन्न गर्दा निश्चय यस पुस्तकले सघाउ पु¥याउने छ । 

सूर्यलाई अघ्र्यदिने विधि, उपस्थापन, षडङ्गन्यास, गायत्री उपस्थापनलगायत प्राणायम र यसका विभिन्न प्रकार तथा मुद्राको सचित्र उल्लेख हुनाले हालको खानपान, दैनिक कार्य आदिका कारण विभिन्न रोगबाट ग्रसित बन्नुपर्ने बाध्यतामा रहेका मानिसहरूका लागि योग तथा प्राणायम गर्न यसले सघाउ पु¥याउने निश्चित छ । 

मध्यन्नसन्ध्या, आचमन, अघ्र्यदान, पञ्चमहादान, ब्रह्मयज्ञ, पितृयज्ञ, तर्पण, समर्पण, देवयज्ञ, भूतयज्ञ, मनुष्ययज्ञलगायतका यज्ञविधिहरूका साथै पञ्चदेव पूजनविधि, गणेशस्तुति, संकल्प र सङ्कल्पमध्ये पनि निष्काम सङ्कल्प र सकाम सङ्कल्पको यहाँ उल्लेख हुनाले धार्मिक आध्यात्मिक व्यक्तिहरू निश्चय पनि यस पुस्तकबाट लाभान्वित हुनसक्नेछन् । घण्टपूजन, शङ्खपूजन, कलशको पूजा, विष्णुस्तुति, शिवस्तुति, गणेशस्तुति, सूर्यस्तुति, देवीस्तुति षोडषोपचार पूजा, आरती, प्रदक्षिणा, मन्त्रपुष्पाञ्जलि, नमस्कार, चरणमृतपान, क्षमायाचना, प्रसाद ग्रहण, भोजन, भोजन गर्ने स्थान र समय भोजनविधि भोजनोत्तरकर्मको चर्चा र विधिबाट पनि पाठकले बृहत् ज्ञान प्राप्त गर्नसक्ने निश्चित छ । 

श्रीसप्तश्लोकीदुर्गा, सप्तश्लोकी गीता, एकश्लोकी रामायण, चतुःश्लोकी भागवतम्, तुलसीप्रार्थनामन्त्र, विष्णुमृत्युञ्जयस्तोत्रम् चाक्षुषोपनिषद् तथा क्षमाप्रार्थनाको समेत पुस्तकमा चर्चा हुनाले हिन्दू धर्मावलम्बीहरूका नित्यकर्मसम्बन्धी बृहत् ज्ञान प्राप्त हुनसक्ने कुरा निर्विवाद छ । 

वेदध्यायी तिलकराम भट्टरार्ईको असीमित ज्ञानको प्रमाण पनि हो यो पुस्तक । यसका साथै उहाँ आफ्नो समयमा समाजसेवा, तथा प्रजातान्त्रिक अभियानमा पनि संलग्न रहनुभएको थियो । उहाँका सुयोग्य सन्ततिहरूबाट उहाँका बाँकी कृतिहरू पनि प्रकाशनका लागि हार्दिक शुभकामना तथा विद्वान तिलकराम भट्टरार्ईप्रति हार्दिक श्रद्धासुमन । 


Views: 230