22nd January | 2021 | Friday | 11:39:02 AM

कथा : बेरोजगारी र बेरोजगारको पीडा

जनक रावल   POSTED ON : पुष २५, २०७७ (८:२० AM)

कथा : बेरोजगारी र बेरोजगारको पीडा

‘आज दाल पकाएनौं र ?’ खानामा आलु र आलुको झोलमात्र देखेर जैभानेले सोध्यो ।

‘दाल थोरै बाँकी छ, सकियो भने के खाने भनेर नपकाको । कहिले तरकारीको झोल त कहिले दालसँग मात्र खानुपर्छ ।’ झर्कँदै उसकी श्रीमतीले जवाफ दिई ।

उसले विस्तारै आफू नजिक बसेका दुईजना छोरातिर हे¥यो । तिनीहरू त्यही अलिकति भात, अनि अलिकति आलुको झेलसँगै सन्तुष्टि लिँदै थिए, उसका छोराहरू । दुवै सानै छन् । एउटा त अलिकति बुझ्ने भइसकेको छ, करिब दश वर्ष पुगिसकेको छ तर अर्को सानै छ, करिब पाँच वर्षमात्र पुगेको छ । उसको ठूलो छोरो २०५७ साल वैशाख १० गते जन्मिएको हो भने सानो छोरो २०६१ साल फागुन १ गते जन्मेको थियो । दुवैको बीचमा करिब पाँच वर्षको अन्तर रहेको छ ।

जैभानेले मनमनै सोच्यो ‘सब म बेकामे भएर हो ।’

बालबच्चा तयार भए र स्कुलतिर गए । जैभाने पनि कोठाबाट निस्कियो । आज पनि दिनभरि जागिरको खोजीमा राजधानीका गल्लीगल्ली, प्राइभेट अफिस र कम्पनीहरूमा भौंतारियो । अनि सिंहदरबारको दक्षिणी गेटमा गएर कोही चिनेकाहरू आउँछन् कि भनेर बाटो हे¥यो । आफैंले पनि भित्र जानका लागि कोसिस ग¥यो, गेटमा बसेका प्रहरीहरूलाई अनुरोध ग¥यो तर भित्र पस्नलाई त ‘पास’ नभई नहुने भयो । बेलुकी निरासै घर फर्कियो । 

‘कतैं केही ठेगान भयो ?’ घर पुगेपछि उसकी श्रीमतीले सोधी ।

‘अह ! केही भएन ।’

सानो छोरो दौडँदै आयो र एउटा पहेलो पर्चा दिँदै भन्यो ‘ड्याडी, पैसाको चिठ्ठी आएको छ ।’

राजधानीको आधुनिक शिक्षा न हो, पढेर भोलि केही देओस् नदेओस् तर आज बुबाआमाको साटो डेडी मम्मी र बाजेलाई हजुरबुवा र बजैलाई आमा भन्न थालेका छन्, बच्चाहरू । यही नौलो संस्कार र सभ्यता दिएको छ, आजको शिक्षाले । सकी नसकी ‘बोर्डिङ’ मा पढाउनु परेको छ, नभए त पाखे, गरिब, कमजोर र असभ्य भनेर परिचय दिन थालेको छ, आजको समाजले । जैभानेले पर्चा समात्यो र हे¥यो, दुई महिनाको शुल्क तिर्नुपर्ने बिल आएको रहेछ, विद्यालयबाट । शायद ठूलोले बुझेको हुनुपर्दछ कि ‘बाबासँग अहिले पैसा छैन’, त्यसैले होला पहिल्यै बिल निकालेर पुस्तक राख्ने सानो टेबुलको खानामा राखिसकेको हुन्छ । 

जीवनमा आपूmले भोगेका दुःख÷पीडा सन्तानले भोग्नु नपरोस् भन्ने सोच्दथ्यो ऊ । तर लेखान्त चाहेर बदलिँदो रहेनछ । आज बुढा आमाबाबुको आँखामा आँसु छन् । न त राजधानीमै आएरसँगै बस्ने ठाउँ छ, न त त्यो विकट गाउँमा केही जोहो गर्न नै सक्दछन्, न त कोही बुढेसकालको सहारा छ । राजधानीको महँगाई, एउटै कोठाको भाडा २५ सय, तीन हजारभन्दा बढी भन्न थालिसकेका छन्, तरकारी र अरू त झन् छोई नसक्नु । 

उहिले कहिले भारतको कानपुर, अनि कहिले पहाडको खेतबारी गर्दै अलि पढेका जैभानेका बाले माष्टरको सरकारी जागिर खाएका थिए र त्यसैको पेन्सनले बुढाबुढीको गुजारा चलिरहेको थियो । जैभानेकी श्रीमतीले खाना पस्की, खान बस्दा उसको मन खिन्न भयो । खाना दिँदा आज थाल निकै बज्रियो । त्यो चर्को आवजले श्रीमती रिसाइछन् भन्ने उसले बुझ्यो । खानपिन सकिएपछि बालबच्चा सुते, जैभाने र उसकी श्रीमती पनि एकअर्कोतिर पिठ्यूँ फर्काएर सुते । 

उसलाई पटक्कै निद्रा लागेन । उसले सम्झयो, विचरी नरिसाओस् पनि कसरी ? बिहे गरेको पनि तेह्र वर्ष पुगिसकेछ, गुन्यूचोलो त परै जाओस् चुरा र पोतेसमेत ल्याइदिन सकेको छैन । धन्न उतै गाउँतिर छदा शृंगार पटारको काम कसले हो सिकाइदिएकी थिइन् र राजधानीमा पनि अरूकोमा त्यही सानो काम गर्दै सिक्दै गरेकी हुनाले आज घर खर्च चलाउँदै छिन् । बच्चाबच्चीले पनि वर्षको एकपटक कक्षा चढेको बेला स्कुल ड्रेस फेर्न पाएका छन् । जैभानेले पनि नपढेको त कहाँ हो र ! समय लागे पनि बिए पास गरेको छ, सानोतिनो जागिर पाएपछि अझ पढ्ने विचार छ उसको । काम नगरेको होइन, ऊसँग सीप पनि नभएको होइन । 

गाडी चलाउनेदेखि कम्प्युटर चलाउने, आर्ट गर्नेदेखि लिएर खेल खेल्नेसम्म । उसले २५ सयमा प्राइभेट कम्पनीको चाउचाउ बेच्ने काम ग¥यो, खर्च बढ्दै गएपछि उसले अलि बढी पैसा पाउने काम खोज्यो । दुई वर्षसम्म त ४ हजार ५ सयमा उसले गाडी चलाउने (ड्राइभर) काम ग¥यो । उसले आफूले पढेअनुरूपको कामको खोजी पनि ग¥यो । तर न त उसको भनसुन रहृयो नत उसले चाकडी चाप्लुसी नै गर्न सक्यो । करिब तीन महिना बेरोजगार बसेपछि उसले फेरि चाउचाउ बेच्ने काम पायो । पैसा पनि अलि धेरै आउने र राम्रो पनि भनेर उसले काम गर्ने निधो ग¥यो । कम्पनीले उसलाई जुम्ला, कालिकोट, जाजरकोट,सल्यान, रुकुम, दैलेख, सुर्खेतमा काम गर्न पठायो । 

पछिलाई राम्रो हुने र अहिले पैसा पाइने भएकाले सुख दुःख जसरी पनि टार्ने सल्लाहले ऊ श्रीमती र बालबच्चा छोडेर गयो । सरकारी जागिरमा कोसिस गर्ने भनेर लोकसेवाको फाराम भ¥यो तर चाउचाउ बेच्न जुम्ला पुगेको उसलाई कम्पनीले बिदा दिएन र उसले परीक्षा दिन पाएन । उसले चित्त बुझायो कि ‘यसैंमा राम्रो भयो भने र छोरालाई पढाउन सके भने पनि भैहाल्छ ।’ अचानक उसका बुबाले गाउँबाट फोन गरे, उसकी आमा पहिलेदेखि नै बिरामी, उसले केही दिनलाई बिदा माग्यो तर उसको बोसले भन्यो, ‘शनिबार त काम नगरे पैसा पाउँदैनांै भने बिदा कसरी दिने ? नो लेटर, नो लिभ त कम्पनीको नियम हो ।’ उसले त्यो जागिर पनि छोड्यो र आजसम्म बेरोजगार रहृयो ।

उसले विगत सम्झ्यो । प्रजातन्त्रको माग गरे उसका गाउँलेले २०४८ सालमा उसले एउटा पार्टीलाई भोट हाल्यो । पार्टीका सबैले केही न केही पाए तर उसले पछिको लागि केही पाउने आस ग¥यो । २०५१ मा फेरि चुनाव भयो, उसले फेरि अर्को पार्टीलाई भोट हाल्यो, यतिखेर उसले दश कक्षा पास गरिसकेको थियो, विकटको मान्छे, केही सहुलियत पाउने आसले, तर उसले दुर्गमको पीडा र विकटको चोटमात्र पायो । उच्च शिक्षा लिने भनेर राजधानी छिरेको उसले ती प्रतिनिधि भनाउँदा कसैको अनुहारसमेत देख्न पाएन । एकजना सांसदले भने, ‘जागिर खाने भनेर म कहाँ नधाउँनु ।’ 

२०५६ सालमा फेरि चुनाव भयो । यसपटक उसले अर्को एउटा पार्टीलाई भोट हाल्यो तर कतै कुनै परिवर्तन भएन । भयो त पार्टीका नेताहरूको भयो, चप्पलदेखि पजेरोसम्म, छाप्रोदेखि आलिसान महलसम्म तर गरिबी नहटाई गरिब हटाउने खेल मात्र भइरहृयो, सदीयौंसम्म । क्षेत्र २ का सभासदले उसलाई सँगै लिएर गए, जागिरको कुरा गर्न तर आफ्नै छोरीको कुरा गरे, जागिर मिलाए र अमेरिका पठाए । पार्टीका सभापति जीसँग पनि भेटधाट गराए तर ऊ एक्लो उसको जस्तो भोट त थुप्रैले पो दिएका रहेछन्, उसले त भुसुक्क बिर्सिएछ । 

आफ्नै बलबुता र क्षमताले उसले सानो तिनो रकममा आफू र आफ्नो परिवारको गुजारा गर्दैरहृयो । फेरि आमूल परिवर्तनका लागि नौलो धार देखा प¥यो । दोहोरो प्रणालीय चुनाव भयो, उसले यथास्थितिवादी र अवसरवादीलाई भोट नहालेर नयाँ नेपालका नयाँ पार्टीलाई भोट हाल्यो । तर, आजसम्म उसले केवल बेरोजगारी र त्यसको पीडामात्र पायो । उनीहरू केवल भित्रभित्रै आफ्नै ‘सेटिङ’मा तल्लीन भएको भेट्यो उसले ।


Views: 172