8th March | 2021 | Monday | 9:00:08 AM

खकुरेल र उनको ‘स्रग्धरा’ महाकाव्य लघु विवेचना !

बद्रीप्रसाद दाहाल   POSTED ON : माघ ३, २०७७ (१:१८ AM)

खकुरेल र उनको ‘स्रग्धरा’ महाकाव्य लघु विवेचना !

विसंं १९९९ असोज २२ गते मनोधरा खकुरेल र कविराज हरिप्रसादका कोखबाट काठमाडौंको गणबहालमा आँखा खोलेका थिए आधुनिक आशुकवि रमेश खकुरेलले । ब्रहृमचर्य आश्रम पशुपतिमा गुरुकुल प्रणालीबाट प्रारम्भिक शिक्षा आर्जन गर्न थालेका उनी सातै वर्षको उमेरदेखि ‘निगमकल्पतरोर्गलितंफलम् ..... जस्ता श्रीमद्भागवत् श्लोकहरूको सुमधुर वाचन गर्दै लयात्मक रूपले कविता साधनाको शुभारम्भ गर्थे । त्रिविबाट शास्त्री र बीएको औपचारिक शिक्षा आर्जन गरेका यिनी– ‘प्रतिभा, अभ्यास र व्युत्पत्तिको त्रिवेणी नै छन् ।’ पूर्वीय एवं पाश्चात्य दर्शन, साहित्य, विज्ञानजस्ता विविध पक्षमा उनको गम्भीर अध्ययन छ । केही समय अधिकृत तहको जागिरे जीवन अँगाले पनि ‘ब्रहृम सत्यं जगत् मिथ्या’ का पक्षपाती खकुरेल उपल्ला प्रशासकका अनियमित क्रियाकलापको फड्के साक्षी बस्न नरुचाएकै कारण जागिर छाड्न खुशी भए । ट्रक ड्राइभर, व्यवसायी हुँदै संघर्षशील जीवनको उकाली ओराली भोगेका खकुरेल वार्णिक छन्दका सिद्धहस्त महाकविमात्र नभएर एक आत्मपरक निबन्धकार, हास्यव्यंग्यकार र सफल कलाकारसमेत हुन् ।

सरलताभित्र गहनता दिने अभिव्यञ्जक खुवी उनको विशेषता हो । अँगालो (कविता संग्रह) संक्षिप्त भौतिकी (छन्द विज्ञान) घर भाडामा खाली छ (कविता संग्रह) सरिता नानी (महाकाव्य) बहिनीलाई सन्देश (खण्डकाव्य) सावधान जहाज डुब्दैछ (लामो कविता) बिदाइ (खण्डकाव्य) गर्दभराग (कविता संग्रह) खासा ल्हासा (यात्रा काव्य) आनन्द प्रज्ञा गीतमाला (अनुवाद) जस्ता गन्थ्रका सर्जक उनी आफ्नी नातिनी स्रग्धराको नामबाट ‘स्रग्धरा’ महाकाव्य दिएर नेपाली महाकाव्यको खडेरीमा राम्रो वर्षा बनेका छन् । सरल, विनयी, सहअस्तित्ववादी र धेरै नेपाली कविहरूलाई गतिलो भ¥याङ उनी समीक्षक सहयोगी र प्रेरक अभिभावकीय भूमिका आसीन छन् ।

यतिखेर खकुरेलद्वारा २०५९ सालमा सिर्जित ‘स्रग्धरा’ महाकाव्य जसलाई भानु प्रकाशनले मुद्रित मुहारमा देखाउने पुनित काम ग¥यो त्यसैभित्र यथाशक्य पौडी खेल्ने जमर्को वा धृष्टता हो यो अल्पज्ञानी समीक्षकको ।

‘स्रग्धरा’ नायिका प्रधान महाकाव्य हो । कवि खकुरेलकी नातिनी बाल नायिका ‘स्रग्धरा’ यो ग्रन्थको सुन्दरतम माला बनेकी छिन् । अठार सर्गमा एक हजार दुई सय उनानब्बे श्लोकहरूमा फिँजारिएको यो प्रबन्धकाव्यले अनुष्टुप छन्द नै मुख्य वैशाखी बनाएको छ । सर्गान्तमा नगण्य विविध छन्दहरू पनि प्रयोग भएका छन् जुन पूर्वीय दृष्टिकोणमा महाकाव्यीय विशेषता वा अनिवार्यता हो । ‘दुई सन्तान ईश्वरका वरदान’ भन्ने समसामयिक उपाख्यानसित मितेरी लगाएका खकुरेल दम्पति छोराछोरीको शिक्षा, स्वास्थ्य र व्यक्तित्व विकासमा थालनीदेखि नै गम्भीर बनेर उच्च अभिभावकीय भूमिका निभाएका छन् । 

समुचित रेखदेखकै परिमाणस्वरूप पठनशील दुई सन्तति आधुनिक शिक्षाबाट परिमार्जित बनेर अमेरिका जस्तो स्वप्न नगरीमा जाने मौका पाई आफ्नो अध्ययन र पेशाको विशाल क्षितिज चियाए । छोरीको उतै नेपाली योग्य वरसित बिहे भयो र लगत्तै छोराको पनि । खकुरेल ‘साउँभन्दा ब्याज प्यारो’ भन्ने नेपाली उखानको प्रतीक्षामा बसे । कालक्रममा खकुरेल कुललाई दीप्त बनाउँदै स्रग्धराको जन्म भयो । छन्दप्रेमी कवि खकुरेलले आफ्नो छान्दिक मोह नातिनीको नाममा जुराएर एउटा मूर्त महाकाव्यको तयार गर्ने सामल बनाए । 

छोराको अमेरिका गमनपछि बुहारी नातिनी र खकुरेल दम्पतीका दिनहरू केही शून्यतामा बित्दै गयो । विस्तारै पुत्रवधू पनि अमेरिका गएपछि सानी नातिनी स्रग्धरासहित तीनजनाको परिवार मनोवैज्ञानिक पीडामा पीडित हुँदै दिनहरू काट्न थाले । सयमको अन्तरालमा नातिनीसहित कवि दम्पती अमेरिका उडे । त्यहाँ गएर उनले संगोष्ठीहरूमा सक्रियतासाथ नेपाली साहित्यिक माहोल जमाए । छोरीज्वाइँ र अर्की नातिनी सहजाको हार्दिक कोमलतामा रमाउँदै बालसुलभ प्रेमको रसपान पनि गरे । उन्नत प्रविधि र विकसित भौतिक चकाचौधसित दंग पर्दैै कानुनी राज्यको सुधामृत चाखी स्वप्न नगरीको सार्थकतालाई चुमे । व्यस्त जीवनचर्या, कर्तव्यपरायण संस्कृति, अनुशासन, नैतिकता र यान्त्रिक चमत्कारको स्वर्गीय अनुभूति कविले गरे । आखिर मुटुको ढुकढुकी मायाको कलेजो बनेकी स्रग्धरालाई समेत अमेरिका छोडेर बुढाबुढी देशको प्रेमबाट अभिषिञ्चित हुँदै नेपाल फर्किए । यसरी महाकाव्यको कथा टुंगिएको छ ।

‘स्रग्धरा’ बालिका नायिकाप्रधान निजात्मक प्रबन्धकाव्य हो । मङ्गलाचरणको झलक दिई दार्शनिक सार खिच्दै विचारहरूका ऊर्जाशील ज्वार कविले कलापूर्ण शैलीमा पस्किएर आफ्नो आशुकवित्व एवं परिमार्जित लेखनीलाई सशक्त रूपले उभ्याएका छन् । सन्ततिप्रतिको कर्तव्य बोध, उनीहरूको हार्दिक अनुराग, परिवर्तित सन्दर्भको शैक्षिक संसारसित बसउठ गर्नसक्ने युगानुकूल शिक्षा नयाँ पुस्तालाई दिन अनि हाम्रा आर्ष ग्रन्थका उदात्त विचारस्रोतबाट अभिरञ्जित गर्न काव्यकार उचाइमा उठेका छन् । चराचर जगत् र विश्व ब्रहृमाण्डका सञ्चालकसित कति मीठो जिज्ञासु भए र पोखिन्छन् कवि ः

‘गरेनौ सुखको मात्र, सिर्जना विश्वमा किन ?

दुःख जन्माउँदा तिम्रो, फाइदा के छ लौ भन ?


जन्म दिन्छन् पितामाता, तिनैले छोड्दछन् पछि ।

यात्री साथ हिँडेकाझैँ, दोबाटो छुट्टिएपछि ।।

जानेर नाना विज्ञान, कला साहित्य–संस्कृति ।

किन जीवन जानिन्न, यस्को आकृति–विकृति ?’

गरिब धनी, मूर्ख विद्वान, ठूला जात र साना जात भन्ने कुद्वन्द्वमा फसेर आज हामीले हाम्रा पूर्वीय ज्ञान विज्ञान र सूक्तिगाथाहरूमा कालो पोतिरहेका छौँ भन्दै कवि यसरी उद्वेलित हुन्छन् ः

‘ब्रहृमास्त्र के भयो हाम्रो ? पार्जन्यास्त्र कता गयो ?

आग्नेयास्त्र कता रौद्र, शक्ति तोमर के भयो ?’ 

राष्ट्रका प्राचीन मूर्ति र अभिलेखप्रतिको लुट देखेर कवि स्रग्धरामा यसरी रन्किन पुगेका छन् –

लुटेरमात्र मानेनन्, फोरे मन्दिर देवता,

राम्रा मूर्ति सकेसम्म, लगे बोकी कता कता ?

व्यञ्जनाको घुँयेत्रो हान्दै कवि भन्दछन्–‘विचरा देवता आफ्नै, रक्षामा असमर्थ छन् ।

पुकारीमात्र के गर्नु ? हाम्रो रक्षा कहाँ गरून् ?’

कवि हरेक देशले खेप्नु परेको परचक्री दबाब र आक्रमणको ऐतिहासिक विश्लेषणसाथ अरूले गर्न सकेको पुरुषार्थको बखान गर्दै नेपालीको हुतीहारा वर्तमानप्रति क्षोभ प्रकट गर्दछन् ।

‘महाकाव्य’ वास्तवमा महासागर नै हो, यसभित्र ऐश्वर्यका खानी लुकेका हुन्छन् त्यसलाई पारख गर्न गतिलै सामलतुमलसहित डुबिल्किन सक्नुपर्छ । खकुरेलले स्रग्धरा महाकाव्यमा मूलतः निम्नलिखित पक्षहरूलाई उठाएको सर्सर्तीको अभ्ययनले देखिन्छ ।

१. विकृति र बेथितिको बिम्ब–हाम्रा प्राकृत सम्पदाको कुरूप तस्वीर खिच्दै कवि कड्किन्छन्–

‘नदीहरू ढल भए, लेदोझैँ जल बग्दछ ।

सफा पानी किन्नुपर्छ, दूधकै मोल पर्दछ ।।

रोगी बिरामीका लागि, डाक्टरै महँगा भए ।

औषधि किन्न झन् चर्को, दुःखी बेकालमै गए ।

कुखुरा पाल वा गाई, दाना बेच्ने धनी हुने ।

उत्पादक हुने नांगो, बांगो माथि चुली छुने ।।

कानुनी राजको खिल्ली उडाएकोमा कवि पड्किन्छन् – 

जता नुन उत्तैपट्टि, कानुन पनि ढल्कियो

नुन चाख्यो एकफेरा, झन् धेरै खान पल्कियो ।

नेता वितण्डाको कस्तो फोटोग्राफी–

‘भ्रष्ट नेता दुष्ट मन्त्री, घूस खोर प्रशासक ।

मिली मुलुक लुट्दैछन्, बेहिसाब धकाधक ।।’

‘कतै अबोध विद्यार्थी छापामार बनाइए ।

कतै चन्दा लिई भ्रष्टहरू पनि बचाइँए ।।’

बावुको किरिया रोके, शिवको लिङ्गमा मुते ।

को उतातिर ढल्कन्छ, आफ्नै धन लुटे पिटे ।।

लुटेका धनको ठूलो भाग जान्छ विदेशमा ।

खाता ठूलो छ नेताकै मोज हुन्छ यहाँ उहाँ ।।

जताहेर उतै भ्रष्टै भ्रष्टको मात्र राज छ ।

हाहाकार छ खानाकै न काम छ न काज छ ।’

२. सन्तानप्रति स्नेह र देशप्रेम ः–

नातिनी सहजा सानी चुल्बुले हँसिलो मुख ।

वात्सल्य उर्लियो बाढी पाई सन्ततिको सुख ।।

घुमे्र मुन्दे्र केशकाला गोलो गम्भीर चेहरा ।

नेपाली पनका काला आँखा ठूला फरासिला ।।

‘तँ सानी पुतली जस्ती, ‘स्रग्धरा’ स्वर्गकी परी । 

तँ हाम्रा काखमा आइस् हाम्रो के पुण्यले गरी ।’

शान्तिको रूप देखिन्छ तेरो मुख निदाउँदा । 

काली झैँ रौद्र भैदिन्छ उही रूप रिसाउँदा ।

खेलौना खेल खेल्दामा देवता मुस्कुराउँदा । 

नौनीको कमलो डल्लो जस्ती हात समाउँदा ।

सन्तानको एक खित्का लाखौं दुःख भुलाउँछ । 

आँसुको एक थोपाले लाखौं लाख रुवाउँछ ।

स्वाभावोक्ति, दीपक, उपमा, उत्प्रेक्षा जस्ता अलंकारमा सजिएर निर्झराझैँ झर्झराउने खकुरेलका काव्यवाणी रसैरसमा निमज्जित छन् । कवि अमेरिकाको स्वप्न नगरीलाई भ्रम सम्झिएर देशको माटोलाई यसरी आदर गर्न पुग्छन्– 

म यहाँ मर्न चाहन्न, यो कङ्क्रीट चिहानमा ।

शिलाको स्तम्भ गाडेर म सुतेको सिरानमा ।।

बाग्मती जलमा जस्तै कालो लेदो बगे पनि ।

त्यही गोडा डुबुन् मेरा जब सिद्धिन्छ जीवनी ।।

पञ्चतत्व मिलोस् मेरै देशको पञ्चतत्वमा ।

फेरि जन्म भए जन्मू यही नेपाल देशमा ।।

३. काव्यिक महिमा– न भक्तिमात्र हो काव्य, न नारामात्र काव्य हो ।

न ता सौन्दर्य मात्रैको, वर्णना गर्नु काव्य हो ।

हाम्रो कलम बन्दुक बोली गोली भई गई । 

विसंगतिहरू माथि हान्ने छन् बज्रझैँ भई ।।

४. अमेरिकी कानुन विधि संस्कृतिको विशद वर्णन । 

५. प्रकृतिको सजीव चित्रण । 

६. अभिव्यक्तिगत तिख्खरता ।

७. दार्शनिक एवं वैचारिक प्रवाह ।

८. आध्यात्मिक विचारप्रतिको अनुराग जस्ता थुप्रै पक्षहरूका थुंगा संकलन गरेर साँच्चैको स्रग्धरा (माला) उनेका छन् कवि खकुरेलले । प्राञ्जल पद्यका प्रस्तोता कविले अझ महाकाव्यको नाम अनुसारकै छन्दलाई ग्रहण गरेको भए शीर्षकको सार्थकतालाई लाली चढाउँथ्यो कि ? जे होस् महाकाव्यको ढुकढुकी छामेर प्रखर समालोचक ताना शर्माले स्रग्धराप्रति यसरी अक्षरको फूलपाती चढाउनु भयो, ‘लयले छन्दलाई, छन्दले भाषालाई र भाषाले भावलाई आफ्ना अधिनमा लिन सकेको यो महाकाव्य अहिलेको नेपालको यथार्थ प्रस्तुति हो ।’

यसरी छन्द, भाषा र भावको त्रिवेणीमा कलात्मकता निखारिएर राष्ट्रियताको झरिलो भाव विज्ञान र ज्ञानले संभ्रान्त अमेरिकाको वर्णन छ । आफ्ना आध्यत्मिक आर्ष ग्रन्थहरूको फराकिलो सुविचारका कालजयी अवधारणा पोखेर राष्ट्रबाट प्रतिभा पलायन भएकोमा क्षोम प्रकट गरेका छन् । साँच्चै भवानी घिमिरेले भनेझैँ–यस महाकाव्यले वर्तमानको विकृति विसङ्गति र नेपाली मध्यमवर्गको छटपटी, पीडा, आशा, अभिलाषालाई शिल्प तथा सौन्दर्यको साँचोमा कुशलतापूर्वक अभिव्यक्त छ । 

नेपालको न्यायिक प्रणालीमा आएको धमिरापन्थ, राम्रालाई भन्दा हाम्रालाई मौका दिने जिम्मेदारहरूको संकीर्ण सोच, ध्वंश र विनाशतर्फ मोडिएको कुराजनीति, धनी बन्न र मोजमजा गर्ने उद्देश्यको लक्षित छ । भ्रष्टाचार लूट र दण्डहीनता देशमा व्यप्त भएकैले नयाँ योग्य जनशक्ति देशबाट बाहिरिँदै छ भनेर कविले सजक गराएका छन् ।

छोरी उपमा र छोरा समीरको समीपमा केही समय बसेर आँखाकी नानी बनेकी स्रग्धरालाई त्यही अमेरिकामा छोडेर आउँदा बुढाबुढी दुवै विहृवल छन् । यता देश र जन्मभूमिको माया उता सन्ततिहरूप्रतिको स्नेहबीच मीठो द्वन्द्व उपस्थित गराएर कविले माटोको अमरतालाई स्वीकार्दै रामले झैं ‘जननी जन्मभूमिश्च, स्वर्गादपि गरीयसीः’ भन्ने सुक्तिमा खिचिएका छन् । आत्मपरक शैलीमा सत्य, यथार्थ र मौलिक यो महाकाव्य बालमनोविज्ञानदेखि वृद्ध हृदयको मुहानलाई खोतल्न निकै सफल छ । मौलिक, कलात्मक, तिख्खर र सुक्तिमय सुधामृत यस काव्यका स्तम्भ हुन् । उनको वैचारिक देढता, बान्की मिलेको बौद्धिक र चिन्तनशील महाकाव्य सबै तहका पाठकलाई डुबुल्की मार्न सकिने पठनीय ग्रन्थ हो । समाप्तम् ।


Views: 152