27th January | 2021 | Wednesday | 8:09:08 PM

लघुकथा : बेतलबी नायिका

पौडेल विमुन्स   POSTED ON : पुष २५, २०७७ (८:२२ AM)

लघुकथा : बेतलबी नायिका

कसैलाई कहिले जान नपरोस् यो अदालतको कठघरामा भन्दै अन्य कतिलाई सम्झाउने रितु आज आफैं कठघरामा उभिएर प्रतिउत्तर दिइरहेकी थिई । उत्तर भने आँखाबाट रगत छचल्किए जतिकै कठिन छन् तर अदालत प्रत्यक्ष नसुनी फैसला सुनाउने पक्षमा छैन ।

डिफेन्डर भन्दै छ ‘रितु दियाली नन्दुकी पत्नी बन्न लायक कहिले थिइनन् । घरका कामकाज कहिले नगर्ने घरबाहिर मात्र रमाउने उनको चरित्र सुुरुवातदेखि थियो ।’

रितु यस्तो सुनेर विक्षिप्त भई किनकि कहिल्यै घर नबस्ने, घरको कुनै काम कहिल्यै नगर्ने, बच्चा बिमारी भएर अस्पताल भर्ना हुँदासमेत ‘म मिटिङमा छु अहिले पुग्न भ्याउँदिन भनेर चिन्ताविहीन हुनसक्ने, श्रीमती सुत्केरी हुँदा घर न्वारन गर्नसमेत नबसेको पुरुष नन्दुकी पत्नी थिई ऊ ।

तीन सन्तान कि आमा हो रितु तर कुनै सन्तान जन्मदा न परिवारको सहयोग पाएकी हो न त श्रीमान्को आड भरोसा नै । सुत्केरीको नाजुक अवस्थामा पनि ऊ सकी नसकी खाना बनाएर खान्थी, घरका सारा काम गर्थी ।

राज्यले सुरक्षित मातृत्वको ठूलो नारा र बजेट विनियोजन गरेर भिœयाएको छ तर ती घरभित्र पिल्सिएका सुत्केरी आमाको पीडा समेट्छ यी योजनाले ? अस्पताल, कर्मचारी र प्रशासनको घेराभित्र जेलिएको यो सुरक्षित मातृत्वको नाममा राखिएको बजेटले केबल पिल्सिएका आमाहरूको कथा लेखिन्छन् अनुसन्धान को नाममा ?

आमा यस नाटकको प्रमुख नायिका हुन् जो बेतलबी भूमिका निर्वाह गर्छिन् । संसारको रचना गर्ने, जन्म मृत्युको दोसाँधमा सधैं हिम्मतका साथ लड्ने, कहिले चरित्रहीनताको लाञ्छना, कहिले कमजोर नारी, कहिले भोकै बसेर सन्तानको पेट भर्ने कर्तव्य बोधको घेरा, खेतीबारीको धन्दा, चुलो चौकाको धन्दा, न बिमारी हुँदा आराम छ न चोट लाग्दा उपचार छ । तर पनि जीवन निरन्तर धकेल्दै ओठमा मुस्कान भर्दै मृत्युको दिन नजिक नहुँदासम्म विधाविधामा नाच्ने हाँस्ने तर हृदयमा कठोर यातना र वेदनाको पीडा साँच्ने एक प्रमुखपात्र हुन् उनी । उनीलाई नचाएर संसार चरम विकास गर्छ र रमाउँछ ।


Views: 201

सम्बन्धित सामग्री:

कविता : तपोभूमि

मुना दाहाल : माघ १३, २०७७ (१:२५ PM)

कविता : स्वाधीनता

सुरेश भट्ट : माघ १०, २०७७ (८:४० AM)