25th February | 2021 | Thursday | 7:25:50 AM

पुस्तक : ‘समय र सपना’ मा कौशिला

सुशीला घिमिरे   POSTED ON : माघ ३, २०७७ (१:१६ AM)

पुस्तक : ‘समय र सपना’ मा कौशिला

कौशिला रिसाल समकालीन साहित्य फाँटमा धेरै सुनिने नाम हो । उहाँका यसपूर्व नयाँ वर्षको उपहार, आहा पूmल र कमिलाको एकता शीर्षकका बाल तथा किशोर कथा संग्रह प्रकाशित भएका छन् । यसरी बालसाहित्यमा उहाँको सिद्धहस्तता प्रमाणित भइसकेको छ । साहित्यमा समर्पित भएर निरन्तर लागिरहने स्रष्टामध्ये एक रिसालका किशोर कथाहरू पनि प्रकाशित छन् । बाल र प्रौढ साहित्यतर्फ मात्र साहित्यकारहरूको ध्यान गइरहेको वर्तमान सन्दर्भमा किशोरसाहित्य लेखनतर्फ कसैको ध्यान नपुगिरहेको अवस्थामा रिसालले यसतर्फ पनि ध्यान पु¥याउनु भएको पाइन्छ । 

हालै प्रकाशित ‘समय र सपना’ भने उहाँको गद्य कविता संग्रह हो । नमुना प्रकाशन तथा अनुसन्धान प्रालि काठमाडौं नयाँबजार प्रकाशक रहेको पुस्तकको प्रथम संस्करणको प्रकाशन २०७७ साल (ई सं २०२०) मा भएको छ । सर्वाधिकार लेखकमा रहेको यस पुस्तकको मूल्य २ सय रुपैयाँ रहेको छ । अग्रभाग (भूमिका खण्ड) समेत पुस्तकमा १०४ पृष्ठ रहेका छन् । पुस्तकमा स्तरीय कागज प्रयोग भएको छ र छपाइ पनि स्तरीय छ । अशुद्धिहरू भेटिँदैनन् । 

कवयित्री आफँै नेपालीको अध्यापक भएका कारण पनि यस्तो भएको हो भन्न सकिन्छ । पुस्तकको छपाइ संख्या खुलेको छैन । आवरण पुस्तकको शीर्षक ‘समय र सपना’ जस्तै अमूर्त छ । आवरण तयार गर्ने व्यक्तिको नाम बाहिर उल्लेख भएको पाइएन तर कवयित्रीको मन्तव्यमा उहाँको नाम नरेन्द्रबहादुर श्रेष्ठ भनेर उल्लेख भएको पाइयो । उहाँले सुन्दर आवरण तयार गर्नु भएको छ । 

नेपाल प्रज्ञापरिषद्का प्राज्ञ सदस्य प्राडा. हेमनाथ पौडेलको ‘वर्तमानबोध र भविष्यदृष्टि भएका कविता’ शीर्षकको निकै लामो विवेचनात्मक भूमिकापछि कविको ‘मैले भन्नुपर्दा’ शीर्षकको मन्तव्य रहेको छ । 

पुस्तकमा ४८ वटा कविता समेटिएका छन् । कविताका शीर्षकहरू धेरैजसो छोटा छन् । यीमध्ये एक शब्दका २३ वटा शीर्षक छन् भने २ शब्दका ११ शीर्षक छन् । तीन शब्दका १० वटा चार शब्दका तीनवटा र पाँच शब्दको एउटा शीर्षक छन् । रिसालका बाल कथा, किशोर कथा, समालोचना तथा पाठ्यपुस्तकहरू पनि प्रकाशित भएका पाइन्छन् । उहाँका फुटकर लेखरचनाहरू बाक्लै प्रकाशित हुने गरेको छन् । उहाँले केही पत्रिकाहरूको सम्पादन पनि गर्नु भएको छ । सामाजिक तथा सांगठनिक कार्यमा समेत उहाँ सक्रिय रहँदै आउनु भएको पाइन्छ । 

उहाँका यस संग्रहभित्रका कविताहरूले वर्ग, समुदाय, र लिंगका आधारमा हुने भेदभावप्रतिको आलोचना, आक्रोश र व्यङ्ग्य प्रकट गरेका छन् । राष्ट्रियता, स्वाधीनता, असन्तुष्टि, खबरदारी, अधिकार, अस्मिता, गरिबी, पीडा, शोषण, शासनसत्ताप्रति आक्रोश, समसत्ता, जन्मभूमिप्रतिको माया आदि भाव अभिव्यक्ति गर्ने खालका कविताहरू यहाँ छन् । 


 

समाज, संस्कृति, राजनीति, प्रकृति, समसामयिक सामाजिक व्यवहार, जीवन भोगाइ उहाँका कवितामा प्रकट हुँदै आएका छन् । सानैदेखि कविताबाट आकर्षित रिसाल गोरखा सिरानचोककी बासिन्दा हुनुहुन्छ । गाउँमा रहँदादेखि नै उहाँ साहित्यिक, प्राज्ञिक, राजनीतिक तथा शैक्षिक कार्यमा सक्रिय हुनुहुन्थ्यो । राजधानीमा आएदेखि उहाँले आफ्नो रुचिको दायरा फराकिलो बनाउँदै लानुभएको हो र तिनै विषयमा रमाउँदै आउनुभएको पनि छ । 

‘समय र सपना’ मा समावेश कवितामध्ये एउटा कविताले पुस्तकको चार पृष्ठको आयतन ओगटेको छ भने अरू धेरैजसो कविताहरूले एक र दुई पृष्ठ ओगटेका छन् । थोरै संख्यामा तीन पृष्ठ ढाक्ने कविताहरूको समाविष्टि छ । उहाँका ‘किनार छुनु छ’, ‘गर्भाधान’, ‘पूर्णता’, ‘भविष्य’, ‘सत्य’ र ‘नदी’ शीर्षकका ६ वटा कविताहरूलाई लघुकविता भन्न सकिन्छ जो आयाममा ज्यादै छोटो छन् । ती पाँचदेखि आठ हरफसम्मका मात्र छन् । ‘नदी’ शीर्षको कविता उदाहरणका रूपमा यहाँ उदृत गरौँ ः 

जिन्दगीको सरोवरबाट 

उभाएर एक अँजुली तिर्खा 

हिमाललाई भयो 

म शिरबाटै खस्छु 

नदी भएर । 

यसरी उहाँको यस संग्रहमा लघु, छोटा र लामा सबै प्रकारका कविताको प्रयोग गर्ने प्रयास भएको पाइन्छ । यसका साथै भावमा पनि विविधता रहेको छ । ‘सत्य’ शीर्षकको लघु कवितामा उहाँ लेख्नुहुन्छ ः 

प्रभातको लालीकिरण

धर्तीमा पोखिँदा

हेर पुस पनि मुस्कुराइरहेछ 

चिसो कुहिरोका 

बीचबाट उठेर । 

यस कवितामा छोटोमै उहाँले केही कुरा भन्नु भएको छ । दोहोरोभाव भएको यस कवितामा एकातिर प्रकृतिको चित्रण छ जो पुसको कठांग्रिँदो चिसोमा घामका किरणको महŒव र घाम उदाउँदाको रमणीय वातावरणको संकेत छ भने अर्कातिर यसमा सांसारिक यथार्थता पनि अभिव्यक्त भइरहेको छ । ऋतुहरूको परिभ्रमण र तिनबाट सिर्जित जाडो गर्मी आदि यथार्थ हुन् । 

यसरी कवयित्री रिसाल छोटोमा धेरै भन्न सफल हुनुहुन्छ जो कविताको विशेषता हो । ‘समय र सपना’ यस संग्रहको शीर्ष कविता हो । समयले सबैका लागि उत्तिकै अवसर दिएको हुन्छ । यो गतिशील छ र कहिल्यै पनि रोकिँदैन न कसैले रोक्न नै सक्छ । समय कसैको नियन्त्रणमा रहँदैन तर सबैलाई समयले नै हिँडाउँछ परिचालन गर्दछ । समयको प्रवाह जस्तै छ मान्छेको जीवन पनि, न रोकिन्छ न नियन्त्रित हुन्छ । 

यसैगरी सपना मानिसका जीवनका लक्षहरू हुन् कति पूरा हुन्छन् कति हुँदैनन्, निद्राका सपना जसरी नै मेटिँदै जान्छन् । रिसालले यही सांसारिकतालाई कवितका माध्यमबाट सचित्र उतार्नु भएको छ । यो नै उहाँको सफलता हो । यो कविता बढी दर्शनउन्मुख छ, विश्लेषणीय छ । यसमा उहाँ भन्नुहुन्छ ः 

मैले देख्ने गरेका

थरी थरी सपनाका राता इँटाले 

सपनाको धर्तीमा 

सपनाकै रंगीन महल बनाइरहन 

मलाई आनन्द लाग्छ 

के तपाइँलाई पनि ? 

समग्रमा भन्नु पर्दा कवयित्री कौशिला रिसालका ‘समय र सपना’ संग्रहभित्रका सबै कविताहरू स्तरीय र पठनीय छन् । कथामा जसरी नै उहाँको कविताको लेखनी पनि प्रभावपूर्ण र तेजिलो छ, सफल छ । उहाँको कविताको सुदूर भविष्य सुन्दर देखिन्छ । किनकि बिहानीले उज्यालो दिनको संकेत गरेको छ । उहाँबाट यस प्रकारका कृतिहरू नेपाली साहित्यले पाइरहोस् । हार्दिक शुभकामना । 


Views: 67

सम्बन्धित सामग्री:

कथा : उधारो जिन्दगी

बिजु सुवेदी विजय : फाल्गुन ८, २०७७ (१०:०२ AM)