8th March | 2021 | Monday | 8:51:46 AM

शिव प्रधानको ‘रुदिना’ सँग बस्दा

गीता अधिकारी   POSTED ON : माघ ३, २०७७ (१:२२ AM)

शिव प्रधानको ‘रुदिना’ सँग बस्दा

पूर्वको सुन्दर नगरी धरानमा रहेर हङ्कङ्लाई कर्मथलो बनाउनु भएका साहित्यकार शिव प्रधानको उपन्यास ‘रुदिना’ पाठकमाझ आएकोे छ । भोजपुर, धरान, काठमाडौं हुँदै अढाई दशकअघि हङकङ पुग्नु भएका उहाँले साहित्य लेखन क्षेत्रमा आफूलाई तल्लीन गराइराख्नु भएको छ । थुप्रै कथा पाठकमाझ पस्किनु भएका साहित्यकार प्रधानले पहिलो उपन्यास कृति ‘रुदिना’ पाठकमाझ ल्याउनुभएको हो । साहित्यकार प्रधानद्वारा लिखित नारी प्रधान उपन्यास ‘रुदिना’ उहाँको तेस्रो कृति हो । रत्नपुस्तक भण्डारले प्रकाशनमा ल्याएको यस कृतिको सम्पादक विमल भौकाजी हुनुहुन्छ । यसअघि साहित्यकार प्रधानको कथासङ्ग्रह ‘छरिएको सिन्दुर’ पहिलो कृति रहेको थियो भने ‘बहुलाहीको यात्रा’ कथासंग्रह दोस्रो कृति थियो । 

दुई सय पृष्ठको उपन्यास ‘रुदिना’ मा लेखकले यस कृतिमार्फत जीवनमा अनेक समस्याहरू आउँछन्, तर कहिल्यै हरेश खानुहुँदैन, संघर्ष गर्नुपर्छ भन्ने सन्देश पस्किनुभएको छ । वर्गीय, नारी संवेदनालाई यथार्थमा चित्रण गरिएको छ कृतिमा । उपन्यासमा गाउँले परिवेशकी एक नारीको जीवन र हङ्कङ्लाई कर्मथलो बनाएका नेपालीहरूको दुःखान्त विषयवस्तुलाई चित्रण गरिएको छ । हङ्कङको जीवनशैलीमात्र नभई इतिहास र भूगोलबारे पनि रुदिनाले छर्लङ्ग पार्ने जमर्को गरेको छ । उपन्यासको प्रस्तुतिले पाठकको ध्यान तान्छ । यो उत्कृष्ट पठनीय कृति बनेको छ । एउटा पुरुष साहित्यकार भएर पनि महिलाको गहन विचारलाई प्रस्तुत गरेको कृति तारिफयोग्य रहेको छ ।

नारी पात्रलाई प्रस्तुत गरेको उपन्यास ‘रुदिना’ मा नारीले विदेश जानलाई कति संर्घष गरेको छ भन्ने कथा जोडिएको छ । उनी दुःख, सुखपछि पुनः स्वदेश नै किन फर्किइन् भन्ने कुराको उठान उपन्यासमा गरिएको छ । साथै यसमा लागूऔषध दूव्र्यसनीको कथा पनि रहेको छ । संघर्षशील आमा, महŒवकांक्षी महिला र श्रीमतीको कथा बुनिएको छ रुदिनामा । 

अठार भागमा बाँडिएको यस कृतिमा हङकङ आइडीले जुराएको संयोग र नारी संवेदनालाई यथार्थमा चित्रण गरिएको छ । जीवनको भोगाइ, जटिलता, निराशा र कर्तव्यबोधलाई सुन्दर भाषामा गरिएको प्रस्तुति नै यस उपन्यासको अब्बल पक्ष रहेको छ । निराशाबाट सुरु भई आशावादी सोचमा अन्त्य भएको उपन्यास संयोगान्त कथामा बुनिएको छ । उपन्यासले हङकङको रमाइलो रमझम, चमकदमकको उज्यालोसँगै अँध्यारो पाटोलाई उजागार गरेको छ । 

समसामयिक विस्यवस्तु, समाजको अवस्था, मनिसबाट हुने गरेका विविध किसिमका विकृति र विसंगतिलाई यथार्थ ढंगले केलाइएको छ भने यसले पारेको प्रभावलाई अत्यन्त शालीनतापूर्वक व्यक्त गर्ने काम उपन्यासकार शिव प्रधानले यस कृतिमार्फत गर्नुभएको छ । यथार्थको धरातलबाट हेर्दा जीवनमा मानिसले गर्नुपर्ने विभिन्न किसिमका संघर्ष, व्यक्तिहरूको व्यवहार र त्यसले उब्जाएको परिस्थिति, मानिसले गर्ने गरेको व्यवहारलाई उपन्यसकारले अत्यन्त मार्मिक किसिमले ‘रुदिना’मार्फत व्यक्त गर्नुभएको छ । उपन्यास सबैले बुझ्न सक्ने भाषामा मर्मस्पर्शी शैलीमा छ । शब्दको सुन्दर संयोजनले यसको ओझ अझ बढाएको छ । यस्तो उपन्यास प्रकाशित गरी नेपाली साहित्यको उचाइ थप्नु भएकोमा साहित्यकार शिव प्रधान बधाईको पात्र हुनुहुन्छ । 

‘तिनी त्यही रुदिना थिइन् जसलाई गत वर्ष तीज पर्वको दिन हरियो चुरा किनिदिएको थिएँ मैले र हातभरि हरियो चुरा लाएर मलाई देखाउँदै उनले धन्यवाद दिएकी थिइन्, पछि बिदा हुने बेलामा डिपेण्डेट भिसाको कुरा उठाएकी थिइन् ।.......लाशलाई उचालेर जब चितामा राखियो अनि आफन्तहरूको रुवाबासी झन् झन् चकिँदै गयो । नरुनेका आँखाहरू पनि टल्पलाइरहेका थिए तर, आश्चर्य रुदिनाको आँखामा भने पटक्कै आँशु थिएन ।’ उपन्यासभित्र बाट । 

आगामी दिनमा शिवजीका अन्य कृतिको रसस्वादन गर्न पाइराखौँ यही कामना । 


Views: 125